• २ कात्तिक २०८१, शुक्रबार

बाढीका कारण धान उत्पादनमा कमी आउने आकलन

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक २ गते । अविरल वर्षाका कारण आएको बाढीले कृषि क्षेत्रमा क्षति पुर्‍याउँदा उत्पादनमा कमी आउने आकलन कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गरेको छ । बाढीका कारण सबैभन्दा क्षति कृषि क्षेत्रमा भएको छ । कृषि मन्त्रालयले गराएको जानकारी अनुसार करिब छ अर्बको क्षति कृषिमा भएको छ । त्यसमध्ये सबभन्दा बढी धानमा भएको छ । यो क्षतिका कारण धान उत्पादनमा ह्रास आउने सम्भावना देखिएको कृषि मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले बताउनुभयो । 

कृषि मन्त्रालयका अनुसार ५८ हजार ४७६ हेक्टर क्षेत्रफलको धानबाली नष्ट भएको छ; जसमा तीन अर्ब ५० करोड रुपियाँ बराबरको धानबाली नष्ट भएको छ । सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपुर, बागलुङ, खोटाङ, झापा, कैलाली, लमजुङ, पर्वत, कास्की, स्याङ्जा, सिन्धुली, मकवानपुर, काभ्रेलगायतका क्षेत्रमा धानबाली नष्ट भएको कृषि मन्त्रालयले जनाएको छ । 

यो वर्ष १३ लाख ९८ हजार ९८५.७३ हेक्टरमध्ये ९८.५ प्रतिशत धान रोपाइँ भएको थियो अर्थात् १३ लाख ७८ हजार ६११.२ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको थियो । विगतभन्दा धान रोपाइँ बढी भएको थियो । धान पनि राम्रै सप्रेको थियो । त्यसैले धान उत्पादनमा वृद्धि हुने अनुमान कृषि मन्त्रालयले गरेको थियो तर बाढीले धानमा पुर्‍याएको क्षतिले उत्पादनमा केही ह्रास आउने बताइएको छ । 

गत वर्ष ५७ लाख २४ हजार २३४ मेट्रिक टन धान उत्पादन भएको थियो । यस पटक कम्तीमा ६० लाख मेट्रिक टन धान उत्पादन गर्ने लक्ष्य राखिएको थियो । धानमा पुर्‍याएको क्षतिले भने लक्ष्यमा पुग्न गाह्रो हुने देखिएको कृषि मन्त्रालयले जनाएको छ । 

विगत चार पाँच वर्षदेखि धान उत्पादनमा वृद्धि हुँदै आइरहेको थियो । यस पटक ६० लाख मेट्रिक टनभन्दा बढी धान उत्पादन हुने आकलन कृषि मन्त्रालयको थियो । धान उत्पादनका लागि कृषि मन्त्रालयले उन्नत बिउका साथै मलखाद र सिँचाइमा विशेष ध्यान दिएको थियो । विगतका वर्षहरू जस्तो यसपालि मलखाद तथा सिँचाइ अभाव खासै नभएका कारण उत्पादन वृद्धि हुने निश्चित थियो ।