• ८ असार २०८२, आइतबार

योग, ज्ञान र निरोगी नेपाल

blog

प्रधानमन्त्री केपी शर्मा ओली

आज जुन २१ तारिख अथवा वर्षभरिको सबैभन्दा लामो दिन । आज योग प्रारम्भ गरिएको दिन । हजारौँ वर्षअघि, धेरै वर्षअघि, धेरै हजार वर्षअघि शिवले आफ्ना सप्तऋषि भनिने शिष्यहरूलाई अगाडि राखेर पहिलो योग शिक्षा प्रदान गर्नुभएको दिन, उत्तरायनबाट सूर्य दक्षिणयान लाग्ने दिन योग प्रारम्भ भएको शास्त्र अनुसार मानिन्छ । त्यसै दिनलाई संयुक्त राष्ट्रसङ्घले विश्व योग दिवसका रूपमा मानेको छ । यस दिवसको सन्दर्भमा म सबैमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु । 

अर्थात्, योग मानव जातिको कल्याणका लागि, मानिसको शारीरिक स्वास्थ्य, मानसिक स्वास्थ्य र मानिसको मानवीय प्रवृत्ति अर्थात् सामाजिकपन, सामाजिक प्रवृत्तिको विकास र त्यसको कार्यान्वयनका लागि योग सिर्जना र विकास हुँदै आएको छ । 

बिचमा योग अलिकति लुप्त भयो । आज योग अलिकति भड्किन पनि खोजेको छ । योगबाट योगातिर जान खोजेको छ । योगा होइन, योग हो । योगाको कुनै अर्थ हुँदैन, योगको अर्थ हुन्छ । दीपक नाम मैलेभन्दा बत्ती हुन्छ, ज्योति हुन्छ, उज्यालो हुन्छ, अनेक होला तर बिगारेर अर्को नाम राखेँ भने त्यसको अर्थ हुँदैन । त्यस्तै योगलाई योगा बनाउनु हुँदैन । योग हो । 

योग पहिलो शिवबाट उत्पत्ति भएको थियो अर्थात् यस धर्तीमा योग उत्पत्ति भएको थियो । यहाँका पुर्खाहरूबाट, यहाँका अग्रजबाट भएको हो । हामी पुर्खालाई भगवान् भन्छौँ । हामी भगवान् दुई वटा चिजलाई मान्छौँ । एउटा पुर्खाहरूलाई मान्छौँ, शिव, दुर्गा, मातादेवी, देवता, विष्णु, ब्रह्मा जेसुकै भन्नुस्, जति देवताको नाम लिइन्छ, ती सबै पुर्खा हुन् । पुर्खालाई हामी देवतुल्य मान्छौँ र देवता भन्छौँ । अर्को हामी प्रकृतिलाई देवता मान्छौँ । अघि यहाँ गायत्री संस्थाले गायत्री वाचन भनिरहेको थियो–सूर्य देवता, चन्द्र देवता, वरुण र मरुता देवता आदि अथवा पानी पनि देवता हो, जसले हाम्रो जीवन चलाएको छ । मरुता अर्थात् हावा जसले अक्सिजन दिएर हामीलाई बचाएको छ । 

जीवनका लागि सबैभन्दा महत्वपूर्ण हावा छ, अक्सिजन छ । जुनबिना हामी दुई तीन मिनेटभन्दा बढी बाँच्न सक्दैनौँ । त्यस्तो अक्सिजन, त्यो हाम्रा लागि भगवान् हो, हाम्रा लागि जीवनदायिनी हो । त्यस कारण हामी गर्भमा हुँदा पनि अक्सिजनबाट बाँचेका हुन्छौँ र जन्मपश्चात् पनि अक्सिजनबाट बाँचेका हुन्छौँ । जीवनभरि अक्सिजनबाट बाँचेका हुन्छौँ । त्यो सबैभन्दा महत्वपूर्ण हुन्छ । त्यस कारण वायु जो देखिँदैन, वायुमा धुलो उड्यो भने धुलो देखिन्छ तर वायु देखिँदैन । वायु अदृश्य छ । त्यो वायु पनि देवता हो भनेर अघि भर्खर मन्त्र उच्चारण गर्नुभयो । अर्थात् हाम्रा पूर्वज धेरै ज्ञानी थिए, विश्व शान्ति भने, वनस्पतीय शान्ति भने, आकाश शान्ति भने, पृथ्वी शान्ति भने सबैतिर शान्ति भने । आज आकाश शान्तिको कति अर्थ र महत्व रहेछ, पृथ्वी शान्तिको कति महìव रहेछ, त्यो हामी बुझ्दै छौँ । धेरै सोचेर, चिन्तन गरेर निष्कर्ष निकालेर, अनुभूतिहरूलाई ज्ञानमा परिणत गरेर, ज्ञान सङ्ग्रह गर्दै ज्ञानलाई व्यवहारमा हेर्दै, अनुभूतिलाई अनुभवमा बदलेर, अनुभवलाई सङ्ग्रह गर्दै ज्ञानमा बदलेर, ज्ञानलाई प्रयोगमार्फत तिनलाई सिद्धान्त र सूत्र बनाएर अगाडि बढ्ने काम भइरहेको छ । 

