• ३ कात्तिक २०८१, शनिबार

ट्रक दुर्घटनामा चालकको मृत्यु

blog

खल्ला खोलामा दुर्घटना भएको ट्रक हेर्दै स्थानीय । तस्बिर : प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा 

कालीकोट, कात्तिक ३ गते । कालीकोटको तिलागुफा नगरपालिका–६ खल्लामा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सुर्खेतबाट समान बोकेर जुम्ला जाँदै गरेको लु १ क ३९३० नम्बरको ट्रक खल्लाको मोडबाट तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा परी चालकको मृत्यु भएको छ । 

चालकका नाम बमबहादुर खड्का भने अपुष्ट खबर छ । स्थानीय जीवन शाहीले चालक बमबहादुर खड्का भएको बताउनुभयो । ट्रकमा रहेका तीन जना घाइते भएका छन् । घाइते हुनेमा सहचालक रामबहादुर बिक, कालीकोट ठेगाना भएका आमा छोरी एकुमाया उपाध्याय र उहाँको छोरी ग्रिस्मा उपाध्याय रहेका छन् । 

जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी सहायक निरीक्षक टोपबहादुर महताराले दुर्घटनामा परी घाइते भएका तीनै जनालाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको बताउनुभयो ।