• २६ असोज २०८१, शनिबार

राष्ट्रपति पौडेलद्वारा विजया दशमीको टीका ग्रहण

blog

काठमाडौँ, असोज २६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले ९४ वर्षीय दाजु डुण्डीराज पौडेलबाट शुभसाइतमा यस वर्षको दसैँको टीका, प्रसाद, जमरा र आशीर्वाद ग्रहण गर्नुभएको छ । 

सोही अवसरमा राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट पनि दसैँको टीका, जमरा र प्रसाद ग्रहण गर्नुभयो ।

राष्ट्रपति कार्यालय शीतल निवासमा शनिबार बिहान राष्ट्रपति पौडेलले यस वर्षको दसैँको शुभ साइत ११ बजेर ३६ मिनेटमा टीका र जमरा ग्रहण गर्नुभएको हो । 

सोही अवसरमा राष्ट्रपति पौडेलले आफूले टीका ग्रहण गरेपछि प्रथम महिला सविता पौडेलसहित परिवारका सदस्यलाई पनि शुभसाइतमा टीकाजमरा लगाइदिनुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । 


विजया दशमीका उपलक्ष्यमा आजै दिउँसो राष्ट्रपति पौडेलले ३ देखि ३:३० बजेसम्म विशिष्ट व्यक्तित्व र ३:३० देखि ५ बजेसम्म सर्वसाधारणलाई टीकाजमरा लगाइदिनुहुने कार्यक्रम रहेको छ । 

राष्ट्रपति कार्यालयका अनुसार दिउँसो ३ देखि ३:३० बजेसम्म सम्माननीयहरू, उपप्रधानमन्त्री, प्रदेश प्रमुख, मन्त्री, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारीलगायत विशिष्ट महानुभावहरूलाई राष्ट्रपति भवनमा राष्ट्रपति पौडेलले टीकाजमरा लगाइदिनुहुनेछ । साथै, सोही समयमा निजामती, जंगी, प्रहरीतर्फका  अधिकृतस्तरका राष्ट्रसेवकलाई पनि टीकाजमरा लगाइदिनुहुने कार्यक्रम छ । 

यसैगरी दिउँसो ३ः३० देखि ५ बजेसम्म इच्छुक सर्वसाधारणलाई पनि राष्ट्रपति पौडेलले टीकाजमरा लगाइदिनुहुने कार्यक्रम छ ।