यसै सन्दर्भमा आज हामी जुन अष्टाङ्ग योगका चर्चा गर्छौं, म त्यसको अलिकति मात्रै चर्चा गर्न चाहन्छु । 

पहिले योगको प्रारम्भ भयो शिवबाट । त्यसकारण शिवलाई आदियोगी भनिन्छ । त्यसपछि विश्वामित्रको समय आयो र विश्वामित्रले योग विकास गर्नुभयो । विश्वामित्रले योग मात्रै विकास गर्नुभएन, विश्वामित्रका सुपुत्र सुश्रुतले लगभग तीन हजार वर्ष अगाडि सर्जरी विद्याको विकास गर्नुभयो । त्योभन्दा अगाडि चरकले जसरी आयुर्वेदको विकास गर्नुभयो, यी सबै योगबाट प्रारम्भ भएका छन् । 

विश्वामित्रका पिताजीले आफ्ना नाति चरकलाई सर्जन डाक्टर बनाउनुभयो । अहिले पनि सङ्ग्रालयमा चरकले चलाएका सर्जरीका उपकरण अहिलेसम्म पाइन्छ । चरकसंहिता लिखित रूपमा पाइन्छ । जो, तीन हजार वर्ष लगभग अगाडि हो । जति बेला अक्षर दुनियाँमा आए । अक्षर आएपछि ३२ सय वर्षको आसपासका बेला अथवा महाभारत युद्धको लगत्तैपछि जसको समयमा हुनु पर्छ, अक्षर आएपछि त्यसैबेला वेदव्यासले श्रुति र स्मृतिमा रहेको वेदलाई अपौरुषीय अथवा मानवद्वारा निर्मित वेद होइन भनिएको हो । किनभने कोही रचनाकार थाहा छैन, अज्ञात रचनाकार, यो परम्परा हुँदै आयो, कसले बनायो भन्ने थाहा छैन । त्यसो भएको हुनाले यसलाई अपौरुषीयसमेत भनियो । अथवा मानव निर्मित होइन, देव निर्मित भनियो भन्ने भनाइ छ । 

वेदलाई वेदव्यास भनिन्छ, किनभने उनले लिपि सिकेर लिपिमा वेदलाई उतारेपछि यो मानवीय अथवा मानव भयो । वेदव्यासको आलोचना पनि भयो, विरोध पनि भयो । यो अलौकिक मानवताभन्दा बाहिरको, मानव सिर्जितभन्दा बाहिरको अपौरुषीय चिजलाई पौरुषीय अथवा मानवको सिर्जना, यो असिर्जनीय चिजलाई सिर्जनामा परिणत गराए र यो पाप कर्म गरे यिनले भन्ने खालका धर्मान्धले भने । 

जनकको समयमा वेदको गार्गी, मैत्री आदि ऋषिमुनि, विदुषीहरूले तयार गर्दा ती लिपिमा तयार गरिएको थिएन, वाणीमा तयार गरिएको थियो, मनमनै रचना गरेर प्रस्तुत गरिएको थियो । त्यो श्रुतिबाट स्मृतिमा रहेको थियो । स्मृतिबाट फेरि प्रवचनमा गएर फेरि श्रुतिमा जान्थ्यो । यो सिलसिलाबाट आयो । 

