• २ कात्तिक २०८१, शुक्रबार

चिसो बढ्यो, बालबालिकालाई यसरी जोगाउनुस्

blog

काठमाडौँ, कात्तिक २ गते । मौसम परिवर्तनसँगै विभिन्न सङ्क्रमणजन्य तथा श्वासप्रश्वाससम्बन्धी समस्या देखिने गर्छ । पछिल्लो सयम कान्ति बाल अस्पतालमा विभिन्न स्वास्थ्य समस्या भएर आउने बालबालिकाको सङ्ख्या बढ्दै गएको छ । 

अस्पतालका सूचना अधिकृत रमेश नर्सिङ केसीले अस्पतालमा डेंगु र निमोनियाका बिरामीको सङ्ख्या बढिरहेको जानकारी दिनुभयो । हाल अस्पतालमा १४ जना डेंगुका बिरामी अस्पतालमा उपचाररत छन् । जसमध्ये दुई जना आइसियु र एक जनाको मेसिनको माध्यमबाट उपचार भैरहेको उहाँले बताउनुभयो । सन् २०२४ यता अस्पतालमा ७४ जनामा डेंगुका बिरामीको उपचार भइसकेको छ । 

चाडवाडको बेलामा हरेक वर्ष बिरामी बढ्ने सूचना अधिकृत केसी बताउनुहुन्छ । उहाँका अनुसार अस्पतालमा ओपिडीमा दैनिक पाँच सयको हाराहारीमा बिरामी आउने जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो,“अस्पतालको ओपिडीबाट पाँच सयको हाराहारीमा बिरामीले सेवा लिने गर्दछन् । चाडवाडको र मौसम परिवर्तन हुने समयमा अघिपछिको तुलनमा बिरामी बढी आउने गर्छन् ।” 

 अस्पतालका बालरोग विशेषज्ञ डा. रामहरि चापगाईं मौसम परिवर्तनसँगै बालबालिकामा  रुघाखोकी, ज्वरो, जण्डिस, झाडापखला, निमोनिया, टाइफाइड, दमलगायतका श्वासप्रवासको समस्या, छालाको सङ्क्रमण जस्ता स्वास्थ्य समस्या बढी देखिने बताउनुहुन्छ । 

 हाल अस्पतालको ओपिडीमा निमोनिया र डेंगुका बिरामी ह्वात्तै बढेको जानकारी दिनुभयो । उहाँ भन्नुहुन्छ,“अस्पतालमा रुघा, खोकी, ज्वरो आएर आउने अधिकांश बिरामीलाई जाँच गर्दा निमोनिया र डेंगु पुष्टि भएको छ ।” 

सङ्क्रमणजन्य स्वास्थ्य समस्या देखिएमा तुरुन्तै औषधी किनेर नखान डा.चापागाईले आग्रह गर्नुभयो । उहाँ भन्नुहुन्छ,“भाइरसजन्य सङ्क्रमण हुनासाथ औषधी किनेर खाइहाल्नु हुँदैन । यस्तो समस्या घरमा नै मनतातो पानी, झोलिलो खानेकुरा, नुनपानी, बेसार पकाएर खान दिएर निको बनाउन सकिन्छ ।” 

समस्या बढ्दै गएमा चिकित्सकको परामर्शमा औषधी खुवाउन डा.चापागाईंको सुझाव छ ।  उहाँ भन्नुहुन्छ,“बालबालिकालाई ज्वरो घटेन, सास फेर्न गाह्रो हुने जस्ता श्वाप्रश्वासमा समस्या देखिएमा तुरुन्त अस्पतालमा लैजानुपर्छ ।”बालबालिकालाई सङ्क्रमणजन्य रोगबाट बचाउन सरसफाइमा ध्यान दिन उहाँले आग्रह गर्नुभयो । उहाँ भन्नुहुन्छ,“बालबालिकालाई सङ्क्रमणजन्य रोगबाट बचाउन सरसफाइमा ध्यान दिनुपर्छ । बेला बेलामा ताजा झोलिलो खानेकुरा प्रशस्त मात्रामा खुवाउने, मौसमी फलफूल राम्रोसँग सफा गरेर खान दिने गर्नुपर्छ ।”

 उहाँका अनुसार यस्तो मौसममा बालबालिकालाई बिरामी हुन नदिन सरसफाइका साथै बालबालिकालाई न्यानो पारेर राख्न आवश्यक  छ । 

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।