• १० कात्तिक २०८१, शनिबार

बुटवल लुम्बिनी सेमिफाइनलमा प्रवेश

blog

मङ्गलबारको खेलमा प्रतिस्पर्धा गर्दै खेलाडी । तस्बिर : गोरखापत्र

हरि कोइराला 

उर्लाबारी, कात्तिक ६ गते । डिफेन्डिङ च्याम्पियन ब्रिगेड ब्वाइज ललितपुर  बेलबारी गोल्डकपको उपाधि होडबाट बाहिरिएको छ ।

सुरुवाती गोलको अग्रता जोगाउन नसक्दा बुटवल लुम्बिनी फुटबल क्लबसँग २–१ गोलले पराजित हुँदै ब्रिगेड उपाधि होडबाट बाहिरिएको हो ।  जितसँगै बुटवल लुम्बिनी फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । बेलबारी गोल्डकपमा बुटवल लुम्बिनी क्लब पहिलोपटक सहभागी भएको हो । 

बेलबारी ११ को लक्ष्मी खेलमैदानमा मङ्गलबार भएको खेलमा ब्रिगेड ब्वाइज क्लबका सुजन ढङ्गोलले २० औँ मिनेटमा गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाउनु भएको थियो । कप्तान एन्जल महर्जनको पासमा सुजनले गोल गर्नुभयो । 

चार जना विदेशी खेलाडी लिएर मैदान उत्रिएको बुटवल लुम्बिनी फुटबल क्लबले मध्यान्तर अघिसम्म  बल होल्ड गरे पनि स्कोर गर्न सकेन । बिग्रेडका रक्षा पङ्क्तिका खेलाडीहरू दिवाकर चौधरी ,कोमल खवास र पदम भट्टराईले पटक-पटक टिमलाई गोल खानबाट जोगाउनु भएका थियो । 

खेलको ५१ ओं मिनेटमा बुटवल लुम्बिनी क्लबका कप्तान एरिक विष्टलाई डिबक्स भित्र ट्याकल गरेपछि बुटवल लुम्बिनी फुटबल क्लबले पेनाल्टी प्रहारको अवसर पायो । एरिक विष्टले प्रहार गरेको पेनाल्टी गोलमा परिणत भएपछि खेल १–१ गोलको बराबरीमा पुग्यो ।  बराबरी गोल गोल गरेपछि खेलमा फर्किएको बुटवल लुम्बिनीले ६२ ओं मिनेटमा थप १ गोल ग¥यो । बुटवल लुम्बिनीका ग्लोरीले रिचर्डको पासमा उत्कृष्ट गोल गर्दै अग्रता दोब्बर बनाउनु भयो । 

मङ्गलबारको खेलमा  बुटवल लुम्बिनी फुटबल क्लबका एरिक विष्ट  म्यान अफ द म्याच घोषित हुनुभयो । विष्टलाई कोशी प्रदेशका सांसद मानबहादुर लिम्बूले  नगद ५ हजार र ट्रफि प्रदान गर्नुभयो । सातौँ बेलबारी आरजु राइस गोल्डकप फुटबल प्रतियोगिता अन्तरगत  बुधबार अन्तिम क्वाटरफाइनलमा सलहेस फुटबल क्लब सिराहा र भारतको दलसिंहपारा फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछन् ।  

बुटवल लुम्बिनी फुटबल क्लबले कात्तिक ८ गते झापा ११ सँग पहिलो सेमिफाइनल खेल खेल्नेछ ।  प्रतियोगिताका विजेताले ८ लाख नगद र गोल्ड कप र उप विजेताले ५ लाख नगद र ट्रफि सहित प्रमाण पत्र र मेडल पाउनेछन् ।