विश्वामित्रको समय एउटा चमत्कारको समय थियो, योग विज्ञानको सन्दर्भमा र अरू विभिन्न विज्ञानको सन्दर्भमा । हामी सबैलाई थाहा छ, विश्वामित्र सत्ययुग र त्रेतायुगको बिचको समयको अथवा सङ्क्रमणकालीन समयको हुनुहुन्थ्यो । विश्वामित्रले राम लक्ष्मणलाई शिक्षादीक्षा दिनुभएको थियो । राम–लक्ष्मण त्रेतायुगको हुनुहुन्थ्यो । दशरथ र पर्शुरामहरू सत्य युगका हुनुहुन्थ्यो । रामले धनुष भङ्ग गरेपछि पर्शुरामले आएर राम लक्ष्मणसँगको विवाद गर्दा राममाथि भुलवश बन्चरो प्रहार गर्न खोज्दा बन्चरो उठेन, प्रहार हुन सकेन । फेरि कोसिस गर्दा झन् कमजोर भए । कतिपय कुरा मिथमा आधारित हुन सक्छ । मिथक भए पनि हाम्रा शास्त्रका (तथ्य प्रमाणित भनौँ) विज्ञान प्रमाणित होइन । 

उनले बचपनमा वा सानैमा आफूलाई कुनै भविष्यवाणी भएको थियो, तिमी सत्ययुगको अन्तिम प्रतिनिधि पात्र हौ र सत्ययुग त्यतिबेला समाप्त हुने छ, जतिबेला तिमीले तिम्रो अगाडि एउटा यस्तो व्यक्ति भेट्ने छौँ, जसमाथि तिमीले भुलवश प्रहार गर्न खोज्ने छौँ । तिम्रो अहङ्कार त्यहीँ समाप्त हुने छ । तिम्रो तागत समाप्त हुने छ । पहिलो कुरा, त्यो व्यक्तिलाई भेट्नेबित्तिकै तिम्रो आधा शक्ति उसमा गइहाल्छ । उसमाथि भुलबस प्रहार गर्न खोज्दा अर्को शक्ति आधा फेरि जान्छ । फेरि आक्रोशित भएर तिमीले प्रहार गर्न खोज्दा तिम्रो फेरि आधा शक्ति गएपछि तिमीसँग एकदमै थोरै शक्ति मात्रै बाँकी रहन्छ र ऊ जो व्यक्ति ऊ आफैँ एउटा अवतार हो र उसँग असाधारण शक्ति हुन्छ । त्यसमाथि पहिलो देख्नेबित्तिकै तिम्रो आधा शक्ति उसमा सरेपछि असाधारण शक्तिवान् हुन्छ । अर्को पल्ट फेरि आधा बाँकी रहेको आधा सरेपछि र फेरि अर्को प्रहार गर्न खोज्दा आधा शक्ति सरेपछि तिम्रो शक्ति समाप्त हुन्छ, बुझ्नु । 

अब तिम्रो युग समाप्त भयो अर्थात् सत्ययुग समाप्त भयो र त्रेतायुग प्रारम्भ भयो । यसरी पर्शुराम र रामको भेट एउटा संयोगले हुन्छ, धनुष भङ्गको प्रसङ्गले हुन्छ, राम सीता विवाहको प्रसङ्गमा हुन्छ र त्यसै प्रसङ्गबाट पर्शुराम र रामको भेटबाट नै शिवको धनु अथवा यहाँनेरी शिवको प्रसङ्ग आउँछ । अघि मैले भनेँ, शिवले योगको प्रारम्भ गर्नुभएको थियो भनेर । शिवले राखेको धनु जनकपुरमा राजा जनकको दरबारमा छँदै थियो, जसलाई सीताले खेलाउने गर्थिन् । त्यही धनुको ताँदो चढाउन खोज्दा भाँचियो । यसरी सुरु भयो राम पर्शुराम मिलापको प्रसङ्ग । त्यही मिलापबाट पर्शुरामले थाहा पाए कि अब मेरो युग समाप्त भयो । अब रामको युग प्रारम्भ भयो । यही सङ्क्रमणकालीन युगमा, जस्तोमा हाम्रो तानाशाहीबाट गणतन्त्र, लोकतन्त्रमा आयो, राजतन्त्रबाट गणतन्त्रमा आयो । यो सङ्क्रमणकालीन युग हो । कसैलाई मन पर्ला, कसैलाई नपर्ला । पर्शुरामलाई पनि मन परेको थिएन आफ्नो युग समाप्त भएको तर के गर्ने ! युग समाप्त, युग समाप्त हो । आफ्नो युग समाप्त भएपछि त्यो युग समाप्त भयो । अर्को मन पर्नु नपर्नुको केही पनि अर्थ छैन । यो यति बलवान् हुन्छ समय कि, त्यो परिवर्तन भयो भयो । 

