• २४ असोज २०८१, बिहिबार

माटाका भाँडा बनाएर आत्मनिर्भर बन्दै उज्याला

blog

तम्घास समाचारदाता

तम्घास, असोज २४ गते । माटाका भाँडा बनाएर सानोतिनो खर्चका लागि कसैको मुख ताक्नु नपर्ने अमरपुरकी उज्याला कुमाल बताउनुहुन्छ । इस्मा गाउँपालिका–६, अमरपुरकी उज्याला कुमालले आफूहरूको पुख्र्यौली पेसा माटाका भाँडा बनाउने कार्य सङ्कटमा पर्न लागेकाले समयमा सिप सिकेर आत्मनिर्भर बन्न थालेको बताउनुभयो ।

आफूले बुद्धको मूर्ति, कप, खुत्रुके, गमला, हाँडी जस्ता १५ प्रकारका माटाका भाँडा बनाउन सिक्नुका साथै आफ्नै उद्योग खोलेर काम गर्न सक्ने भएको उहाँले बताउनुभयो । काम र दाम दुवै कमाउन सक्ने भएको विष्णु कुमालले बताउनुभयो । अब आफूलाई आवश्यक पर्ने पैसाका लागि कसैको मुख ताक्न नपर्ने र आफैँ सक्षम भएको उहाँको भनाइ छ । 

कुमाल समुदायको आयआर्जनमा वृद्धि गर्नुका साथै माटाका भाँडाहरूको संरक्षण गर्नका लागि सिप प्रदान गरिएको घरेलु तथा साना उद्योग कार्यालय जनाएको छ । गत आर्थिक वर्षमा कार्यालय र इस्मा गाउँपालिकाको समन्वयमा १४ जना महिला र दुई जना पुरुषलाई गरी १६ जनालाई एकमहिने माटाका भाँडा बनाउने सिप प्रदान गरिएको हो ।  

सिकेको सिपलाई प्रविधिसँग जोड्न कार्यालयले सात वटा जाँतो, एउटा माटो पेल्ने मेसिन र पेन्टिङ टेबलसमेत प्रदान गरेको छ । 

पुस्ता हस्तान्तरणका लागि पुराना र नयाँ पुस्तालाई समेटेर तालिम प्रदान गरिएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ । पछिल्लो समयमा जिल्लाका विभिन्न स्थानमा अल्लो, बाँसका सामग्रीका साथै डल, कुसन र पार्लरका तालिम प्रदान गर्दै आएको कार्यालयले जनाएको छ । स्थानीयस्तरमै उपलब्ध हुने सामग्रीले प्लास्टिकका भाँडा विस्थापित गर्न सहयोग पुग्ने र आत्मनिर्भर बन्न सक्ने कार्यालयले जनाएको छ ।