• २ कात्तिक २०८१, शुक्रबार

बिरुवा उत्पादनका लागि स्रोत केन्द्र

blog

मदाने गाउँपालिकाको भनभने टिमुरखर्कमा स्थापना गरिएको सुन्तलाको स्रोत केन्द्र । तस्बिर : रमेश विश्वकर्मा

गुल्मी समाचारदाता

गुल्मी, कात्तिक २ गते । सुन्तलाको गुणस्तरीय बिरुवा उत्पादनसँगै बिरुवामा गुल्मीलाई आत्मनिर्भर बनाउन विभिन्न स्थानमा स्रोत केन्द्र स्थापना गरिएको छ ।  जिल्लाका विभिन्न स्थानमा कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सुन्तलाको बिरुवा उत्पादनका लागि स्रोत केन्द्र अर्थात् नर्सरी स्थापना गरेको हो । गुणस्तरीय बिरुवा उत्पादन गर्न जालीघर निर्माण गर्ने कार्यक्रम अनुसार सुन्तलाको स्रोत केन्द्र स्थापना गरिएको छ । 

गुल्मीमा हालसम्म निर्माण गरिएका स्रोत केन्द्रका संरचनामध्ये सबैभन्दा ठुलो क्षमताको मदाने गाउँपालिका–७, भनभने टिमुरखर्कमा रहेको कृषि ज्ञान केन्द्र गुल्मीका कार्यालय प्रमुख नवराज भण्डारीले बताउनुभयो । ५० हजार सुन्तलाको बिरुवा उत्पादन गर्ने क्षमताको यस संरचना ७५ प्रतिशत कृषि ज्ञान केन्द्र र २५ प्रतिशत स्वयं कृषकको लगानीमा कुल आठ लाख ४८ हजार रुपियाँमा सामुदायिक नर्सरी भनेर स्थापना गरिएको हो । जिल्लाको छत्रकोट गाउँपालिकाको रुक्से, धुर्कोट गाउँपालिकाको नयाँगाउँ, रेसुङ्गा नगरपालिकाको भाडगाउँलगायतका विभिन्न स्थानमा सुन्तलाको गुणस्तरीय बिरुवा उत्पादनका लागि स्रोत केन्द्र अर्थात् नर्सरी पहिल्यै स्थापना गरिएको छ । 

जिल्लामा निर्माण भएका स्रोत केन्द्रको क्षमता अनुसार बिरुवा उत्पादन गर्न सकिए बाहिरबाट बिरुवा ल्याउन नपर्ने भन्दै कार्यालय प्रमुख भण्डारीले सुन्तलाको बिरुवा राम्रो उत्पादन भएमा छिमेकी तथा अन्य जिल्लामा समेत निर्यात गर्न सकिने बताउनुभयो । 

गुल्मीमा प्रत्येक वर्ष ८० हजार सुन्तलाको बिरुवा आवश्यक पर्ने कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ । स्थानीय तह, कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र अन्य विभिन्न सङ्घसंस्थाबाट सञ्चालित कार्यक्रमका लागि ८० हजार बिरुवा आवश्यक पर्ने देखिएको छ । सुन्तला बाली गुल्मीको महत्वपूर्ण बाली भएको हुँदा यहाँका स्थानीय तहले अभियानका रूपमा सुन्तलाका बिरुवा लगाएका छन् । जिल्लाबाट आव २०८०/८१ मा १२ करोड ८४ लाख रुपियाँको सुन्तला निर्यात गरिएको थियो । १० वर्षपछि एक अर्ब रुपियाँ बराबरको सुन्तला निर्यात गर्न सकिने लक्ष्य राखिएको कृषि ज्ञान केन्द्र गुल्मीका कार्यालय प्रमुख भण्डारीले बताउनुभयो ।