• २८ असोज २०८१, सोमबार

अरनिको राजमार्गमा खसेको पहिरो पन्छाउन चुनौती

blog

अरनिको राजमार्ग अन्तर्गत पाँचखाल नगरपालिका ८ मा खसेको सुख्खा पहिरो पन्छाइँदै । तस्बिर सौजज्यः किशोरकुमार बुढाथोकी

केदार तिमल्सिना 

बनेपा, असोज २८ गते । पहिरोका कारण एकतर्फी (वान वे) सडक सन्चालन भएको अरनिको राजमार्ग अन्तर्गतको ५० किलो सडक खण्डमा पहिरो पन्छाउन समस्या भएको छ । शनिबार रातिदेखि अरनिको राजमार्ग अन्तर्गत पाँचखाल नगरपालिका-८, को ५० किलोमा सडकमाथिबाट खसेको सुख्खा पहिरोका कारण राजमार्ग अवरुद्ध बनेको थियोे । 

शनिबार राति आएको सुख्खा पहिरोले राजमार्ग अवरुद्ध बनेपछि नेपाल प्रहरीको सक्रियतामा सडक विभाग र स्थानीय तहको समन्वयमा सडक एकतर्फी रुपमा सन्चालनमा ल्याइएको थियो । आइतबार मध्याह्नबाट सडक सन्चालनमा आए पनि सोमबार बिहान ७ः४५ बजेबाट सडकलाई दुईतर्फी सन्चालन गर्नका लागि पहिरो पन्छाउने काम सुरु गरिए पनि माथि अड्केर बसेको माटो तथा रुख खस्न थालेपछि सडक पन्छाउने काममा सकस भएको प्रहरी चौकी पाँचखालका इन्चार्ज प्रहरी निरीक्षक किशोरकुमार बुढाथोकीले बताउनुभयो । 

आज बिहानैदेखि पहिरो पन्छाउन एउटा जेसिबी प्रयोग गरिरहेका छौं, पहिरो पन्छाउनेक्रममा माथि जम्मा भएको माटो र रुख आएर काम गर्न समस्या उत्पन्न भएको छ । राजमार्गमा सवारीको चाप बढेका कारण गाडी रोकेर एउटा मेसिनले मात्र काम गर्दा ढिलाइ भएको छ, प्रहरी निरीक्षक बुढाथोकीले भन्नुभयो । उहाँले पाँचखालमा ठूलो डोजर नभएका कारण पनि पहिरो पन्छाउन समस्या भएको बताउनुभयो ।