• ५ कात्तिक २०८१, सोमबार

तीन सय बढी पहिरोपीडित परिवारलाई राहत

blog

हेल्भेटास नेपाल र स्विस सरकारको आर्थिक सहयोगमा खरिद गरिएको राहत सामग्री फिदिम ल्याएर बाढी पहिरो पीडित परिवारलाई वितरणका लागि अनलोड गरिँदै । तस्बिर : राधा लुइँटेल, गोरखापत्र

राधा लुइटेल

फिदिम, कात्तिक ५ गते । बाढी प्रभावित पाँचथरका तीन सय ८८ परिवारले राहत पाएका छन् । स्विस सरकार र हेल्भेटास नेपालले यत्तिका परिवारलाई राहत सामग्री उपलब्ध गराएका हुन् ।

असोज ९ देखि १२ गतेसम्म भएको वर्षासँगै आएको बाढी र पहिरोमा परी घरबार विहीन भएका परिवारका लागि दातृ निकायले खरिद गरेका राहत सामग्री सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गरिएको हो ।

राहत उपलब्ध गराइएकामा फिदिम नगरपालिकाका ९५ र फालेलुङ गाउँपालिकाका २ सय ९३ गरी ३ सय ८८ रहेका हेल्भेटास नेपालको प्रदेश व्यवस्थापन व्यवस्थापक कोपिला दाहालले जानकारी दिनुभयो । उपलब्ध सामग्रीमा खाद्यान्न,आवास,भाँडाकुँडा,प्राथमिक उपचार र सरसफाइसँग सम्बन्धित बस्तु छन् ।

प्रत्येक परिवारका लागि ५० किलोका दरले चामल ४ केजीका दरले दाल,३ लिटरका दरले तेल,५ किलोका दरले तेल सहित नुन,बिस्कुट,चिनी,बेडिङ सेट,व्याङकेट,फाइवर सिरक,ब्ल्याङकेट,बेड कभर,त्रिपाल र सरसफाइ तथा प्राथमिक उपचारका सामग्री रहेको व्यवस्थापक दाहालको भनाइ छ ।

राहत सामग्री लिएर दाहाल नेतृत्वको टोली बाढी पहिरो प्रभावित क्षेत्रमा आइपुगेको थियो । टोलीले ती सामग्री सम्बन्धित पालिकाका जनप्रतिनिधिलाई एकमुष्ट हस्तान्तरण गरेका हुन् । स्थानीय तहले सूचीकरण भएका बाढी पहिरो प्रभावितलाई राहत वितरण गरिरहेका छन् ।