• २ कात्तिक २०८१, शुक्रबार

८६ वर्षीया वृद्धा हत्याको आरोपमा एक युवा पक्राउ

blog

मुरारी अधिकारी

धादिङ, कात्तिक २ गते । धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर ६ सिम्लेमा ८६ वर्षीया वृद्धाको हत्या भएको छ ।  बुधवार राति अन्दाजी ११ बजे तिर ८६ वर्षीया सुन्तलीमाया घलेको हत्या भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख डिएसपी  डिल्लीनारायण पाण्डेले जानकारी दिनुभएको छ । 

हत्या भएको खबर लगत्तै पाण्डेले आफ्नै नेतृत्वमा प्रहरी परिचालन गरी हत्यामा संलग्नलाई खोजेका थिए । हत्या गरेको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । नीलकण्ठ नगरपालिका वडा नम्बर–८ को मैदी भन्ज्याङबाट भाग्दै गरेको अवस्थामा बिहीबार बिहान गोर्खा आरुघाट गाउँपालिका निवासी २९ वर्षीय विजय श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।

गोर्खाबाट धादिङको सिद्धलेक गाउँपालिकास्थित सिम्लेमा आफन्तको घरमा गएको बेला छिमेकी सुन्तलीमायालाई राति आफन्त लालबहादुर घलेको बारीमा लगी हत्या गरेर छाडिदिएको प्रारम्भिक बयानमा विजयले  बताएको प्रहरीले जानकारी दिएको छ ।

हत्याको कारण भने खुल्न सकेको छैन । युवकलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गजुरीमा राखिएको छ ।