• ५ कात्तिक २०८१, सोमबार

गण्डकी सरकारलाई पूर्णता, पौडेल वनमन्त्री

blog

वनमन्त्री भेषबहादुर पौडेललाई शपथ गराउनुहुँदै प्रदेश प्रमुख डिल्लीराज भट्ट । तस्बिर : फडिन्द्र अधिकारी

फडिन्द्र अधिकारी

लेखनाथ, कात्तिक ५ गते । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको छ । लमजुङ 'ख' बाट निर्वाचित भेषबहादुर पौडेल सोमबार वन तथा वातावरण मन्त्री नियुक्त भएपछि नौ सदस्यीय गण्डकी सरकारले पूर्णता पाएको हो । 

अहिलेको सरकारमा नेकपा (एमाले) बाट चार जना मन्त्री हुनुहुन्छ भने नेपाली समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटा ऊर्जा मन्त्री हुनुहुन्छ । दुई तिहाइको सरकारमा मुख्यमन्त्रीसहित चार मन्त्री नेपाली कांग्रेसका हुनुहुन्छ । 

नवनियुक्त मन्त्री पौडेललाई प्रदेश प्रमुख डिल्लीराज भट्टले सोमबार आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ गराउनुभयो । अहिलेको सरकारमा लमजुङका दुवै निर्वाचन क्षेत्रले मन्त्री पाएका छन् । मन्त्रिपरिषद्मा लमजुङ 'क' बाट निर्वाचित डा टकराज गुरुङ आर्थिक मामिला मन्त्री हुनुहुन्छ ।

नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहनुभएका पाण्डे गएको जेठ १६ गते सर्वोच्च अदालतको परमादेशबमोजिम मुख्यमन्त्री बन्नुभएको थियो । पाण्डेलाई अहिले गण्डकी प्रदेशसभाका ८८ प्रतिशत सदस्यको समर्थन छ । 

६० सदस्यीय प्रदेशसभामा अहिलेको सरकारलाई नेपाली कांग्रेसका २७, नेकपा (एमाले)का २२, स्वतन्त्र सांसद राजीव गुरुङ, नेपाली समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटा र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का दुई गरी ५३ सांसदको समर्थन छ । 

सरकारमा नगई पाण्डे सरकारलाई विश्वासको मत दिएको राप्रपाले अहिलेसम्म सरकारलाई समर्थन कायमै राखेको छ । अहिले सरकारको विपक्षमा सात सांसद रहेको नेकपा (माओवादी केन्द्र) मात्र छ ।

सङ्घमा नेकपा (एमाले) र कांग्रेसको संयुक्त सरकार बनेको करिब दुई महिनापछि गण्डकीमा दुई तिहाइभन्दा बढीको समर्थन रहेको सरकार बनेको थियो । एमालेबाट नवलपरासी (बर्दघाट सुस्तापूर्व)की सांसद पद्मा जिसी भूमि व्यवस्था, कृषि तथा सहकारी, बागलुङका सांसद कृष्णप्रसाद पाठक स्वास्थ्य मन्त्रालय र समानुपातिकबाट सांसद कास्कीका प्रकाशबहादुर केसी भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री हुनुहुन्छ । पर्वतबाट निर्वाचित सांसद मित्रलाल बस्याललाई उद्योग तथा पर्यटन मन्त्री हुनुहुन्छ ।

कांग्रेसबाट विन्दुकुमार थापा सामाजिक विकास युवा तथा खेलकुद मन्त्री हुनुहुन्छ । गएको भदौ १७ गते एमालेलाई भौतिक पूर्वाधार मन्त्रालय दिइएपछि मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले आफूलाई परेको वन तथा वातावरण मन्त्रालय अस्वीकार गर्दै राजीनामा दिनुभएको थियो ।