• ६ मंसिर २०८१, बिहिबार

चाडपर्वपछिको अर्थतन्त्र

blog

नेपालको अर्थतन्त्र अहिलेसम्म पनि लयमा फर्किसकेको छैन । उद्योग कलकारखाना पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेका छैनन् । व्यापार व्यवसायको अवस्था पनि कमजोर नै देखिन्छ । आन्तरिक उत्पादन न्यून भएकाले आयातबाट नै आवश्यकता पूर्ति भइरहेको छ । निर्यात निराशाजनक भएको र आयात वृद्धि भएकाले देशको आयातनिर्यातमा सन्तुलन हुन सकेको छैन । देशको आर्थिक अवस्था यसरी कमजोर भएको अवस्थामा आमनागरिकले मनाउने दसैँतिहार जस्ता ठुला चाडपर्व यही समयमा पर्न गएका छन् । तिहारमा भन्दा पनि दसैँमा धेरै खर्च हुन्छ । सामान्य मानिसको आयमूलक काम केही नहुने तर खर्च भने गर्नुपर्ने बाध्यताले देशको अर्थतन्त्रमा केही न केही असर परेकै हुन्छ ।

लामो बिदा हुने भएकाले सबै सरकारी कार्यालयलगायत निजी सङ्गठनसमेत बन्द हुन्छन् । बन्दको समयमा आर्थिक क्रियाकलाप सञ्चालन नहुने भएकाले अर्थतन्त्रमा ठुलो असर परेको हुन्छ । चाडपर्व मनाउनकै लागि भनेर कर्मचारीलाई एक महिनाको थप पारिश्रमिक दिने व्यवस्थासमेत छ । यसले गर्दा दसैँतिहार जस्ता चाडपर्व खर्च उन्मुख भएका हुन्छन् । आफ्नो आर्थिक स्रोत नभए पनि खर्च गर्नैपर्ने भएकाले यो चाडलाई कतिपयले दशाका रूपमा लिने गरेका हुन्छन् । परम्परादेखि नै मनाइँदै आएकाले आफूसँग पैसा नभए पनि ऋण गरेर भए पनि दसैँ मनाउने चलन छ । 

घरपरिवारका लागि नयाँ लत्ताकपडा, माछामासु, दानदक्षिणा बढी मात्रामा गरिने भएकाले सामान्य मानिसले पनि बढी खर्च गर्नुपर्ने बाध्यता हुन्छ । हुनेखानेले भने झनै बढी खर्च गरेका हुन्छन् । यसरी खर्च भएको रकम सबै अनुत्पादक अथवा उपभोगमा नै खर्च हुन्छ । लामो अवधिसम्म आर्थिक गतिविधि नहुने र अर्कोतर्फ खर्चमा भने वृद्धि हुने भएकाले चाडपर्वपछिको अर्थतन्त्र कमजोर नै हुने गर्छ । चाडपर्वको असर एक क्षेत्रमा मात्र पर्ने नभई सबै क्षेत्रमा अर्थात् देशभर नै हुने भएकाले देशको अर्थतन्त्र कमजोर हुनु स्वाभाविक हुन आउँछ । कमजोर अर्थतन्त्रलाई गति दिन केही समय लाग्ने नै हुन्छ ।

स्रोतसाधन भएकाका लागि चाडपर्वले असर नगरे पनि न्यून आय हुने र सुका, मोहोर बचत गरेर चाडपर्व मनाउनेका लागि भने समस्या नै हुन्छ । ठुलो जनसङ्ख्या देशबाहिर रोजगारीका लागि गएका पनि चाडपर्व मनाउन स्वदेश फर्किएका हुन्छन् । फर्किनेले त केही न केही खर्चको व्यवस्था गरेकै हुन्छन् र नफर्किनेले पनि चाडपर्व मनाउन पैसा पठाएकै हुन्छन् । यसरी विदेशबाट आएको पैसाले दसैँतिहार जस्ता चाडपर्व मनाउनमा नै खर्च भएको हुन्छ । जति पनि चाडपर्वका लागि खर्च हुन्छ त्यो सबै अनुत्पादक तथा उपभोगमा नै खर्च हुने भएकाले यस अवधिमा उत्पादनमूलक आर्थिक गतिविधि प्रायः शून्यकै अवस्थामा हुन्छन् । 

