• ३० असोज २०८१, बुधबार

ताप्लेजुङमा उत्कृष्ट प्रहरी पुरस्कृत

blog

६९ औँ प्रहरी दिवसको अवसरमा सम्मानित व्यक्तित्व लगायत ।

चन्द्र पन्दाक

ताप्लेजुङ, असोज ३० गते । ताप्लेजुङ जिल्लामा कार्यरत उत्कृष्ट प्रहरीलाई पुरस्कृत गरिएको छ । बुधबार ६९ औँ प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालयले उत्कृष्ट काम गर्ने प्रहरी लगायतलाई पुरस्कृत तथा सम्मान गरेको हो ।

ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रवि रावलका अनुसार दिवसको अवसरमा असोज महिनाको उत्कृष्ट प्रहरी कर्मचारीको रूपमा जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक विवेक बस्नेत पुरस्कृत हुनुभएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारीको जिम्मेवारीसमेत बहन गर्दै आउनुभएका बस्नेत उत्कृष्ट प्रहरी कर्मचारीका रूपमा पुरस्कृत हुनुभएको हो ।

यस्तै उत्कृष्ट कार्य सम्पादन गरेको मूल्याङ्कनसहित जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) हेमनारायण यादव, प्रहरी हवल्दार वेदबहादुर श्रेष्ठ र अनु भुजेल, प्रहरी सहायक हवल्दार प्रमोद निरौला पुरस्कृत हुनुभएको छ । प्रहरी जवानहरू मिनाकुमारी आङ्देम्बे, सपना सुनार, मुकेश चौधरी, पुष्पनारायण अधिकारी, विशाल तामाङ र प्रहरी कार्यालयका कर्मचारी मुक्ति केदेमलाई पुरस्कृत हुनुभएको प्रनाउ रावलले जानकारी दिनुभयो ।

यसैगरी ६९ औँ प्रहरी दिवसको अवसरमा आयोजित ब्याडमिन्टन प्रतियोगितामा डबलतर्फ प्रथम हुने प्रहरी सहायक हवल्दार विनोद कन्दङवा र अर्जुन राई तथा द्वितीय हुने प्रहरी वरिष्ठ हवल्दार सन्तोषकुमार तामाङ र प्रहरी जवान दीपेन्द्र राईको जोडीलाई कप, पदक र प्रमाणपत्र वितरण गरिएको छ । अमर प्रहरी अर्थात् सहिद परिवारका सदस्य रामकुमारी सुब्बा थापा र आइतरानी लिम्बूलाई दोसल्ला ओढाएर सम्मान गरिएको पनि जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शान्ति सुरक्षा कायम राख्नमा सहयोग गर्ने निकाय तथा सामाजिक व्यक्तित्वलाई समेत प्रहरीले सम्मान गरेको छ ।