त्रेतायुग र द्वापरयुगको बिचमा फेरि कपिलमुनिले योगलाई अगाडि बढाउनुभयो । उहाँले साङ्ख्य दर्शन प्रतिपादन गर्नुभयो । योगको निरन्तरता त्यसरी आयो । त्यसपछि इसापूर्व दुई सयदेखि इसाको दुई सयसम्म अथवा यो चार वर्षको बिचमा पतञ्जलि भन्ने एक जना व्यक्ति निक्लिनुभयो । उहाँको जन्मस्थान कहाँभन्दा मान्छेहरूले व्याख्या अनौठो अनौठो गर्छन् । म त्यसमा भ्रम पर्नु हुँदैन भन्छु । कसको जन्मस्थान कहाँ फेरि मान्छेहरूलाई रिस उठ्छ । शिव यहीँका थिए भन्नेमा पनि कुनै दुविधा छ र ? बृहस्पति चतराका थिए भन्ने कुरामा कुनै दुविधा छ र ? चतराबाट कोशी नदी पार गरेर पश्चिमतिर आएर राम लक्ष्मणलाई शिक्षादीक्षा दिएका थिए । त्यो शास्त्रमा भनेको छ, मैले भनको त होइन । वेदव्यास तनहुँमा जन्मेका थिए, शास्त्रले भन्छ । महाकालीको किनारमा तप गरेका थिए, शास्त्रले भन्छ । व्याकरणका महान् व्याकरणाचार्य पाणिनि अर्घाखाँचीका थिए, शास्त्रले भन्छ, मैले भनेको होइन । अर्घाखाँचीमा पणेना गाउँ त्यहाँ छँदै छ, अस्ति भर्खर हामीले पाणिनि सम्मेलन मनायौँ । त्यहाँ एउटा के देखाए भने, पाकिस्तानमा जन्मिएका ऋषि पाणिनि अर्घाखाँची आए रे तर त्यस्तो कुरा होइन । अर्घाखाँचीमा जन्मिएका, अर्घाखाँचीमा हुर्किएका, अर्घाखाँचीमा शिक्षादीक्षा आर्जन गरेका त्यस्ता विद्वान् हुन् पाणिनि । 

विश्वामित्रले शिक्षादीक्षा दिँदा अथवा सुश्रुतले सर्जरी विकास गर्दा अथवा चरकले आयुर्वेद विज्ञान विकास गर्दा, आरोग्य विज्ञान विकास गर्दा विश्वको पहिलो विश्वविद्यालय खुलेको थिएन । त्यसो भएर यो यहीँका व्यक्तिबाट सुरु भएको हो । यो विश्व कल्याणका लागि, समग्र मानव जातिका लागि कल्याण भएको हो । यसको भूगोलको सीमासँग सम्बन्ध छैन, यो विश्वव्यापी छ । यो कुनै सम्प्रदायसँग सम्बन्धित छैन, यो विश्वव्यापी छ । यसरी पतञ्जलि अर्को एउटा विद्वान् अर्घाखाँचीमै जन्मनुभयो र अष्टाङ्ग योगको विकास गर्नुभयो । योगलाई पतञ्जलिले सूत्रीकृत गर्नुभएको छ । यहाँ महत्वपूर्ण कुरा के छ भने, उहाँले योगलाई चार भागमा बाँढ्नुभएको छ । चार पाद भन्नुभएको छ । पाद भनेको पाउ हो । त्यो चार भागको पहिलो भागमा ५६ सूत्र छन् । दोस्रो भागमा ५१ सूत्र छन् । तेस्रो भागमा ३३ सूत्र छन् । चौथो भागमा ३४ सूत्र छन् । यसरी पतञ्जलि योगको चार पाद, चार भाग छ । यी अष्टाङ्ग योगका आठ वटा (अष्टाङ्ग) सूत्र दोस्रो भागमा पर्छन् । यसलाई धेरै महìव दिएको छ, जीवनका लागि र समाजका लागि । हामी कोही ऋषिमुनि बनाउन, तपस्वी बनाउन मान्छेहरूलाई खोजिराखेका छैनौँ । 

