सन्तोष राउत
सोलुखुम्बु, असार ८ गते । ‘आरोहणका बादसाह’, हिमाली क्षेत्रमै बसोबास र हिमालका चुचुरा चुम्ने शेर्पा समुदाय साहसी आरोहीको पहिचानबाट विश्व परिचित छ । हिमाल र शेर्पा पर्याय नै बनेका छन् । तथापि युवा पुस्ता अध्ययन र विद्वताको त्यस्तो शिखर चढिरहेका छन्, जुन नवीन र समुन्नत देशको नूतन आरम्भ गर्ने सोचाइ बोकेका युवाका लागि प्रेरणापथ बनिरहेको छ ।
बौद्धिक युवा देशबाट पलायन भइरहँदा
सगरमाथाको काख सोलुखुम्बुमा जन्मिएका युवा वैज्ञानिक एवं अनुसन्धानकर्ता मिङ्मार शेर्पाले सेलुलर र आणविक जीव विज्ञानमा म्यासाच्युसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआइटी) मा अध्ययन पूरा गरी नेपाल फर्किएर काम आरम्भ गरेपछि उहाँ युवामाझ प्रेरणा पुञ्ज बन्नुभएको छ । उहाँले देशको गौरव बढाउने गरी वैज्ञानिक अन्वेषणको नयाँ अध्याय थालनी गर्नुभएको छ ।
अनुसन्धानका क्षेत्रमा काम गर्नेका लागि अवसरै अवसर प्राप्त हुने अमेरिकाबाट फर्किएका अनुसन्धाता शेर्पा आङजाङबु शेर्पा र पुटी शेर्पाका सात सन्तानमध्ये कान्छा छोरा हुनुहुन्छ । उहाँले कक्षा १२ को अध्ययन पूरा गरेपछि उच्चशिक्षाका लागि अमेरिका यात्रा तय गर्नुभयो । उहाँले भन्नुभयो, “कक्षा १२ सम्म पढ्दा इन्टरनेट र मोबाइल थिएन । एसएलसीमा उत्कृष्ट भएपछि डाक्टर बन्ने सोच थियो । मेहनत गरेँ । संयोगवश हिमालयन ट्रस्ट नेपालको छात्रवृत्तिमा डाक्टर बन्ने लक्ष्यसहित काठमाडौँको सेन्ट जेभियर कलेजमा प्लस टुमा ए लेभल र विज्ञान पढेँ । त्यसपछि अमेरिकास्थित अलाबामा विश्वविद्यालय (युएबी) को छात्रवृत्तिमा सन् २०१७ मा चिकित्सकीय अध्ययनका लागि अमेरिका गएको हुँ ।”
चुनौतीका माझ उदाएका युवा
युवा वैज्ञानिक शेर्पा १८ वर्षको हुँदा अमेरिका पुग्नुभयो । काम र अध्ययनको सन्तुलन मिलाएर डाक्टर बन्ने लक्ष्य राखेका शेर्पाले एपिजेनेटिक्स, रोग विज्ञान र नेफ्रोलोजी (प्रतिरोध) मा अनुसन्धान गर्नुभयो । उहाँले सन् २०१९ मा विश्वविद्यालयका लागि अनुसन्धान राजदूतका रूपमा काम गर्दा प्रशासनिक सिप सिक्दै टोलीको नेतृत्व गर्ने अवसर पाउनुभयो ।
उहाँले चार वर्षको स्नातक अध्ययन अवधिमा सात स्थानीय र राष्ट्रिय सम्मेलनहरूमा भाग लिएर चार प्रमुख परियोजना पूरा गरेको र उत्कृष्ट शैक्षिक रेकर्ड कायम राख्न सफल भएका शेर्पाले प्रतिरक्षा विज्ञान अनुसन्धानमा केन्द्रित भएर हावर्ड विश्वविद्यालयमा अनुसन्धान गर्ने अवसर पाउनुभयो । उहाँले भन्नुभयो, “भाइरसहरू र तिनीहरूको प्रभावको अध्ययनमा संलग्न भएपछि सेलुलर र आणविक जीव