• ३ कात्तिक २०८१, शनिबार

वैदेशिक रोजगारपछि बाख्रा पालन

blog

कृषक भविन्द्रले पालेका बाख्रा । तस्बिर : अमृतप्रसाद पौडेल

अमृतप्रसाद पौडेल

म्याग्दी, कात्तिक ३ गते । हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतको बोक्सेका ४५ वर्षीय भविन्द्र पाइजाले बाख्रा पाल्न थाल्नुभएको आठ वर्ष पूरा भयो । 

वैदेशिक रोजगारीको सिलसिलामा चार वर्ष साउदी अरब र त्यसपछि १० वर्ष दक्षिणकोरियामा बिताउनुभएका उहाँले विदेशको बसाई त्याग्दै आफ्नै थलोमा फर्केर बाख्रा पालन सुरु गर्नुभयो । त्यही पेसाबाट अहिले आफ्नो घर व्यवहार चल्नुका साथै वार्षिक रूपमा तीनदेखि पाँच लाख रुपियाँसम्म बचत गर्न सक्ने उहाँको अनुमान छ ।

वि.सं. २०६० मा वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरेबिया पुग्नु भएका भविन्द्रले चार वर्ष साउदीमै बिताउनुभयो । त्यसपछि नेपाल फर्केर २०६५ सालमा दक्षिणकोरिया जानुभएको थियो । उहाँले १० वर्ष कोरियामा बस्दा नेपालमै आफ्नो केही व्यवसाय गर्ने योजना बनाएको बताउनु थियो ।

कोरियाबाट २०७४ जेठमा नेपाल आउनु भएका उहाँले सोही साउनमा आशीर्वाद कृषि फार्म दर्ता गर्नुका साथै बाख्रापालन थाल्नु भयो । उहाँले भन्नुभयो, ‘विदेशबाट आउनासाथ आन्तरिक तयारी थालेर पहिला फर्म दर्ता गरेँ अनि बाख्रा पाल्न थालेको हो ।’

अहिले पाइजासँग १० बोखा ७ खसी तथा माउ बाख्रा र पाठापाठी गर्दा ६२ वटा छन् । बाख्रा बाँधेरै पाल्ने गरेको र आफ्नै बारीमा भएको घाँसले नै बाख्राका लागि पर्याप्त हुने भएकाले पनि अन्य खर्च समेत नहुने उहाँको भनाइ छ । यो दसैँमा एक लाख रुपियाँभन्दा बढी मूल्यको सात वटा खसीबोका बिक्री गरेको उहाँले सुनाउनुभयो । 

परिवारका सदस्यले राम्रो साथ दिएकाले बाहिरका कसैलाई पनि काममा नराखेको उहाँको भनाइ छ । परिवारकै मान्छेले सबै काम गरेको हुँदा अन्य खर्च पनि नहुने हुँदा बाख्रा पालन आफ्नो लागि फलदायी भएको पाइजाको भनाइ छ ।