देशबाहिर गएका स्वदेश फर्किने र स्वदेशमा नै कुनै व्यापार, व्यवसाय तथा रोजगारी गरेका पनि आफ्नो घर फर्किंदा देशभित्र आर्थिक गतिविधि चलायमान भएको हुन्छ । पर्व मनाइरहँदा आर्थिक स्थिति कमजोर भएका पनि कमजोर जस्ता देखिँदैनन् । किनभने सबैले मन फुकाएर खर्च गरेर दसैँतिहार मनाएका हुन्छन् ।

निश्चय नै दसैँतिहारमा देशभर आर्थिक क्रियाकलाप बढेका जस्ता देखिन्छन् । मानिससँग भएको पैसा, सरसापटी र ऋण लिएको पैसाले बजार निकै चलायमान हुन्छ । दसैँको रौनक नपुगेको कुनै ठाउँ हुँदैन । मानिसको हातहातमा केही न केही पैसा हुन्छ । सानादेखि ठुला मानिसले पैसा खर्च गर्ने हुनाले कोही पनि आर्थिक अभावमा परेका जस्ता देखिँदैनन् । यो केही समयका लागि क्षणिक अवस्था मात्र हो । केही दिनपछि भएको पैसा सकिने र त्यसपछि पनि आर्थिक गतिविधि सञ्चालनमा आउन समय लाग्ने नै भएकाले चाडपर्वको असर पछिसम्म पर्ने नै हुन्छ ।

चाडपर्वको समयमा अर्थतन्त्रको स्वरूप अलि फरक भएको हुन्छ । अवधि र स्रोत सीमित भए पनि अर्थतन्त्र चलायमान भएको जस्तो देखिन्छ । किनभने आर्थिक गतिविधि विस्तार भएका हुन्छन् । व्यापार व्यवसाय सञ्चालन गर्नेले बढी नाफाको खोजीमा बढी बिक्री हुने सामान ल्याएका हुन्छन् । विदेशबाट बढी मात्रामा आयात गरिने भएकाले धेरै मात्रामा विदेशी मुद्रा भुक्तानी भएको हुन्छ । यो अवधिमा पुँजीगत तथा निर्माण सामग्री आयात हुँदैनन् । आयात हुने भनेका नै उपभोग्य वस्तु तथा सामान हुन् । अधिकांश आयात वस्तु चालुगत प्रकृतिको हुने भएकाले यी खर्चले अर्थतन्त्रमा योगदान दिँदैनन् । लत्ताकपडा, खाद्यान्न, माछामासु, दानदक्षिणा जस्ता खर्चले उपभोग नै बढाउने हुन् र अर्थतन्त्रमा योगदान गर्न सक्दैनन् ।

चाडपर्वमा देशभरि नै आर्थिक गतिविधि देखिने भएकाले देशको अर्थतन्त्र चलायमान हुन जान्छ भन्ने धेरैको बुझाइ हुन्छ, त्यस्तो होइन । अर्थतन्त्र चलायमान हुन औद्योगिक वातावरण हुनु पर्छ । निर्बाध उद्योगधन्दा, कलकारखाना सञ्चालन हुनु पर्छ । आन्तरिक उत्पादनले अधिकांश आयातलाई विस्थापित गर्नु पर्छ । उत्पादनशील क्षेत्रमा भएको लगानीले अपेक्षित प्रतिफल दिने हुनु पर्छ । बजारमा माग बढ्नु पर्छ । माग बढ्नु भनेको जनताको क्रयशक्ति बढ्नु हो ।