मान्छेहरूलाई योग गुरु बनाउन खोजिराखेका छौँ, हरेकलाई योगी बनाउन खोजिराखेका छौँ । त्यसमध्येबाट केही योग गुरु हुनुहोला, केही योग गुरुमा विकास हुनुहोला तर हामीले कमाउनु पनि पर्छ आजको समयमा । फेरि कमाउनु सुख भोग आदि इत्यादि फेरि ऋषिमुनिका भाषणले काम गर्दैन । खानु त पर्छ नै । आरोग्यका कुरा गर्दा, स्वास्थ्यका कुरा गर्दा तीन वटा कुरामा ध्यान दिनु पर्छ । पहिलो कुरा : खाना हो । जसलाई हामी आहार भन्छौँ । दोस्रो योग, विहार, व्यायाम काम हामी जे नाम दिउँ । तेस्रो आराम गर्नु पर्छ । खाना, काम र आराम तीन वटा चिजको सन्तुलन । सन्तुलित भोजन, राम्रो भोजन, स्वस्थ भोजन, विषादीरहित भोजनमा हामीले ध्यान दिनु पर्छ, खास गरी योगीहरूले । किनभने सन्तुलित शुद्ध पेट भर्नका लागि होइन, स्वास्थ्यका लागि खाने हो भन्ने कुरा हरेकले बुझ्नु पर्छ, स्वास्थ्यका लागि खाने । 

अष्टाङ्ग भनेको धेरै महत्वपूर्ण छ, त्यसको निचोड निकालेर आठ वटा सूत्रहरूलाई, पहिलो सूत्र त नेपाललाई अहिले सबैभन्दा चाहिएको सूत्र त पहिलो सूत्र छ, जहाँबाट १९४ वटा सूत्र सुरु हुन्छ । पहिलो सूत्र अर्धवाक्य छ । अर्धवाक्य भनेको, अथः योगानुशासनम् । अब योग अनुशासन प्रारम्भ हुन्छ । योग भन्नेबित्तिकै अनुशासनको कुरा आउँछ । आज नेपाली समाज पीडित के मा छ भने अनुशासनको समस्या हो, अनुशासनहीनता । अनुशासन योगको पहिलो सूत्र हो । अनुशासनमा बस्न सकिएन भने ज्ञानले र ध्यानले केहीले पनि हुँदैन । ध्यानको पनि अनुशासन हुन्छ नि, ध्यान गर्दै छ कपाल चलाएको छ, चलेको छ, यता पनि हेर्दै छ, उता पनि हेर्दै छ, त्यो अनुशासनमै बसेन भने ध्यान कसरी हुन्छ ? ध्यानको आफ्नै पनि अनुशासन हुन्छ । हरेक चिजको अनुशासन हुन्छ । समाजका अनुशासन हुन्छ । यसरी अष्टाङ्ग योगलाई आठ भागमा र आठ वटा सूत्र छन् । त्यो सूत्रमध्ये यम एउटा, नियम अर्को र नियम समाजसँग, व्यक्तिसँग सम्बन्धित छ तर समाजसँग त्यो सोझै सम्बन्धित के हुन्छ भने यमले पाँच वटा सूत्र भन्छ, पहिलो सूत्र भन्छ अहिंसा । आज विश्वलाई शान्ति चाहिएको छ । हिंसा होइन, अहिंसा चाहिएको छ । 

हाम्रा पुर्खाहरूले उहिलेदेखि भन्ने गर्दथे, ॐ शान्ति शान्ति शान्ति कति महत्वपूर्ण छ आज पनि । यही यम र नियम मात्रै बुझिदिए हतियारधारीले भने, अहङ्कारधारीले भने, हतियार मात्रै केही खतरा होइन । हतियार आफैँ पड्किँदैन, बन्दुक आफैँ पनि पड्किँदैन । त्यसमा गोली हुन्छ, जो बहुत खतरनाक हुन्छ । मान्छेको अहङ्कार जो हो, त्यसले गर्दा हतियार बनाउँछ, हतियार चलाउँछ, विनाश गर्छ, विनाशमा रमाउँछ, विनाशमा थप अहङ्कार पैदा गर्छ र अहङ्कारी हुन्छ । त्यस कारण हिंसा होइन, अहिंसा । अष्टाङ्ग योगको पहिलो हामीले जान्नै पर्ने र हाम्रो व्यवहारमा लागु गर्नुपर्ने कुरा के हो भने अहिंसा । दोस्रो यममध्ये दोस्रो सत्य । सत्य व्यवहार गर, असत्य नगर । यो दुनियाँ तपाईं हामी सबै सत्यमा चल्यौ भने, असत्य अपनाएनौँ भने सुन्दर हुँदैन र ? नचाहिने, आफूलाई आवश्यकता नभएका कुरामा लोभ नगर, अनुशासनमा बस, ब्रह्मचार्यधारण गर, यिनै कुरा भनिएको छ । 

