• १ माघ २०८१, मङ्गलबार

फूल खेतीमा रमाउँदै महिला

blog

आँबुखैरेनी–१, यान्चोकमा गरिएको फूल खेती ।तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, असोज २४ गते । मोबाइलमा टिकटक, फेसबुक र युट्युब चलाएर समय गुजार्ने तनहुँको आँबुखैरेनी गाउँपालिका–१, यान्चोकका महिला फूलखेतीमा रमाउन थालेका छन् । आँबुखैरेनी गाउँपालिकाले महिलाको आयआर्जन बढाउन फूल खेतीमा प्रोत्साहन गरेपछि उनीहरूको दिनचर्या परिवर्तन भएको हो । 

सामूहिक र व्यावसायिक रूपमा फूल खेती गर्दा खेर गएको समय र बाँझो जमिनको सदुपयोग भएको छ । यान्चोकमा ४० रोपनी क्षेत्रफलमा ४० हजार सयपत्रीका बिरुवा हुर्किरहेका छन् । नेपालीको ठुलो पर्व दसँैलाई लक्ष्य गरी १० रोपनीमा लगाइएको फूलले उत्पादन दिन थालेको छ । बाँकी ३० रोपनीका फूल भने तिहारसम्म फुल्ने बताइएको छ । 

गाउँपालिकाले फूल खेतीका लागि प्रोत्साहन गरेपछि यान्चोक लघुउद्यम महिला समूहद्वारा व्यावसायिक फूल खेती गरिएको हो । महिलालाई फूलखेतीमा आकर्षित गराउँदै आयआर्जनसँग जोड्ने उद्देश्यसहित निःशुल्क प्राविधिक ज्ञान, तालिम र ८५  प्रतिशत अनुदानमा बिरुवा वितरण गरिएको गाउँपालिकाले जनाएको छ । 

फूल प्रत्येक वर्ष भारतबाट आयात हुँदै आएकोमा गत वर्षदेखि उत्पादन हुन थालेपछि आत्मनिर्भर हुनुका साथै कतार निर्यात गर्न सफल भएको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुव्रm चुमानले बताउनुभयो । चुमानले भन्नुभयो, “पूmल निर्यात गरी महिलाको आयआर्जन वृद्धि गर्ने लक्ष्य राखेका छौँ ।” सयपत्री फूलको खेतीबाट उत्साहित भएकाले यस वर्ष पनि निरन्तरता दिइएको कृषि शाखाका प्रमुख सन्तोष केसीले बताउनुभयो । केसीका अनुसार ८५ प्रतिशत अनुदानमा सयपत्री फूलका बिरुवा उपलब्ध गराइएको थियो । 

गत वर्ष तिहारमा प्रतिकिलो पाँच सय रुपियाँमा फूल बिक्री भएको र ७० जना आबद्ध भएको समूहकी अध्यक्ष सुन्तली गुरुङले बताउनुभयो । टिकटक, फेसबुक चलाएर समय खेर फालेका  महिलालाई स्वरोजगार बनाउने उद्देश्यसहित फूलखेती थालिएको उहाँको भनाइ छ । महिलाको आय वृद्धिका लागि गाउँपालिकाले गत वर्षदेखि अनुदानको कार्यव्रmम अगाडि बढाएको थियो । घरायसी काममा व्यस्त रहँदै आएका महिलालाई आयआर्जनमा जोड्न यो कार्यक्रम ल्याइएको अध्यक्ष चुमान बताउनुहुन्छ ।