• १३ पुस २०८१, शनिबार

धुर्कोटमा मतगणना अनिश्चित

blog

तम्घास, वैशाख ३१ गते । गुल्मीको धुर्कोट गाउँपालिका–४ जैसीथोकमा नेपाली कांग्रेस वडाध्यक्षका उम्मेदवार गोपाल थापामाथि हातपात भएपछि मतगणना अनिश्चित भएको छ ।

जिल्लाका अन्य पालिकामा मतगणना चलिरहँदा धुर्कोटमा भने सर्वदलीय बैठक पनि बस्न सकेको छैन । शुक्रबार साँझ करिब ९ बजे पालिका केन्द्र बर्बोटमा माओवादी–एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा वडाध्यक्षका उम्मेदवार थापा घाइते हुनुभएको थियो ।

झडपमा थापासँगै जैसीथोकका निरञ्जन कुँवर र सञ्जय नेपाली पनि घाइते हुनुभएको छ । घाइतेको गुल्मी जिल्ला अस्पतालमा उपचारपछि थप उपचारका लागि बुटबल पठाइएको  छ । झडपमा सहभागी धुर्कोट रजस्थलका पाँच र गुल्मी दरबार गाउँपालिकाका एक गरी छ जनालाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरी उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिनुभयो ।

निर्वाचन अधिकृत मुना पौडेलका अनुसार सर्वदलीय बैठक पनि सुरु हुन सकेको छैन । मुजुल्कामा हस्ताक्षर गरेका दलहरुबीचमा सर्वदलीय बैठक राख्नुपर्ने भए पनि कांग्रेसबाट प्रतिनिधि नआउँदा बैठक बस्न नसकेको उहाँले जानकारी दिनुभयो । अहिले सर्वदलीय बैठकको प्रयास भइरहेको बताइएको छ ।