नियममा भनिएको छ, आफूलाई स्वस्थ राख शौच पहिलो सूत्र । आफूलाई स्वस्थ राख, शारीरिक हिसाबले स्वच्छ राख, मानसिक हिसाबले स्वच्छ राख, स्वच्छ मन राख । अघि डाक्टरले भन्नुभयो खुसी, “स्वच्छ मनले खुसी पलाउँछ ।” म आफ्नो अनुभव भन्छु, म देशका लागि काम गर्छु, जनताका लागि काम गर्छु, सुशासनका लागि काम गर्छु, विकासका लागि काम गर्छु, मौका पाएका बेला सुशासन विकासका लागि, देशका लागि काम गर्छु, नपाएका बेला पवित्र मनका साथ बस्छु, पवित्र चाहनाका साथ बस्छु, पवित्र भावनाका साथ बस्छु । त्यस कारण म कसैप्रति कुनै वैरभाव केही पनि राख्दिनँ । सधैँ प्रसन्न चित्त हुन्छु । मलाई गाली गरिराखेका हुन्छन् । मिसन छ गाली गर्ने, त्यो कुरा म बुझ्छु । माया लाग्छ गाली गर्नेहरूप्रति ! तर म प्रसन्न रहन्छु, किनभने मैले उसलाई बुझाउन सकिनँ, त्यति मात्रै कुरा हो । मेरो बुत्ताभन्दा सायद बाहिरको कुरा हो । म कतिलाई बुझाउन सक्छु, कतिलाई सम्झाउन सक्छु, कतिलाई भेट्न सक्छु, सबैैलाई बुझाउन सक्दिनँ । यदि योगको सङ्गतमा आए भने, तपाईंहरूको सङ्गतमा आए भने ती मान्छे पनि मान्छे हुन्छन् । तपाईंहरू कसैलाई मुख छाड्र्दै हिँड्नु भएको छ, गाली गर्दै हिँड्नु भएको छ ? हिँड्नु हुन्न, किनभने तपाईंहरू योग गर्नुहुन्छ, ध्यान गर्नुहुन्छ, 

प्राणायाम गर्नुहुन्छ । योग भनेको के हो चित्तानुशासनम् । चित्तलाई एक ठाउँ लाग्ने, चित्ताग्रह, एक ठाउँमा चित्तलाई स्थिर बनाउने, चित्त स्थिर गर्ने कुरा हो, मनलाई स्थिर गर्ने कुरा हो । 

पतञ्जलि भन्छन्, योग भनेको मनलाई स्थिर गर्ने कुरा अथवा स्थिरता नै योग हो भन्छन् । स्थिरता भनेको नचल्ने, अचल भन्ने होइन तर राम्रा कुरामा गएर स्थिर हुन्छ । हरेक भड्किएको मनलाई हामी राम्रा कुरामा ल्याएर स्थिर गर्छौं । डाक्टरहरू ल्याबमा पठाउनुहुन्छ खकार, थुक, रगत अरू विभिन्न चिज पठाउनु हुन्छ । ल्याबमा पठाउनुहुन्छ र त्यहाँबाट हेर्नुहुन्छ, एक्सरेमा पठाउनु हुन्छ, त्यहाँबाट हेर्नुहुन्छ, एमआरआई गर्नुहुन्छ, सिटीस्क्यान गर्नुहुन्छ, यो गर्नुहुन्छ, त्यो गर्नुहुन्छ, सबै गर्नुहुन्छ र हेर्नुहुन्छ अनि निष्कर्षमा पुग्नुहुन्छ । त्यो हो स्थिर । यो भएको रहेछ, स्थिर त्यहाँ पुगेपछि तपाईंको निष्कर्ष पुग्यो । हो त्यो स्थिरताबाट अब तपाईंले ट्रिटमेन्ट सुरु गर्नुहुन्छ, किनभने तपाईंले निदान गर्नुभयो रोगको अथवा रोगको पहिचान गर्नुभयो अथवा डाइग्नोसिस गर्नुभयो । त्यो डाइग्नोसिसपछि अब उपचारको फेजमा तपाईं जानुहुन्छ । हामीलाई डाक्टर चाहिन्छ, अस्पताल चाहिन्छ तर अहिले सरकारले लिएको नीति निरोगी नेपालको हो । 

