• ५ कात्तिक २०८१, सोमबार

नयाँ भवन रित्तै, पुरानोमा क्षमताभन्दा बढी कैदीबन्दी

blog

जिल्ला कारागार ओखलढुङ्गा । तस्बिर : शेरबहादुर राई

शेरबहादुर राई
ओखलढुङ्गा, कात्तिक ५ गते ।
जिल्ला कारागार ओखलढुङ्गामा नयाँ बनेको भवनमा सुरक्षा पर्खाल नबन्दा कैदीबन्दीलाई बस्न समस्या भएको छ । नयाँ बनेको कारागार भवनको सुरक्षा पर्खाल नबन्दा अहिलेसम्म प्रयोगमा आएको छैन ।

नयाँ भवन रित्तै छ भने पुरानो जीर्ण कारागार भवनमा क्षमताभन्दा तीन गुणाभन्दा बढी कैदीबन्दी राखिएको छ । कारागारको क्षमता महिला पुरुष गरी ३० जनाको भए पनि अहिले ९८ जना कैदीबन्दी राखिएको छ । करिब एक वर्ष अघि निर्माण गरिएको महिला कारागार भवन प्रयोगमा नआउँदा र क्षमताभन्दा बढी कैदीबन्दी राख्नुपर्दा व्यवस्थापनमा निकै समस्या हुने गरेको कारागार प्रमुख लेखनाथ दाहाल बताउनुभयो ।

नवनिर्मित भवनको सुरक्षा पर्खाल नहुँदा कैदीबन्दीलाई स्थानान्तरण गर्न नसकिएको प्रमुख दाहालको भनाइ छ । हाल कारागारमा आठ महिला र ९० जना पुरुष कैदीबन्दी रहेको प्रमुख दाहालले जानकारी दिनुभयो ।

क्षमताभन्दा बढी कैदीबन्दी हुँदा सुत्न, बस्न, खान, शौचालयको प्रयोगलगायत अन्य व्यवस्थापनमा समस्या हुने गरेको बताइएको छ । पुरानो कारागार भवन २०७२ सालको भूकम्पले चर्किएको र सुरक्षा पर्खाल पनि जीर्ण भएकाले त्यहाँ राखिएका कैदीबन्दीलाई जोखिम हुने गरेको छ ।

कारागार व्यवस्थापन विभागले ५० लाख ४५ हजार ७१३ को लागतमा महिला बन्दीका लागि सुविधा सम्पन्न नयाँ कारागार भवन निर्माण गरी दिएको थियो । उक्त भवनमा सुरक्षा पर्खाल बन्न बाँकी छ । २०८० असारमै निर्माण सम्पन्न भएको कारागारमा बजेट अभावका कारण सुरक्षा पर्खाल नबनेको कार्यालयले जनाएको छ ।

पछिल्लो समय पर्खाल निर्माणका लागि बजेट परेको र निर्माणका लागि ठेक्का सम्झौता भएको प्रमुख जिल्ला अधिकारी डा.नारायण ढकालले बताउनुभयो । हाल कारागारमा देखिएको समस्या चाढै केही हदसम्म समाधान हुने प्रमुख जिल्ला अधिकारी ढकालको भनाइ छ ।