• २५ असोज २०८१, शुक्रबार

मूर्तिहरुको आँखा खुलेसँगै दशैँको मेला शुरु

blog

महोत्तरीको मटिहानीमा बनाइएको माटोको दुर्गासहितका प्रतिमाहरु ।

नागेन्द्रकुमार कर्ण

महोत्तरी, असोज २४ गते । दशैंको अवधिमा माटो मुछेर निर्माण गरिएको दुर्गा भवानीसँगै अन्य मूर्ति (प्रतिमा) हरुको पूजा बिहीबारदेखि विधिवत् रुपमा शुभारम्भ भएको छ ।

घटस्थापनासँगै माता दुर्गासहितका देवी, देवताको पुजापाठ शुरु गरिए पनि माटोको मूर्ति निर्माण स्थलहरुमा बिहिबारदेखि विधिवत् रुपमा पूजापाठ शुरु भएको हो । पूजापाठ शुरुभएसँगै प्रतिमास्थलहरुमा भिडभाड बढेको छ । 


महोत्तरीसहित मिथिलाञ्चलमा बेलनौती तथा बेलतोडीपश्चात माटोको मूर्तिहरुको आँखा उघारेपछि मात्रै माटो मुछेर बनाइएका मूर्तिहरु दर्शनार्थीहरुको लागि खुला गर्ने परम्परा रहेको छ । 

घटस्थापनादेखि षष्ठीसम्म मूर्ति बनाइएका स्थानहरुमा बाहिर नै पुजापाठ गर्ने चलन रहेको छ भने मूर्ति निर्माण हुने ठाउँहरुमा दशैंको षष्ठीको दिन बेल निमन्त्रणा अर्थात बेलनौती तथा सो को भोलिपल्ट सप्तमीको दिन बेलतोडी गरेर मूर्तिहरुको आँखा उघारेपछि धूमधामका साथ पुजापाठ शुरु हुने गरेको छ ।

मिथिला क्षेत्रमा दशमीको अवसरमा माटो मुछेर बनाइएका देवी प्रतिमाका आँखा उघार्न (खोल्न) बेलको भेट्नो प्रयोग गरिने परम्परा छ । 

यसका लागि षष्ठी तिथिका दिन मध्याह्नपछि देवी प्रतिमास्थलबाट बाजागाजासाथ बस्ती नजिकको बेलको रुखमा चढेर एउटा बेल फललाई रातो रुमालले विधिपूर्वक पुजापाठका साथ बाँधिन्छ । जसलाई मिथिलामा ‘बेलनौत’ भन्ने गरिन्छ । 

षष्ठीका दिन वैदिक मन्त्रोच्चारणसहित निम्ता गरेर बाँधिएको बेलको फल भेट्नुसहित सप्तमीका दिन बिहानै टिपेर सोही फलको भेट्नुले प्रतिमाको आँखा कोट्याएर उघार्ने गरिन्छ । सो विधिलाई मिथिलामा ‘बेलतोडी’ भनिन्छ । माटो मुछेर बनाइएका प्रतिमाबाहेक अघिदेखि नै काठ वा धातुका देवी प्रतिमाका लागि आँखा उघार्न त्यो आवश्यक छैन । 

मूर्तिहरुको आँखा उघारेपछि मेलाहरु समेत शुरु भएको छ । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरसहित मटिहानी, पिपरा, मनरासिस्वालगायतका १५ वटै पालिकामा दशमीको मेला तथा महिलाहरुको खोंइछ भराई शुरु भएको छ । यसवर्ष तिथीको घटीबढीले गर्दा कतिपयले बिहीबार नै बलि तथा महिलाहरु खोंइछ भराई कार्यक्रम गरेका छन् भने कतिपयले शुक्रबार बली प्रदान तथा खोंइछ भर्ने कार्यक्रम रहेको जलेश्वर नगरपालिका वडानं. ४ का पण्डित दिगम्बर झाले जानकारी दिनुभयो ।


उहाँले मूर्ति निर्माण गरिएको ठाउँहरुलगायत महोत्तरीका प्रसिद्ध शक्तिपीठहरु राजदेवी, सोनामाई, महोदर माई, त्रिशुली देवीहरुमा समेत मेला शुरु गरिएको छ । जिल्लाको मटिहानी नगरपालिकामा एक महिनादेखि निर्माण भइरहेको दुर्गा प्रतिमा यसक्षेत्रमै सबभन्दा ठुलो मानिएको छ ।

मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले मटिहानीमा निर्माण गरिएको देवी दुर्गाको प्रतिमा १५ फिट भन्दा ठुलो रहेको बताउनुहुदै यसक्षेत्रमा सबभन्दा ठुलो मूर्ति मटिहानीकै रहेको दावी गर्नुभयो ।