योगका यदि यम, नियम मानिँदैन भने जति आसन गर्नुस्, जति प्राणायाम गर्नुस्, आफ्ना निम्ति त होला तर समाजका निम्ति हुँदैन । तपाईंको समाजमा व्यक्तित्व बन्दैन, किनभने भने ध्यानले मात्रै पुग्दैन । तपाईं कर्मशील, कर्मवीर, कर्मठ र कर्मयोगबिना हामीले ध्यानै मात्रै ग¥यौँ भने, प्राणायाम गरेको छ, गरेको छ, छिट्टै पुगिहाल्छ माथि ! यो लोक बन्दैन फेरि परलोक बन्छ । योगको सम्बन्ध परलोकसँग होइन, यस लोकसँग छ सम्बन्धित छ, मानव जातिसँग छ । योगको सम्बन्ध इजरायल र इरानबिचको अहिले चलिरहेको द्वन्द्व अन्त्य होस् भन्ने कुरासँग सम्बन्ध छ र दुनियाँमा फेरि शान्ति स्थापना होस्, युद्ध नभड्कियोस र नफैलियोस् भन्ने कामनासँग, यसको प्रयाससँग छ, यसको आवाजसँग छ सम्बन्ध । मान्छेको मारामारलाई युद्ध भनिन्छ । साँढे जुधाइलाई युद्ध भनिँदैन । मान्छे मारामार जस्तो नराम्रो कुरा के हो ? अरू केही हुन सक्छ, मान्छे मारामार ! एउटाले अर्कालाई मा¥यो ओहो ! यो भन्दा नराम्रो कुरा के हुन्छ होला ? त्यही त भइराखेको छ । त्यसमा दाउपेच भइराखेको छ, कसले धेरै मार्ने ! 

एउटा देशको राष्ट्रपतिलाई अर्को देशको राष्ट्रपतिले, अर्को देशको प्रधानमन्त्रीले त्यो फलानालाई मार्छु र मारेर छोड्छु ! ग्लोबल अर्डर, ग्लोबल अर्डर भनेको के हो ? यस्ता यस्ता कुराहरू आज सुन्न थालिएको छ । मैले यो पोलिटिसियनको हिसाबले भनेको होइन, एउटा योगको हिसाबले भनेको हो । यही कुरासँग योग, व्यक्तिभित्रको अशान्ति शान्त होस्, व्यक्तिभित्रको चिन्ता शान्ति होस् । व्यायाम हुनै पर्छ, ध्यानमा मात्रै पनि भर नपर्नु होला । काम गर्नै पर्छ, तपाईंहरूको रक्तसञ्चार हुनै पर्छ । हात पाहुहरू चल्नै पर्छन्, तपाईंको गर्धन चल्नै पर्छ, तपाईंको हातले केही उठाउनै पर्छ, तपाईंका मसल चुस्तदुरुस्त हुनै पर्छ, नत्र भने मसल कमजोर हुने छ । अनि डाक्टरले फिजियोथेरापिस्ट कहाँ जानुस् भनेर अनि फिजियोथेरापीले गर्छ । आफैँले फिजियोथेरापी कहाँ जानु पर्ने स्थिति बनाउनु हुन्छ, आरामको जिन्दगी बाँच्न खोज्नुभयो भने । आरामको जिन्दगी होइन, सुखको जिन्दगी बाँच्नूस् । आरामको जिन्दगी होइन, स्वस्थ जिन्दगी बाँच्नूस् । आरामको जिन्दगी होइन, स्वस्थ, सुखी, मज्जाको जिन्दगी बाँच्नुस् । पसिना ननिस्किएको जिन्दगी होइन, पसिना काँढेको जिन्दगी बाँच्नुस् । हातपाउ खियाएको, हिँडेको जिन्दगी बाँच्नुस्, चलेको जिन्दगी बाँच्नुस् । त्यस कारण योगले ती कुराहरू सिकाउँछ । 

यदि हामी हाम्रो आचरणमा यम र नियममा ध्यान दिँदैनौँ भने हुँदैन । सरकारले अहिले मात्र होइन, म प्रधानमन्त्री हुनेबित्तिकै मैले निरोगी नेपाल भन्ने नारा दिएँ । निरोगी नेपालको नीतिभित्र के पर्छ भने, मानिसलाई रोगी हुन नदिने, नेपाललाई निरोगी बनाउने पहिलो कुरा आरोग्यता । निरोगी नेपाल, बिमारी हुनै नदिने, कसरी खाना, काम र आरामको सन्तुलन । सबै चिज स्वस्थ । यससँगै मनको स्वस्थता । मनको पवित्रता । यससँगै हामी सामाजिक प्राणी हौँ, समाजले निर्धारण गरेका चिज योगले सिकाउनु पर्छ । योग एउटा पक्ष मात्रै होइन, योग जीवनको बहुआयामिक दृष्टिकोण हो । वैज्ञानिक दृष्टिकोण हो, जो हाम्रा पूर्खाले हजारौँ वर्षअगाडि मानव कल्याणका लागि, मानव जातिका लागि र बिनाविभेद, धर्मको विभेद, जातिको विभेद, भाषाको विभेद कुनै विभेदबिना, पेसाको विभेदबिना, रङको विभेदबिना, लैङ्गिक विभेदबिना, जातीय वा अरू कुनै प्रकारका रङ्गभेदबिना, पेसा व्यवसायका भेदबिना सबैको कल्याणका लागि योग हाम्रा पुर्खाले धेरै अगाडि निर्माण गर्नुभएको हो । 

