• ३ कात्तिक २०८१, शनिबार

पाथीभरामा दिनमा ६ हजार भक्तजन

blog

ताप्लेजुङस्थित पाथीभरा धाम लागेको भक्तजनको भीड ।

चन्द्र पन्दाक

ताप्लेजुङ, कात्तिक ३ गते । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा एकै दिन करिब छ हजार जना भक्तजन पुगेका छन् । शनिबार एकै दिन उक्त सङ्ख्यामा भक्तजनले पाथीभराको दर्शन गरेका हुन् । 

पाथीभरा क्षेत्र विकास समितिका अनुसार शनिबार पाँच हजार ९८३ जनाले पाथीभराको दर्शन गरेका छन् । उक्त सङ्ख्या यो मौसमकै सबैभन्दा बढी भक्तजन भएको पनि समितिले जनाएको छ । समितिका सूचना प्रविधि संयोजक सन्तोष पुर्कुटीकाअनुसार गएको असोज महिनाभरीमा पाँच हजार ९४९ जना मात्र दर्शनार्थीले पाथीभराको दर्शन गरेका थिए ।

दसैँ तिहारको अवधिलाई पाथीभरा दर्शन गर्ने मुख्य मौसम मानिन्छ । यस वर्ष मुख्य मौसम सुरु हुनासाथ असोज दोस्रो साताको अविरल वर्षाका कारण बाढीपहिराले मेची राजमार्ग तथा तमोर कोरिडोर अवरुद्ध बनाएपछि तीर्थयात्रीले आउन पाएका थिएनन् । मुख्य मौसममा पनि नवरात्रिको समयमा भक्तजन अत्यधिक भीड लाग्ने गर्दछ । यस वर्ष भने नवरात्रिको समयमा पनि पाथीभरा सुनसानजस्तै बनेको थियो ।

दसैँको अन्तिमतिर अवरुद्ध सडक सुचारु भएपछि मात्र जिल्ला बाहिरका तीर्थयात्रीहरू पाथीभरा दर्शनमा आउन थालेका थिए । पछिल्लो चार–पाँच दिन यतादेखि पाथीभरामा तीर्थयात्री आउन थालेसँगै शनिबार हालसम्मकै धेरै सङ्ख्यामा भक्तजन आएका पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जानकारी दिनुभयो । उहाँका अनुसार पाथीभरामा तीर्थयात्री आउने क्रम बढ्दै गएको छ ।

तीन हजार ७९४ मिटरको उचाइमा रहेको पाथीभरामा तिहार अर्थात् कात्तिकपछि भने चिसोका कारण तीर्थयात्रीको आउजाउ घट्ने गर्दछ । हालको मौसम अनुकूल भइदिने हुनाले यही मौसममा पाथीभरामा अत्यधिक तीर्थयात्रीको आउजाउ हुनेगर्छ । अहिले स्वदेशका विभिन्न जिल्ला र देशबाहिर भारतको सिक्किम, दार्जिलिङ, कोलकत्ता, आसाम लगायतबाट तीर्थयात्री आइरहेको समितिले जनाएको छ ।