• २६ असोज २०८१, शनिबार

म्यान्मामा प्रख्यात विद्यार्थी नेता पक्राउ

blog

बैङ्कक,  असोज २५ गते । म्यान्माको सुरक्षा बलले व्यापारिक केन्द्र याङ्गुनमा रातको समयमा छापा मारी प्रख्यात विद्यार्थी सङ्घ एवं विरोध समूहका नेतालाई पक्राउ गरेको उहाँको विरोध समूहका एक सदस्यले बिहीबार बताएका छन् । 

“एन्टी–जुन्ता अलायन्स याङ्गुन” विरोध समूहका नान लिनले पाइङ फ्यो मिनलाई बुधबार राति याङ्गुनको पूर्वी थाकेता टाउनसिपमा एउटा आवासमा अधिकारीहरू प्रवेश गरेपछि पक्राउ गरिएको जानकारी दिनुभयो । 

उहाँले त्यसपछि पाइङ फ्यो मीनको कुनै खबर थाहा नभएको उल्लेख गर्दै भन्नुभयो, “हामी उहाँको जीवन र सुरक्षाका बारेमा धेरै चिन्तित छौँ ।”

“पाइङ फ्यो मीन पूर्वविद्यार्थी सङ्घका सदस्य र याङ्गुनमा विरोध नेता भएकाले सेनाले उहाँलाई लामो समयदेखि पक्राउ गर्ने प्रयास गरिरहेको थियो”, उहाँले भन्नुभयो ।

याङ्गुनका जुन्ता अधिकारीहरूसँग तत्काल सम्पर्क हुन सकेको छैन । 

सन् २०१९ मा आङ सान सु कीको अर्ध–नागरिक सरकारको समयमा पाइङ फ्यो मिनलाई सेनाको आलोचना गर्दै व्यङ्ग्यात्मक कविता प्रस्तुत गरेको आरोपमा छ वर्षको जेल सजाय दिइएको थियो । 

उक्त सजायको मानवअधिकार सङ्गठन एमनेस्टी इन्टरनेसनलले आलोचना गरेको थियो र उहाँलाई सन् २०२१ रिहा गरिएको थियो । 

सन् २०२१ मा सेनाले सु कीको सरकारलाई हटाएपछि पाइङ फ्यो मिनले याङ्गुनमा लोकतन्त्र समर्थक प्रदर्शनहरू गर्न सहयोग गर्नुभएको थियो । ती प्रदर्शनलाई पछि सुरक्षा बलले दमन गरेको थियो । 

जुन्ताले याङ्गुनमा सूचनादाता र गुप्तचर प्रहरीहरूको व्यापक नेटवर्क कायम राखेको छ र करिब ८० लाख जनसङ्ख्या भएको यस सहरमा आफ्नो शासनको खुला चुनौतीहरूलाई धेरै हदसम्म दबाएको छ । 

एक स्थानीय अनुगमन समूहका अनुसार तख्तापलटपछि असन्तुष्टि दबाउन जुन्ताले २७ हजारभन्दा बढी मानिसलाई गिरफ्तार गरेको छ । 

मानवअधिकार समूहहरूका अनुसार सुरक्षा बलहरूले असन्तुष्टि दबाउन यातना र यौन हिंसाको प्रयोग गरेका छन् । संयुक्त राष्ट्रसङ्घको मानवअधिकार कार्यालयले सन् २०२२ मा कम्तीमा दुई सय ९० जनाको हिरासतमा मृत्यु भएको बताएको थियो । रासस/एएफपी