• २६ असोज २०८१, शनिबार

बाँकेमा दुई करोड बढीका दुर्गा मूर्तिहरु प्रतिष्ठापन

blog

नेपालगन्जमा प्रतिष्ठापन गरिएका दुर्गाका मूर्तिहरु मध्येको एक । तस्बिर : सिराज खान

सिराज खान

नेपालगन्ज, असोज २६ गते । बाँकेमा यस वर्ष दसैँको अवसरमा जिल्लाका विभिन्न स्थानमा दुई करोड रुपियाँ भन्दा बढीका दुर्गा भवानीका मूर्तिहरु प्रतिष्ठापन गरिएका छन् । 

घटस्थापनाको दिन र पछिल्लो दिन गरि जिल्लामा चार सय बढि दुर्गाभवानीका मूर्ति प्रतिष्ठापन गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले बताउनुभयो । उहाँले सवैभन्दा धेरै नेपालगन्ज नगरमा मात्रै करिब २५० दुर्गा मूर्ति प्रतिष्ठापन गरिएको जनाउनुभयो ।

नेपालगन्जका टोल टोल, गल्ली गल्ली र चोक तथा सडकमा गरेर २५० भन्दा बढी दुर्गा मूर्ति राखिएको एसपी कार्कीको भनाइ छ । उहाँले थप्नुभयो–‘नेपालगन्जको अधिकांश गल्ली र चोकमा ठुलो संख्यामा दुर्गा मूर्ति प्रतिष्ठापन भएको देखिन्छ, सहरमा मात्रै २५० बढी मूर्ति राखिएको छ ।’ 

बाँकेमा दुई करोड बढि रुपियाँको दुर्गा मूर्ति प्रतिष्ठान गरिएको अनुमान रहेको प्रहरीले जनाएको छ । यहाँ ४० देखि ८० हजार मूल्यका मूर्तिहरु प्रतिष्ठापन गरिएका छन् । एउटा मूर्तिको सरदर ५० हजार रुपियाँमात्र जोड्ने हो भने पनि बाँकेमा दुई करोड भन्दा बढी रुपियाँ मूर्तिमा खर्च भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । 

जिल्लाको नेपालगन्ज, खजुरा, कोहलपुर र राँझा लगायत गाउँ गाउँमा राखिएका दुर्गा मूर्तिहरु नेपालगन्ज र केहि भारतीय सीमा बजार रुपइडिहाबाट ल्याइएको जनाईएको छ । नेपालमा महंगो पर्ने र राम्रो नहुने भएको भन्दै धेरै ठाउँका स्थानीयबासीले भारतीय बजार पुगेर मूर्ति खरिद गरेर ल्याएको स्थानीय अगुवा नन्दलाल वैश्यले बताउनुभयो।

उहाँले भारतबाट मात्र करिब डेढ सय वटा मूर्ति ल्याईएको जानकारीमा आएको बताउनुभयो । 

विभिन्न ठाउँमा प्रतिष्ठापन गरिएका दुर्गा मूर्तिको सुरक्षा र शान्तिपूर्वक बिसर्जनका लागि बाँके प्रहरीले विशेष टास्क फोर्स बनाएर सुरक्षालाई कडा पारेको छ । दसैंको भोलिपल्ट दुर्गा मूर्तिहरु नजिकको नदीमा लगेर बिसर्जन गरिने गरिएको छ ।