विज्ञानमा एमआइटीमा थप अध्ययन अघि बढाएँ ।” एमआइटीमा मोर्फोजेनेसिस र सेलुलर विभाजन नियमनमा केन्द्रित स्वतन्त्र अनुसन्धान गरिरहेका शेर्पाले दुई वर्षमा दुई राष्ट्रिय, एक अन्तर्राष्ट्रिय र चार स्थानीय सम्मेलनमा भाग लिनुभयो । उहाँ संयुक्त अधिराज्यमा पार्किन्सन रोगका लागि औषधी विकासमा केन्द्रित अनुसन्धान परियोजनामा संलग्न रहनुभएको छ । साथै उहाँले ग्रामीण क्षेत्रका नेपाली विद्यार्थीलाई सहयोग गर्न ‘दी ब्राइट फ्युचर अर्गनाइजेसन’ पनि स्थापना गर्नुभयो । उहाँका अनुसार संस्थामार्फत कम्प्युटर साक्षरता र स्वास्थ्य सेवा र शैक्षिक सहयोग अघि बढाइने छ ।
अनुसन्धानमा सहकार्य
युवा वैज्ञानिक शेर्पाले छाला क्यान्सर र पार्किन्सन रोगसम्बन्धी अनुसन्धान परियोजनामा सहकार्य गर्न अक्सफोर्ड विश्वविद्यालय र ब्रिस्टल विश्वविद्यालयको भ्रमण गर्नुभयो । उहाँका अनुसार फाउन्डेसन र सेन्ट जेभियर्स कलेजबिच अनुसन्धान कार्यमा सहकार्य गर्ने समझदारी भएको छ । फाउन्डेसनका अध्यक्ष गेल्बु शेर्पाले अनुसन्धान र सामाजिक विकासमा यो साझेदारी महत्वपूर्ण हुने बताउनुभयो । उहाँका अनुसार युवालाई अनुसन्धानका क्षेत्रमा प्रोत्साहन गर्ने र ज्ञानको आदानप्रदानमा सहयोग पुर्याउने छ ।
वैज्ञानिक एवं अनुसन्धानकर्ता शेर्पालाई नेपाल चिकित्सा अध्ययन संस्थान केन्द्रीय विभागले ‘भिजिटिङ स्कलर’ का रूपमा अनुसन्धान गर्न दिएको छ । उहाँले नेपालको दुर्गम क्षेत्रका समुदायमा देखिने स्वास्थ्य चुनौतीको समाधानमा केन्द्रित ‘माइक्रोन्युट्रियन्ट र स्वास्थ्य’ सम्बन्धी अनुसन्धान गरिने बताउनुभयो ।
उहाँका अनुसार अनुसन्धानले सार्वजनिक स्वास्थ्यमा सुधार ल्याउन महत्वपूर्ण भूमिका खेल्ने छ । पोषण र रोगप्रतिरोधात्मक क्षमताबिचको सम्बन्धको अध्ययन र रोग रोकथाम तथा समग्र स्वास्थ्य सुधारमा नयाँ दृष्टिकोण प्रदान गर्ने अपेक्षा गर्दै विभागले अनुसन्धानकर्ता मिङ्मारको प्रस्ताव स्वीकार गरेको हो । उहाँलाई एआईका माध्यमबाट छालामा हुने क्यान्सर रोगसम्बन्धी विषयमा शोधपत्र प्रकाशित गरेपछि एकाडेमी अफ मेडिकल साइन्स युकेले ४५ लाख रुपियाँको पुरस्कार दिएको छ ।
प्रधानमन्त्रीसँग भेट
प्रधानमन्त्रीको आग्रह र स्वदेश प्रेमले आफू फर्किएको अनुसन्धानकर्ता मिङ्मार शेर्पाले बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीसँग अनुसन्धानकर्ता शेर्पाले असार ३ गते पछिल्लो पटक भेट गर्नुभयो । भेटपछि अनुसन्धान र स्वास्थ्य क्षेत्रमा नवीन अनुसन्धान कार्य अघि बढाउन उत्प्रेरणा मिलेको उहाँ बताउनुहुन्छ ।