चाडपर्वको अर्थतन्त्र भनेको जनताको क्रयशक्ति नभए पनि खर्चमा वृद्धि हुनु हो । छोटो समयमा गरिने यसप्रकारका खर्च स्थायी आम्दानीका स्रोतबाट प्राप्त नभई खर्च टार्नका लागि ऋण तथा सापटी लिएर खर्च गरिएका हुन्छन् । अहिले दसैँमा अर्थतन्त्र चलायमान हुन्छ भन्ने एकप्रकारको धारणा भएको पाइन्छ । अर्थतन्त्र चलायमान हुने होइन तर आर्थिक गतिविधि भने निश्चय नै बढेका हुन्छन् । किनभने व्यापारीको व्यापार बढेको हुन्छ । उनीहरूले राम्रो आम्दानी गरेका हुन्छन् । उत्पादनकर्ताले पनि बजारमा माग बढेकाले आफ्नो उत्पादन बढाएका हुन्छन् । यस्ता आर्थिक गतिविधि चाडपर्वमा मात्र हुने गर्छन् । यी कारणले अर्थतन्त्र चलायमान बनाउने होइनन् । अर्थतन्त्र चलायमान हुन लगानीमा वृद्धि हुनु पर्छ । उत्पादनशील क्षेत्रमा लगानी भएको रकमले अतिरिक्त आय दिन सक्ने हुनु पर्छ । अहिलेको यो अवस्था होइन, खर्च गर्दैमा अर्थतन्त्र चलायमान हुने होइन । यसका लागि त उत्पादनशील क्षेत्रमा लगानी प्रवाह भएर राष्ट्रिय अर्थतन्त्रमा योगदान पुग्नु पर्छ । अहिलेको खर्च उत्पादनमुखी होइन, खर्चका लागि खर्च मात्र हो ।

अब प्रश्न आउँछ दसैँपछिको अर्थतन्त्र कस्तो होला ? दसैँमा आर्थिक गतिविधि बढेको देखिए पनि तिनीहरू दिगो प्रकृतिका हुँदैनन् । चाडबाड सकिनासाथ सेलाएर जाने गर्छन् । छोटो अवधिमा गर्जो टार्न गरिएका खर्च केवल उपभोगमुखी मात्र हुन्छन् र आम्दानी बढाउने खर्च होइनन् । पटके खर्चले स्थायित्व ल्याउन सक्दैनन् । त्यसकारण चाडपर्वमा भएको खर्च परिपूर्ति हुन केही समय लाग्ने नै हुँदा यसको असर अर्थतन्त्रमा परी नै रहेको हुन्छ ।

चाडपर्वमा भएको खर्चले पुँजीबजारलाई पनि प्रभाव पारेको हुन्छ । चाडपर्व मनाउनकै लागि सामान्य लगानीकर्ताले आफूसँग भएको सेयर बिक्री गरेका हुन्छन् । सरसापटी र यस्तै अन्य किसिमका आयस्रोत जुटाएर दसैँमा भएको खर्च क्षतिपूर्ति गर्न तत्काल व्यक्तिसँग सेयरमा लगानी गर्ने पैसा हुँदैन । यसकारण सेयर बजार फस्टाउने सम्भावना पनि ज्यादै न्यून हुन्छ ।

धेरै आम्दानी भएकालाई दसैँमा भएको खर्चले केही असर नपार्ने भए पनि सामान्य नागरिकलाई भने असर पारेको हुन्छ । त्यसकारण चाडपर्वपछिको अर्थतन्त्र चलायमान हुन केही समय लाग्ने नै हुन्छ । अर्थतन्त्रलाई दिगो रूपमा चलायमान बनाउन केही नीतिगत व्यवस्था र पुँजीगत खर्च बढाउने तर्फ सरकारले काम गर्नु पर्छ । दसैँतिहार जस्ता ठुला चाडपर्व आर्थिक वर्षको पहिलो चौमासिकमा पर्ने र यो अवधिमा विकास तथा निर्माण कार्यको प्रारम्भिक अवस्था हुने भएकाले पुँजीगत खर्च ज्यादै न्यून हुने गर्छ । त्यसकारण दसैँपछिको अर्थतन्त्रको गति धिमा नै हुने गर्छ । अर्थतन्त्रलाई गति दिन सरकारले पुँजीगत खर्च बढाउन सक्यो भने रोजगारी बढ्न सक्छ र जसको प्रवाह विभिन्न आर्थिक क्षेत्रमा पर्न सक्छ ।   

Author

कृष्णमणि पराजुली