• ३० असोज २०८१, बुधबार

दुई दिनदेखि मन्थली-लुक्ला उडान ठप्प

blog

खराब मौसमका कारण उडान हुन नसकेपछि मन्थली विमानस्थलमा रोकिएका विमानहरु ।

नवराज श्रेष्ठ

रामेछाप, असोज २९ गते । खराब मौसमका कारण दुई दिनदेखि मन्थली–लुक्ला उडान ठप्प भएको छ । सोलुखुम्बुको खुम्बु क्षेत्रमा मौसम बिग्रिएपछि सोमबारदेखि मन्थली-लुक्ला उडान ठप्प हुँदा सगरमाथा क्षेत्रको भ्रमणका लागि मन्थली आएका पर्यटकहरू समस्यामा परेका छन् ।  

गत शनिवारबाट मौसम खुलेपछि सुरु भएको उडान फेरी मौसम बिग्रिएपछि सोमबारबाट अवरुद्ध भएको नागरिक उड्डयन प्राधिकरण मन्थलीका उप–प्रबन्धक हिरण्य साहले बताउनुभयो । उहाँले भन्नुभयो, “सोलुखुम्बुको खुम्बु क्षेत्रमा मौसम बिग्रिएको छ । जसका कारण गत सोमबारदेखि मन्थली– लुक्ला उडान हुन सकेको छैन । मन्थली–काठमाडौँ भने सेडुल अनुसारका उडानहरू भइरहेका छन् ।”

सरकारले सगरमाथा क्षेत्र भ्रमणमा आएका विदेशी पर्यटकलाई रामेछापको मन्थली विमानस्थलबाट लुक्ला पुर्‍याउने र ल्याउने व्यवस्था गरेको छ । नागरिक उड्डयन प्राधिकरणले (वसन्त ऋतु) को चैतदेखि जेठ महिनासम्म र (शरद ऋतु) को असोज पहिलो सातादेखि मङ्सिरको १५ सम्म मन्थली विमानस्थलबाट लुक्ला पर्यटक लैजाने र ल्याउने व्यवस्था गरेको छ ।

यो वर्षको शरद ऋतुको सिजन सुरु भएपछि पटक पटक मौसम बिग्रिएपछि सगरमाथा क्षेत्र भ्रमणका लागि मन्थली आएका पर्यटकहरूलाई समस्या भएको छ । असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाका र त्यसपछि पटक पटक मौसममा आएको खराबीले सगरमाथा क्षेत्र घुम्न भनी आएका पर्यटक प्रभावित भएका छन् । मौसम खराबीकै कारण असोज २३ गतेदेखि तीन दिनसम्म मन्थली– लुक्ला उडान ठप्प भएको थियो । 

नागरिक उड्डयन प्राधिकरण मन्थलीका अनुसार मन्थली विमान स्थललाई प्रयोग गरी सीता, तारा र समिट एयरका जहाजहरूले सगरमाथा क्षेत्रको भ्रमणमा आएका विदेशी पर्यटकलाई लुक्ला पुर्‍याउने र ल्याउने गरिरहेका छन् । एउटा उडानमार्फत १४ देखि १८ जनासम्म पर्यटक मन्थली विमानस्थलबाट लुक्ला पुग्ने गरेका छन् । बिहानदेखि बेलुकासम्म मौसम खुलेको समयमा एक दिनमा ६० वटासम्म मन्थली-लुक्ला उडान हुने गरेको नागरिक उड्डयन प्राधिकरण मन्थलीका उप–प्रबन्धक साहले बताउनुभयो ।