• १ कात्तिक २०८१, बिहिबार

निजी सङ्कलनको दुध नलिने निर्णयपछि डिडिसी केन्द्रमा तालाबन्दी

blog

डिडिसीको बनेपा केन्द्रमा लगाइएको ताला। तस्बिर : केदार तिमल्सिना

केदार तिमल्सिना 

बनेपा, कात्तिक १ गते। दुग्ध विकास संस्थान (डिडिसी) ले बिहीबारदेखि निजी संस्था/फर्म तथा निजी डेरीबाट सङ्कलन भएको दुध नलिने निर्णय गरेपछि काभ्रेपलाञ्चोक जिल्लामा रहेका निजी डेरी तथा फर्म सञ्चालकले डिडिसी बनेपा सङ्कलन केन्द्रमा तालाबन्दी गरेका छन्। 

डिडिसीले आफूहरुलाई कुनै जानकारी नै नदिई पाँच महिनासम्मको दुधको भुक्तानी नदिई दुध नलिने निर्णय गरेका कारण आफूहरु बाध्य भएर तालाबन्दी गर्नु परेको निजी डेरी फर्म सञ्चालकले जनाएका छन्। 

माता मनकामना दुग्ध डेरी तथा ढकाल गणेश भैँसी फार्मका सञ्चालक कुमार तिमल्सिनाले आफूले पाँच महिनाको दुधको भुक्तानी नदिई विना जानकारी कात्तिक १ गतेबाट दुध नलिने निर्णयको सर्कुलर जारी गरेका कारण आफूले बाध्य भएर तालाबन्दी गर्नुपरेको बताउनुभयो। 

उहाँले डिडिसीले भुक्तानी गर्नुपर्ने रकम अविलम्ब दिनुपर्ने र हाल निजी फर्मबाट सङ्कलन भएर आएको दुध लिनुपर्ने आफूहरुको माग रहेको बताउनुभयो। उहाँले आफूहरुको माग पुरा नभएसम्म डिडिसी बनेपा सङ्कलन केन्द्रमा लागेको ताला नखोल्ने बताउनुभयो। उहाँले डिडिसीले जिल्लामा रहेका किसानको लागि करोडौँ रुपियाँ भुक्तानी गर्न बाँकी रहेको बताउनुभयो। 

दुग्ध विकास संस्थानका महाप्रबन्धक डा. सूर्यप्रसाद पौडेलको अध्यक्षतामा असोज १५ गते बसेको उच्च व्यवस्थापन समितिको बैठकले नेपाल सरकारको नियमानुसार दर्ता भएर सञ्चालनमा रहेका सरकारी संस्था तथा सरकारी फर्मबाट सङ्कलन भएको कच्चा दुध सङ्कलन गर्ने निर्णय गरेको थियो। 

बैठकले नेपाल सरकारको नियमानुसार दर्ता भएर प्राथमिक उत्पादक रहेका पशु फार्मबाट दुध सङ्कलन गर्नुपरेको अवस्थामा आयोजनाले फर्मको निवेदन लिई निजको दर्ता प्रमाणपत्र राखि फर्मको साइज, उत्पादन परिमाण तथा संस्थानलाई उपलब्ध गराउने दुधको परिमाण यकिन गरेर केन्द्रीय कार्यलयबाट स्वीकृति लिएर मात्र दुध संकलन गर्ने निर्णय गरेको थियो। 

दुग्ध विकास संस्थान बनेपा सङ्कलन केन्द्रका प्रमुख किशोर सिंहले संस्थानले निजी फर्म तथा सङ्कलकले सङ्कलन गरेको दुध नलिने निर्णय गरेपछि निजी सङ्कलन आन्दोलित बनी सङ्कलन केन्द्रमा तालाबन्दी गरेको बताउनुभयो। उहाँले तालबन्दीमा उत्रिएका निजी फर्म तथा दूध सङ्कलनको मागको विषयमा छलफल गर्नका लागि शुक्रबार ११ बजेको लागि केन्द्रीय कार्यालयमा समय मिलाइएको बताउनुभयो।