यसका विभिन्न शाखा छन् । म तपाईंहरूलाई के आग्रह गर्न चाहन्छु भने, यम मानिएन भने योग सुरु नै नगरे हुन्छ । यम मान्नु हुन्न, नियम मान्नु हुन्न, जिम जानुहुन्छ भने तपाईंले कसैको के भत्काउनु हुन्छ । जिम जानुहुन्छ, पाखुरा ठुलो हुन्छ । के गरुँ के गरौँ भएर आउँछ, मति बुद्धि ठिकमा ल्याएको छैन, अनि के हुन्छ ? त्यस कारण मति बुद्धिसहितको मसल हुनु पर्छ । यो योगले काम गर्छ । बाटो देखाउने टर्चलाइट जस्तो, बाटो देखाउने उज्यालो, तमसोमा ज्योतिर्गमय योगले त्यो काम गर्छ । त्यस कारण योग दैनिक जीवनमा गरौँ । आज योग दिवस हो । त्यस कारण आज एकछिन हामीले यहाँ अभ्यास गर्ने होइन, घर घरमा अभ्यास गरौँ । 

योग भनेको मस्तिष्कको, मनको, तनको, सबै चिज शुद्ध, पवित्र र सामाजिक रह्यो भने हामी निरोगी र स्वस्थ हुन्छौँ र समाजलाई स्वस्थ ढङ्गले अगाडि बढाउन सक्छौँ । सबैलाई यही मेरो आग्रह छ । सरकारको तर्फबाट यस सन्दर्भमा दिने ध्यान हामी दिइरहेका छौँ र निरोगी नेपाल, रोग लाग्नै नदिने, लागिहालेमा उपचार गर्ने, आकस्मिक दुर्घटना केही भए उपचार गर्ने, प्राकृतिक खालका कुनै चिज परे उपचार गर्ने तर साधारणतया भन्ने हो भने सधैँ स्वस्थ रहन प्रेरित गर्ने, सधैँ स्वस्थ रहने बाटो हिँड्ने, स्वस्थताको, स्वस्थ मन र प्रसन्नता । खासमा भन्ने भने इम्मुन सिस्टमको सबैभन्दा प्रमुख जग प्रसन्नता हो । पहिले आफूलाई पवित्र सोच्न थाल्नूस्, तपाईं योगी हुन थाल्नुभयो । पवित्र सोच्नूस्, सत्य सोच्नूस्, अहिंसा सोच्नूस्, अर्काको सम्पत्तिमा लोभ नगर्ने, आफ्नोबाहेक र चाहिनेबाहेक अपरिग्रह, चाहिनेबाहेकका कुराहरूप्रतिको लोभलाई पन्छाइदेउ, प्रत्याहार आठ वटामध्येको एउटै हो । त्यस्ता चिजको कुनै पनि दुष्प्रभावलाई टाडैबाट हटाइदेउ आदि । घरै बसेर योगी हुनुस् । मेरो विनम्र आग्रह छ । म फेरि पनि योग मानवजातिको कल्याणका लागि, मानव जातिले गर्ने मानवका लागि गर्ने, आफ्ना लागि, परिवारका लागि, समाजका लागि, विश्वका लागि, शान्ति र सभ्यताका लागि गर्ने, समृद्ध नेपाल, सुखी नेपाली बनाउन हामीले गर्ने, स्वस्थ सुखी नेपालीहरूको नेपाल बनाउन हामीले गर्ने हो । त्यसर्थ योगलाई त्यसै गरी बुझेर अगाडि बढौँ भन्ने आग्रहका साथ सबैमा शुभकामना ।

(प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व योग दिवसका अवसरमा ललितपुरमा शनिबार आयोजित कार्यक्रममा गर्नुभएको सम्बोधनको सम्पादित अंश ।)