• २ कात्तिक २०८१, शुक्रबार

साबिक लयमा जनजीवन

blog

महान् चाड दसैँ सम्पन्न हुँदै छ । कोजाग्रत पूर्णिमाअगावै दसैँ बिदा सम्पन्न भएपछि मङ्गलबारदेखि जनजीवन लयमा फर्किन थालेको छ । मङ्गलबारदेखि सरकारी कार्यालय खुलेका छन् तर परिस्थितिले चहलपहल भने अति सामान्य देखिएको छ । दसैँ मनाउन सहर छोडेर गाउँ फर्केका सर्वसाधारण फर्किने व्रmममा छन् तर जान असहज भए जस्तै फर्कन पनि सहज छैन । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार दसैँमा यस वर्ष काठमाडौँ उपत्यका छोड्नेको सङ्ख्या करिब १३ लाख हो । सोही सङ्ख्यामा मानिस काठमाडौँ फर्किने अनुमान गरिएको छ । अघिल्लो वर्ष दसैँमा १८ लाख मानिस काठमाडौँबाट बाहिरिएका थिए । दसैँअघिको विपत्तिले धेरैलाई अत्यायो । आवागमन अघिल्ला वर्ष जस्तो नहुनु स्वाभाविक नै मान्नु पर्छ । त्यसमा पनि धेरैले हवाई यात्रा रोज्नैपर्ने बाध्यता आइप¥यो । त्यसको दबाब विमानस्थल र विमान सेवामा परेको स्पष्टै देखिन्थ्यो ।

दसैँको पूर्वसन्ध्यामा आएको भीषण बाढीले काठमाडौँसहित देशका अधिकांश स्थललाई नराम्ररी प्रभावित बनायो तर विगतमा जसरी यस वर्ष वर्षा झरीले दसैँलाई खल्लो बनाएन । दसैँपूर्वको बाढीको परिणामस्वरूप काठमाडौँ–नारायणगढ (पृथ्वी राजमार्ग) र बर्दीबास–धुलिखेल (बिपी राजमार्ग) अवरुद्ध हुन पुग्यो । वर्षमा एक पटक दसैँमा मात्र घर फर्किने योजना बनाएका हजारौँ सर्वसाधारण सडककै दुरवस्थाले यस पटक घर फर्किन पाएनन् । फर्किएकाले जोखिम मोलेर यात्रा गर्न बाध्य भए । राजधानी सहरमै दसैँ मनाउन बाध्य भए । अझै पूर्वरत सडक सञ्चालन हुन सकेको छैन । बिपी राजमार्ग अवरुद्ध हुँदा पृथ्वी राजमार्गमा सवारीसाधनको दबाब बढेको छ । सो राजमार्गमा दबाब बढ्दा यात्रा पूरा गर्न नियमितभन्दा बढी समय खर्चिनु परेको छ । दसैँको उत्तरार्धतिर बिपी राजमार्ग सञ्चालनमा आएको छ । जसले केही हदसम्म पृथ्वी राजमार्गको दबाबलाई कम गरेको छ । 

काठमाडौँलाई पूर्वी जिल्ला जोड्ने बिपी राजमार्ग अवरुद्ध भएको १४ दिनपछि गत शुव्रmबारदेखि एकतर्फी सञ्चालनमा आयो । यसले दसैँको आवागमनलाई प्रभावित बनायो । काभ्रेको रोसी गाउँपालिका–९, मङ्गलटारमा डाइभर्सन बनाएसँगै यातायात सञ्चालन भएको हो । नमोबुद्ध नगरपालिका–६ र रोसी–७ को सीमास्थल चौकीडाँडामा बगाएको करिब दुई सय मिटर सडकमा ग्राभेल राखेपछि अस्थायी रूपमा सञ्चालनमा आएको छ । सडकको अवस्था अझै जोखिमपूर्ण छ । तिहार र छठ जस्ता महान् पर्व अझै बाँकी छन् । सो पर्व आवाजतजावात गर्ने यात्रुलाई सहज बनाउन सम्बन्धित निकायले समयमै पहलकदमी लिनु पर्छ ।  

सामान्य पानी परेर नदीको सतह बढेपछि सडक पुनः अवरुद्ध हुने सम्भावना छ । सडक विभागले सो सडकखण्ड पुरानै अवस्थामा फर्काउन र सो क्षेत्रका स्थानीयसँगै काठमाडौँलाई पूर्वी नेपालसँग जोड्ने छोटो दुरीको एक मात्रै राजमार्गलाई नियमित बनाउनतिर लाग्नु पर्छ । अवरुद्ध सडक सञ्चालन गर्न अस्थायी संरचना निर्माण 

गरिएका छन् । यसलाई विस्थापित गर्न सक्दो छिटो अध्ययन सकेर दीर्घकालीन योजनाका साथ निर्माणमा जुटनुपर्ने हो । वर्षायाम सकिएकाले यो समयलाई निर्माणको अवसरका रूपमा लिनु पर्छ । 

बाढीले सडक सञ्जाल विक्षिप्त बनाउँदा त्यसको असर उपभोग्य बजारमा समेत देखियो । हुन त अघिल्ला वर्षमा समेत चाडपर्वको मुखमै उपभोग्य सामग्रीको मूल्य आकासिएको अनुभव सबैसँग छ तर यस पटक बाढीले उपभोग्य बजारलाई अझै बढी महँगो बनायो । खाद्यवस्तु, सागसब्जी र उपभोग्य सामग्रीको मूल्य अचाक्ली बढेको गुनासो देखियो । बजारभाउ नियन्त्रण गर्ने निकाय काम गरिरहेका भए पनि प्रतिफल चाहे जस्तो देखिएन । बजार मूल्यमा एकरूपता नभएको दसैँका बेला मात्रै होइन, वर्षभरि नै हो । नियन्त्रण गर्न स्थानीय प्रशासन, पालिका र स्वयम् विभागले पहलकदमी लिनुपर्ने हो । बजार अनुगमन चाडबाडलक्षित मात्रै हुने गरेको छ तर नियमित देखिएको छैन, यसलाई नियमित गर्नु पर्छ । 

दसैँपछि सरकारी कार्यालयमा विभिन्न पेसा, व्यवसाय गर्न सहर छिरेका सर्वसाधारण काठमाडौँ फर्कंदै छन् । सरकारी अड्डा र अन्य सेवा क्षेत्रमा सेवा प्रवाह द्रुत बनाउन केही समय लाग्न सक्छ । कतिपयले त तिहार र छठसम्म लम्बिन सक्ला पनि भन्लान् तर नागरिकले पाउने सेवालाई प्रभावकारी बनाउनै पर्छ । सेवा दिनेले पुनर्ताजगी भएर नयाँ ऊर्जाका साथ काम गर्नु पर्छ । चाडपर्वमा बिदा दिइने मूल ध्येय आफन्तकहाँ पुग्ने र घरपरिवारका सदस्यसँग केही समय बिताउनलाई हो । यसले नियमित कामकाज गर्नेलाई राहत दिन्छ । तसर्थ सेवाप्रदायकले बिदा सकिएपछि सर्वसाधारणमा सकारात्मक सन्देशको सञ्चार गर्ने गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउने गरी कामको थालनी गर्नु पर्छ ।