• २६ असोज २०८१, शनिबार

झोलुङ्गे पुलबाट हाम्फालेर एकको मृत्यु

blog

फाइल तस्बिर ।

राजु लामिछाने

रुकुमपश्चिम, असोज २६ गते । रुकुमपश्चिमको मुसीकोट नगरपालिका १ मा रहेको झोलुङ्गे पुलबाट हाम्फालेका एक जनाको घटनास्थलमै मृत्यु भएको छ । आज शनिबार दिउँसो ४ बजे वडा नम्वर १ को मठदेखि सल्ले जोड्ने झोलुङगे पुलबाट हाम फाल्दा एक युवकको मृत्यु भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार घटनास्थल नजिकै एक रातो ज्याकेट रहेको त्यस ज्याकेटमा मुसीकोट नगरपालिका १ का ३७ वर्षीय बुद्धिराम बोहराको नागरिकता फेला परेको छ । प्रारम्भिक रुपमा मृतक बोहरा नै रहेको अनुमान गरिएको र उहाँको परिवारका सदस्यहरुलाई घटनास्थलमा बोलाईएको उहाँले जानकारी दिनुभयो । 

घटनास्थलमा रहनुभएका प्रहरी निरीक्षक पाठकले अग्लो पुलबाट हाम्फालेर तल रहेको ढुंगामा परेको कारण शव रक्ताम्य रहेको बताउनुभयो । आफन्त आएमा शव पहिचान गर्ने र आवश्यक कानूनी प्रक्रिया पुरा गरेर पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्लेमा लिने तयारी प्रहरीको रहेको छ ।