• ३ कात्तिक २०८१, शनिबार

एक चिहान मञ्चन हुने

blog

अर्जुन काफ्ले

स्याङ्जा, कात्तिक ३ गते । कात्तिक ८ र ९ गते स्याङ्जा बजार र  ११ र १२ गते वालिङ बजारमा एक चिहान नाटक मञ्चन गरिने भएको छ । पोखरा थिएटरको टिमले एक चिहान गण्डकी प्रदेशका सबै जिल्लामा पुगेर यो वर्ष नाटक मञ्चन गर्ने लक्ष्यअनुरूप स्याङ्जामा प्रदर्शन गर्न लागेको थिएटरका अध्यक्ष परिवर्तनले बताउनुभयो । 

साहित्यकार हृदयचन्द्रसिंह प्रधानले लेखेको एक चिहानलाई पोखरा थिएटरका परिवर्तनले नाट्य रूपान्तरण तथा निर्देशन गर्नुभएको छ । नाटकमा परिवर्तन, रमेशबाबु तिमिल्सिना, जनक पराजुली, रोशनी रामदाम, रवीन्द्र मल्ल, उमा पुन, प्रकाश रेग्मी, रन्जु दाहाल, धनकाजी श्रेष्ठ, सनम पुन, उत्सर्ग सुवेदी, सलिना श्रेष्ठ, सिर्जना राना, पुष्पा थापा, प्रतीक घिमिरे लगायतको अभिनय रहेको छ ।

जन्म जिल्ला पनि रहेकाले पहिलो पटक नाटक मञ्चन गर्ने अवसर पाउँदा आफू निकै हर्षित बनेको परिवर्तनको भनाइ छ । जन्मथलोमा नाटक लिएर आउँदा माया मिल्ने आशा परिवर्तनको रहेको छ । 

पोखरा थिएटरको गन्धर्व नाटक घरमा गत भदौ १३ गतेबाट बुकिङ सो मार्फत उक्त नाटक मञ्चन भएको थियो । कक्षा १२ को पाठ्यक्रममा समेत समावेश रहेको यो उपन्यासका कारण नाटकमा बढी विद्यार्थीको आकर्षण देखिने गरेको छ । 

वि.सं. २०७६ को साउन महिनामा पहिलो पटक यो नाटक पोखरा थिएटरमा मञ्चन गरिएको थियो । पोखरा थिएटरका अनुसार उक्त नाटकको हालसम्म २५० पटक मञ्चन भएको र ५० हजार दर्शकले नाटक हेरिसकेका छन् ।