• २ कात्तिक २०८१, शुक्रबार

रास्वपा सभापति लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी

blog

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने

फडिन्द्र अधिकारी

लेखनाथ, कात्तिक २ गते । कास्कीको पोखरा महानगरमा रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगीबारे अनुसन्धान गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध शुक्रबार पक्राउ पुर्जी जारी भएको छ ।

कास्कीको सूर्यदर्शन सहकारीमा एक अर्ब ३५ करोड अपचलन भएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश कृष्णजंग शाहको इजलासले लामिछानेलाई पक्राउ गर्न शुक्रबार दिउँसो अनुमति दिएको हो । 

पूर्वउपप्रधान तथा गृहमन्त्री लामिछानेविरुद्ध पक्राउ पुर्जी लिन कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियासमेत अदालत पुग्नुभएको थियो ।

नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले लामिछानेविरुद्ध कारवाही सुुरु भएको उल्लेख गर्नुभयो । “सहकारीको अनुसन्धानमा कारवाही सुरु भएको हो । काम भएपछि धेरै कुरा खुलिहाल्छ ।” 

गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशकसमेत रहनुभएका लामिछानेले गितेन्द्रबाबु (जिबी) राईसँग मिलेर सहकारीको पैसा अपचलन गरेको संसदीय छानबिन विशेष समितिले निष्कर्ष निकालेको थियो । सोही अभियोगमा गोर्खा मिडिया नेटवर्कका तत्कालीन उपाध्यक्षसमेत रहनुभएका नेपाल प्रहरीका पूर्व नायब महानिरीक्षक छविलाल जोशी अहिले कास्की प्रहरीको हिरासतमा हुनुहुन्छ । उहाँ असोज ६ गते पक्राउ पर्नुभएको थियो । 

सिआइबीको टोली रास्वपा कार्यालयमा 

कास्की अदालतबाट पक्राउ गर्ने अनुमति पाएसँगै नेपाल प्रहरी केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) को टोली राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालय बनस्थली काठमाडौंमा पुगेको छ । 

सिआइबीका प्रहरी उपरीक्षक होविन्द्र बोगटीको नेतृत्वको टोली केहीबेर अघि कार्यालयमा प्रवेश गरेको छ ।