• ११ पुस २०८१, बिहिबार

आफन्तकै गिदी खाने मानिस

blog

दशकौँदेखि पपुआ न्युगिनीका फोर जनजातिका मानिसले आफ्नै नातागोताका मृतकको गिदी खाने गर्दथे । उनीमा बयस्क पुरुषले भूतप्रेतबाट बच्नका लागि मृत आफन्तको शव खान्थे भने बालबालिका र महिलाका लागि गिदी बाँकी राखिन्थ्यो ।   

यस्तो विचित्रको प्रथाले फोर जनजातिमा  कुरु नामको घातक रोग फैलियो । गिदीमा क्षतिग्रस्त भएको प्रोटिनका कारणले यो बिरामी हुन्थ्यो तथा त्यो रोगले गर्दा हिँड्न गाह्रो हुने र पीडित अनियन्त्रित भई हाँस्दथ्यो । सन् १९६० को दशकमा यस प्रथालाई बन्द गरियो तर कुरुले लामो समयसम्म मानिसलाई प्रभावित गरिरह्यो किनभने यो रोग हत्तपत्त निको हुँदैनथ्यो ।

सन् १९५० को दशकसम्म फोर जनजाति बाह्य संसारको खासै सम्पर्कमा थिएन । सन् १९४० को दशकको अन्त्यतिर उपनिवेश बसाउनेको गस्ती टोली फोर जनजातिको इलाकामा आइपुग्यो । उनीहरूले फोर मानिसलाई स्वच्छताको विषयमा, सडक निर्माण तथा लडाइँ र नरभक्षण त्याग गर्न सिकाए । सन् १९५१ सम्म पारवहन वृद्धि तथा बाह्य संसारका मानिसको आवतजावत बढ्न गयो । मानवशास्त्री र इसाई धर्म प्रचारकसमेत त्यहाँ पुगे । यी सबैको प्रभावले फोर जनजातिको संस्कृतिमा द्रुत परिवर्तन भयो ।

नयाँ संसारको सम्पर्कले परिवर्तित फोरहरू व्यापार गर्न थाले, कफी खेती गर्न सुरु गरे तथा मुद्रा अर्थतन्त्र उनीहरूले अपनाए । सामाजिक रूपमा आएको परिवर्तनले लडाइँको काम हुन थाल्यो, ग्रामीण पुनर्वासको अभ्यास सुरु भयो तथा आवागमन बढ्न थाल्यो । तथापि यतिको परिवर्तन आउँदासमेत केही परम्परागत अभ्यास जारी रह्यो ।

कुरु रोग दुर्लभ मानिन्छ र यसको उपचार छैन । स्नायुतन्त्रमा असर पार्ने यो अत्यन्त घातक रोगमा पर्दछ । दिमागमा हुने एक प्रकारको प्रोटिन ‘प्रिअन’ का कारणले यो रोग लाग्दछ । यो रोगका रोगी अनियन्त्रित हाँस्ने भएकाले यसलाई ‘हाँस्ने रोग’ पनि भनिन्छ । यस रोगको नामकरण फोर जनजातिको भाषाबाट गरिएको हो । फोर जनजातिको भाषामा ‘कुरिया’ वा ‘गुरिया’ भनेको काम्नु हुन्छ । कुरु रोगीको शरीर काम्ने भएकाले फोरहरूले रोगको नाम नै कुरु राखिदिए ।

आफन्तको शव–गिदी खाने भएकाले कुरु रोग फोर मानिसमा सर्ने गर्दथ्यो । उनीहरूले मृतकको शव काटकुट पारी परम्परागत रूपमा पकाएर खान्थे । यसो गर्दा भूतप्रेत नलाग्ने र आत्माले मुक्ति पाउने विश्वास उनीहरूमा थियो तर भूतप्रेत त होइन कुरुले उनीहरूलाई नराम्रोसँग सताएको थियो । महिला र बालबालिकाले गिदी खान्थे । जसमा सङ्क्रमित प्रिओन बढी हुन्थ्यो र कुरुले नयाँ शरीरमा मौलाउने अवसर पाउथ्यो । यस कारण यस रोगले महिला र बालबालिका बढी प्रभावित हुने गर्दथे ।

यस रोगले फोर जनजातिमा सकभर त्यतिबेला महामारीको रूप लिएको हुनु पर्छ जब एक गाउँलेमा क्रेएत्जफेल्ड–याकोब रोग विकास भयो र उनी मरे । जब गाउँलेले तिनको गिदी खाए उनीहरूमा कुरु रोग फैलियो र रोगले मर्नेको गिदी अन्यले पनि खाँदै जाँदा गाउँमा रोग व्यापक बन्न पुग्यो । नरभक्षणबाट कुरु रोग लाग्ने पहिलो पटक आशङ्का गरिएपछि जब १९६० को दशकमा फोर मानिसहरूले मानव गिदी खान बन्द गरे तर कुरु रोगको विकृत प्रोटिन १० देखि ५० वर्षसम्म सक्रिय रहन सक्ने भएकाले यो रोग लामो समयसम्म फाट्टफुट्ट देखिइरह्यो । नरभक्षण बन्द गरिएको ५० वर्षपछि यो रोगको महामारी धेरै नै कम भएर गयो । सन् १९५७ मा प्रतिवर्ष करिब दुई सय मानिस यस रोगले मरेका थिए भने सन् २०१० यता एक जना पनि नमरेको देखिन्छ । 

रोगको लक्षणका आधारमा चिकित्सकले कुरु रोग निदान गर्छन् । या रोग निदान गर्ने कुनै प्रयोगशाला परीक्षण छैन । पारिवारिक इतिहास तथा शरीरको सन्तुलन र मांसपेशीको निष्काम सक्रियताको मूल्याङ्कन गरेर कुरु रोग निदान गरिन्छ तर यसका लक्षण अन्य मस्तिष्कमा असर पार्ने रोगसँग समेत मिल्ने भएकाले झुक्किने सम्भावना रहन्छ । 

–युवामञ्च