• २६ असोज २०८१, शनिबार

दसैंभरी गाउँमा रमाइलो र उल्लास

blog

बन्दीपुर गाउँपालिका –६ मा दसैंमा कौरा नाचेर मनोरञ्जन गरिँदै । तस्बिर–अमरराज नहर्की

अमररराज नहर्की

तनहुँ, असोज २६ गते । रोजगारी तथा अध्ययनको लागि गाउँ छाडेर देशका विभिन्न शहरमा तथा विदेश पसेकाहरु चाडपर्व मनाउन घर फर्केपछि तनहुँका गाउँ–गाउँमा दसैँको उल्लास छ । 

बसाइँसराई गरी शहर पसेकाहरू समेत दसैं मनाउन पुरानै थातथलो फर्किएपछि यतिबेला तनहुँका ग्रामीण क्षेत्रमा चहलपहल बढी छ । तर अधिकांश गाउँ गएपछि  यतिबेला सहर भने सुनसान छ ।

व्यास नगरपालिका –१२ कमलबारीकी आरती शर्मा सपरिवार अमेरिकामा बस्नुहुन्छ  । दसैमा घर फर्किनु भएको छ । लामो समयदेखि विदेशमा बसे पनि दसैंलाई गाउँमै मनाउने निधो गरेर उहाँ आउनु भएको छ । दसैंको समयमा सबै आफन्तसँग भेट हुने भएकाले नेपाल आएको शर्माले बताउनुभयो । 

उहाँजस्तै थुप्रै गाउँमा दसैं मनाउन आउनेको लर्को लागेको छ । बसाइँ सराइ र विदेश पलायनले ग्रामीण बस्ती खालीजस्तै छ । यतिबेला भने दसैं लक्षितगरी विदेश र देशकै विभिन्न स्थानमा बसाइँ गएका तथा पेसा, व्यवसायमा लागेकाहरू फर्किन थालेकाले केही चहलपहल भएको छ ।

स्वदेशमा रोजगारीको अवसरमा नहुँदा गाउँका अधिकांशका रोजगारीको खोजीमा बिदेशिने तथा बसाइसराई गरेर गाउँ खाली हुँदैगएको तर दसैं मनाउन अधिकांश युवा आउँदा रमाइलो भएको व्यास नगपालिका–१३, ओटाङ्दी पोखरीभञ्ज्याङका ९२ वर्षिय रामनाथ सेढाइँले बताउनुभयो । 

“दसैँको बेला सहरमा बसोबास गर्ने अधिकांश पुरानो थाकथलोमा गएर पर्व मनाउने भएकाले शहर सुनसान भएको तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष वैकुण्ठनाथ मिश्रले बताउनुभयो । सेढाइले भन्नुभयो, रोजगारी र पढ्न गएकाहरु फर्किएपछि गाउँको माहोल रमाइलो बनेको युवाहरुलाई स्वदेशमै अवसर दिने हो भने गाउँमा सधैं चहलपहल हुने थियो त्यसतर्फ नेताको ध्यान पुगेको छैन ।’ 

चाडपर्वमा अधिकांश विद्यार्थीले दसैंदेखि तिहारसम्म बिदा पाउने भएपछि दसैँमा घर फर्किनेको सङ्ख्या उल्लेख्य छ । सहरमा पढ्न बसेका विद्यार्थीसहित अन्य कर्मचारी, मजदूरलगायत दसैँमा घर फर्किएकाले रमाइलो भएको  उहाँले बताउनुभयो । 

घटस्थापनादेखि दसैँसम्म गाउँका मन्दिरमा हुने पूजा र जात्राले रौनक बेग्लै बन्दीपुर गाउँपालिका –६ खहरेस्थित सेतीकाली आधारभूत विद्यालयको प्रधानाध्यापक सिद्धान्त थापा मगरले बताउनुभयो । गाउँ दसैंमा रमाइलो हुने भएकाले दमौली बजार छाडेर गाउँमा आएको उहाँले जानकारी दिनुभयो । दसैंमा गाउँमा पिङ्ग हाल्ने रमाइलोका लागि सांस्कृतिक कार्यक्रम गर्ने, खेलकुद प्रतियोगिता गर्ने गरिएकाले गाउँमा चाड मनाउँदा उल्लासमय हुने थापाको भनाइ छ ।