• १० कात्तिक २०८१, शनिबार

गोरखापत्रमा आचार्य, गौतम र चौधरीलाई नयाँ जिम्मेवारी

blog

क्रमश लोकबहादुर चौधरी, नारदमुनि गौतम र रामप्रसाद आचार्य। तस्बिरः केशब गुरुङ

गोरखापत्र अनलाइन

काठमाडौँ, कात्तिक ६ गते। गोरखापत्र संस्थान व्यवस्थापनले मङ्गलबारदेखि लागू हुने गरी गोरखापत्र दैनिक र अनलाइन प्रकाशनमा नयाँ जिम्मेवारी हेरफेर गरेको छ। 

गोरखापत्र दैनिकका नायब कार्यकारी सम्पादक रामप्रसाद आचार्यलाई प्रबन्ध सम्पादक, अनलाइन प्रकाशनका निमित्त सम्पादक नारदमुनि गौतमलाई डिजिटल प्लेटफर्मको निमित्त कार्यकारी सम्पादक र गोरखापत्र अनलाइनका उप-सम्पादक लोकबहादुर चौधरीलाई अनलाइन प्रकाशनको निमित्त सम्पादकको जिम्मेवारी तोकिएको छ। 

वि.सं. २०५२ मा उपसम्पादकको रूपमा गोरखापत्र दैनिकमा प्रवेश गर्नुभएका आचार्यले शिक्षामा स्नातकोत्तर र कानुनमा स्नातक गर्नुभएको छ। नायब कार्यकारी सम्पादक आचार्य रात्रिकालीन सेवा प्रमुखको जिम्मेवारीमा एक दशक बढी समयदेखि कार्यरत हुनुहुन्थ्यो। 

तीन दशकदेखि पत्रकारितामा सक्रिय आचार्यसँग अन्तर्राष्ट्रिय समसामयिक विषयमा कलम चलाएको लामो अनुभव छ। गोरखापत्र दैनिक र युवामञ्चमा दुई दशकदेखि उहाँले अन्तर्राष्ट्रिय समसामयिक विषयमा लेख्दै आउनुभएको छ। 

गोरखापत्र दैनिकका निमित्त प्रबन्ध सम्पादकको जिम्मेवारी सम्हाल्दै आउनुभएका कार्यकारी सम्पादक जुनारबाबु बस्नेतलाई गोरखापत्र दैनिकको प्रधान सम्पादकको मातहतमा रहने गरी सम्पादकीय विभागको जिम्मेवारी तोकिएको छ। 

गोरखापत्र संस्थान व्यवस्थापनले गोरखापत्रको अनलाइन प्रकाशनका निमित्त सम्पादक नारदमुनि गौतमलाई डिजिटल प्लेटफर्मको सम्पादकीय नेतृत्व गर्ने निमित्त कार्यकारी सम्पादकको जिम्मेवारी तोकेको छ। उहाँलाई गोरखापत्र संस्थानअन्तर्गत सम्पूर्ण डिजिटल प्लेटफर्मको सम्पादकीय नेतृत्व गर्नेगरी डिजिटल प्रमुखको जिम्मेवारी तोकिएको हो। 

वि.सं. २०७८ चैत २५ गते गोरखापत्र अनलाइनको निमित्त सम्पादकमा नियुक्त गौतम संस्थानमा नेपाली पत्रकारिता समूहका नायब कार्यकारी सम्पादक हुनुहुन्छ। गौतम त्यसअघि गोरखापत्र दैनिकको प्रमुख समाचारदाताको जिम्मेवारीमा हुनुहुन्थ्यो। 

गौतमले आमसञ्चार तथा पत्रकारिता विषयमा स्नातकोत्तर गर्नुभएको छ। २०५१ मा नेपाल प्रेस इन्स्टिच्युटबाट १० महिनाको पत्रकारिता तालिम लिएर पत्रकारिता क्षेत्रमा लाग्नुभएका गौतम संस्थान सेवामा २०५३ मा प्रवेश गर्नुभएको हो। 

गोरखापत्र दैनिकमा रहँदा गौतमले संसदीय मामिला, राजनीतिक, भ्रष्टाचार र सुशासन क्षेत्रमा कलम चलाउँदै आउनुभएको छ।

त्यसैगरी, गोरखापत्र अनलाइनका उप-सम्पादक लोकबहादुर चौधरीलाई अनलाइन प्रकाशनको निमित्त सम्पादकको जिम्मेवारी दिइएको छ। २०६६ माघ २७ गते गोरखापत्रमा छैटौँ तहबाट सेवा प्रवेश गर्नुभएका चौधरीसँग गोरखापत्र दैनिकमा लामो समय संसदीय रिपोर्टिङको अनुभव छ। 

बहुभाषिक पृष्ठ ‘नयाँ नेपाल’ को संयोजक, रात्रिकालीन सेवा, लेख-रचना शाखामा काम गर्नुभएका चौधरीसँग सञ्चालक समिति सचिवको जिम्मेवारी निर्वाह गरेको अनुभवसमेत छ। 

२०७७ असार १५ देखि अनलाइन प्रकाशनमा कार्यरत उप-सम्पादक चौधरी अनलाइनको प्रमुख संयोजकको रूपमा कार्यरत हुनुहुन्थ्यो। समाजशास्त्र र राजनीतिशास्त्रमा स्नातकोत्तर गर्नुभएका चौधरी आमसञ्चार तथा पत्रकारिता विषयमा दर्शनाचार्य (एमफिल) मा अध्ययनरत हुनुहुन्छ। उहाँ राजनीति र समसामयिक विषयमा कलम चलाउनुहुन्छ।

नयाँ जिम्मेवारी सम्हाल्नु भएका आचार्य, गौतम र चौधरीलाई कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी, महाप्रबन्धक लालबहादुर ऐरी, गोरखापत्र दैनिकका प्रधान सम्पादक शिवकुमार भट्टराई, दि राइजिङ नेपालका प्रधान सम्पादक भीमसेन थपलियाले बधाई र शुभकामना दिनुभयो।