धनगढी समाचारदाता
धनगढी, कात्तिक ९ गते । दुई हप्ताअगाडि इजरायलले हमासको बन्धकमा रहनुभएका कञ्चनपुरका विपिन जोशीसहित रिहाइ हुनेहरूको फोटो सार्वजनिक गर्दा सिङ्गो मुलुक आशावादी बनेको थियो ।
दुई वर्षदेखि विपिनको व्यग्र प्रतीक्षा गरिरहेको परिवार उहाँ रिहा हुने खबरले अझ आशावादी नहुने त कुरै भएन । तिहार पनि नजिकिँदै गएकाले त्यसबेला परिवारले यसपालिको तिहार विपिनसँगै मनाउने सपना बुनेको थियो । त्यतिबेला विपिनका दाइ किशोर जोशी (ठुलबुबाको छोरा) ले भन्नुभएको थियो, “यसपालिको तिहार भाइसँगै मनाउने चाहना छ । मेरो भाइ सकुशल फर्कोस् ।” तर असोज २७ गते इजरायलले विपिन जीवित नरहेको पुष्टि गरेपछि परिवारमा एकाएक अँध्यारो छायो ।
विपिन सकुशल फर्कने आशाको दियो निभ्यो, परिवार शोकमा डुब्यो । गएको सोमबार तिहारको लक्ष्मी पूजाकै दिन साँझ विपिन घर फर्किनुभयो तर परिवारसँग कहिल्यै पनि दीपावली नमनाउने गरी बाकसमा । तिहारको झिलिमिली र रमाइलोका बेला कञ्चनपुरको भीमदत्त नगरपालिका–३, मल्लिकार्जुन टोलस्थित विपिनको घरमा मात्रै अँध्यारो छाएन, शोकमा पूरै टोलले नै अँध्यारो बन्यो, टोलवासी कसैले घरमा दीपावली गरेनन् । झिलिमिली पारेर घर उज्यालो बनाउने लक्ष्मी पूजाको दिन मल्लिकार्जुन टोलको एउटा ज्योति निभेर बाँकी रहेको अवशेष घर पुगेपछि सिङ्गो मुलुक नै स्तब्ध भयो ।
विपिनका आमा पद्मा, बुबा महानन्द, बहिनी पुष्पाको सहारा ढल्यो । तिहारमा दाइलाई भाइटीका लगाउने पुष्पाको सपना अधुरै रह्यो । घरमा सयपत्री फूल रोपेर दाइको प्रतीक्षारत उहाँले अब त्यो भाइटीका कहिल्यै नहुने सत्यलाई स्वीकार्नु प¥यो । “भाइ गुमेको शोकमा टोलले नै तिहार मनाएन,” गोरखापत्रसँग किशोरले भन्नुभयो, “हामी स्तब्ध छौँ ।” सोमबार साँझ नेपाली सेनाको स्काई ट्रकमार्फत काठमाडौँबाट धनगढीसम्म विपिनको शव ल्याइएको थियो । धनगढीका नगरप्रमुख गोपाल हमाल र उहाँका दुई भाइहरूद्वारा सञ्चालित महाप्रस्थान यानमा राखेर शव विपिनको घरसम्म पु¥याइएको थियो । शवसँगै नेपालका लागि इजरायलका राजदूत स्मुलिक एरी बास, नेपाल इजरायल सम्बन्धको सल्लाहकार नदाब विपिनको घरमा पुग्नुभएको थियो । राजदूत स्मुलिकले विपिन आफ्नो पनि छोरासरह रहेको भन्दै शोकाकुल परिवारको घाउमा मलम लगाउने प्रयास मात्रै गर्नुभएन, अन्त्येष्टिसम्म सहभागिता जनाएर उहाँले सान्त्वना दिइरहनुभयो ।
मङ्गलबार हिन्दु संस्कार अनुसार महाकाली नदीमा राष्ट्रिय सम्मानका साथ विपिनको अन्त्येष्टि गरियो । त्यो अन्त्येष्टि, त्यो क्षणको साक्षी बन्न र विपिनका वीरताको कदर गर्न सात हजारभन्दा बढी शुभेच्छुक, शुभचिन्तक आर्यघाट पुगेका थिए ।
विपिनकै अर्का दाइ धर्मानन्द जोशीका अनुसार विपिनको अस्थिपञ्जर मात्रै थियो । शरीरको भागमा कहीँकतै मासु थिएन । “शव मैले पनि हेरेँ,” उहाँ भन्नुहुन्छ, “टाउको राम्रो थियो । हातखुट्टा अस्थिपञ्जर मात्रै थिए । शरीरमा मासु थिएन ।” हमासले दिएको अस्थिपञ्जरलाई अन्तर्राष्ट्रिय रेडक्रसले नै विपिनको रहेको प्रमाणित गरेको र डिएनए टेस्ट पनि गरिएकाले परिवारले विश्वास गरेको जोशीको भनाइ छ । हमासले २०२३ अक्टोबर ७ मा इजरायलमा आक्रमण गर्दा विपिनलाई बन्धक बनाएर लगेको थियो । उहाँको दुई वर्षअगाडि नै हत्या गरिएको इजरायलले पुष्टि गरेको छ । उहाँको टाउकोमा गोली प्रहारबाट मृत्यु भएको इजरायलमा भएको जाँचले देखाएको छ । हमासले हस्तान्तरण गरेको शवको फरेन्सिक जाँच गरिएको थियो ।
संरक्षण गरियो प्रिय गितार
कृषि विज्ञानसँगै विपिनको मन पर्ने विधा थियो, गीतसङ्गीत । उहाँले गीत गाउन र गितार बजाउन मन पराउने गर्नुहुन्थ्यो । जसको कारण गितार विपिनका लागि प्रिय थियो, जुन प्रिय सामान उहाँको अन्त्येष्टिसँगै महाकाली नदीमा विसर्जन गरिएको थियो ।
हिन्दु परम्परा अनुसार विपिनका सबै सामान नदीमा विसर्जन गरिए पनि गितारलाई संरक्षण गरिएको छ । आर्यघाटमा फालिएको गितारलाई भीमदत्त नगरपालिका–११ का वडाध्यक्ष प्रकाश थापाले ल्याएर संरक्षण गर्नुभएको हो । “विपिनको बहादुरी र उहाँप्रतिको सम्मान हामी सारा नेपालीको हृदयमा छ,” थापाले भन्नुभयो, “विश्वमा ठुला खेलाडी, गायकलगायतका मनपर्ने सामान संरक्षण गरिन्छ । त्यसैले विपिनको गितार फाल्नु मलाई उपयुक्त लागेन । फालेर यसलाई नष्ट गर्नुभन्दा जगेर्ना गरेर नेपालीको मनमा, युवाहरूको मनमा उहाँप्रतिको माया जगाउनु पर्दछ र विपिनलाई सधैँ सम्झिनुका साथै उहाँको बहादुरीको कदर गर्नु पर्छ ।”
विपिनको परिवारसँग सल्लाह गरेर कुनै राम्रो ठाउँमा विपिनको फोटोको साथमा गितार स्थापना गरिने वडाध्यक्ष थापाको भनाइ छ । विपिनले इजरायलमा हमाससँग लडेर आफ्ना साथीको ज्यान बचाएदेखि उहाँप्रतिको सम्मान नेपालीको हृदयमा रहेको उहाँले उल्लेख गर्नुभयो ।