• २३ पुस २०८१, मङ्गलबार

दीपावली र छठ नजिकिँदा,घर रङरोगन गर्न भ्याइनभ्याइ

blog

घर रङ्गाउने कार्यमा व्यस्त कामदार जगदेव सदाय । तस्बिर : जीवछ यादव

लहान समाचारदाता

लहान, कात्तिक ६ गते । दीपावली र छठ पर्व नजिकिएकाले घरआँगन सरसफाइसँगै रङरोगन गर्न पेन्टरलाई भ्याइनभ्याइ भएको छ । दसैँ सकिएलगत्तै दीपावलीका लागि सरसफाइ गर्ने, पक्की घरमा रङरोगन गर्न दक्ष पेन्टरलाई भ्याइनभ्याइ भएको हो । 

लहान–२० का जितेन्द्र महतो भन्नुहुन्छ “दीपावली र छठका बिचमा पेन्टरलाई काम भ्याउने चटारो छ । अहिले रङरोगन गर्न पनि घरबेटीले कुनै मोलमोलाई गर्दैनन् । कामको चापले मोबाइलको स्विच अफ गर्ने परिस्थिति आउँछ ।”

लहान–४ का ठेकेदार रामदेव साहको दक्ष मजदुर ठुला सहरतर्फ गइसकेका छन् । अहिले यहाँ अर्ध दक्ष केही मजदुर मात्र छन् तर यहाँका गाउँ सहर जहाँसुकै पक्की घर निर्माण भइसकेकाले पेन्टरको माग उत्तिकै छ । युवा वैदेशिक रोजगारमा गएका कारण पनि अहिले पेन्टरको अभाव भएको छ ।” 

दैनिक आठ सय रुपियामाँ काम गर्ने मजदुर अहिले दिनको एक हजार लिइरहेको लहान–२०, हरिनगरका दक्ष कामदार जगदेव सदाय बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “आफू १० वर्षदेखि यही काम गरेर घरपरिवार पालेर राम्रै कमाइ भइरहेको छ । एक पटक वैदेशिक रोजगारमा पनि गएको थिएँ । वैदेशिक रोजगारभन्दा राम्रो कमाइ आफ्नै गाउँठाउँमा हुने देखेर फर्कें ।” 

पेन्टर, बिजुली तथा निर्माण मजदुर युनियनका केन्द्रीय सदस्य तथा लहान नगरपालिका वडा नं. ९ का पूर्ववडाध्यक्ष प्रदीपकुमार चौधरी भन्नुहुन्छ, “स्थानीय सरकारले दलित विपन्न समुदायलाई बिजुली, पेन्टिङ र घर निर्माणसम्बन्धी तालिम दिएर दक्ष बनाउने काम ग-यो भने स्वदेशमै रोजगारीको अवसर छ । आर्थिक उन्नति पनि हुने छ । जोखिम काम भएकाले सामाजिक सुरक्षाको व्यवस्था सरकारले गरिदिनुपर्ने हाम्रो माग छ । ठुलो भवनको पेन्ट गर्दा बिजुलीको तार जोड्दा वा निर्माणको कार्य गर्दा लडेर मृत्यु हुने, अपाङ्गता हुने अवस्थामा कामदार मजदुरको बालबच्चालाई पालनपोषण गर्न सुरक्षा अपनाउने तालिम र सामाजिक सुरक्षा आवश्यक छ । 

पेन्टिङ गर्ने मजदुरले बिनालगानी राम्रो आम्दानी गर्ने गरेको नथुनी पासवान बताउनुहुन्छ, “मजदुरको सुरक्षा र दक्ष तालिमको माग गर्दै आए पनि यसतर्फ स्थानीय सरकारले ध्यान नदिएको हाम्रो गुनासो छ ।”