• १० मंसिर २०८१, सोमबार

सुपादेउरालीमा ‘एएस एडभेन्चर’

blog

लक्ष्मण पौडेल 

भैरहवा, असोज २४ गते  । लुम्बिनी प्रदेशको पहाडी जिल्ला अर्घाखाँचीको सुपादेउरालीमा मन्दिर दर्शनसँगै ‘एएस एडभेन्चर’ को मज्जा लिन पाइने भएको छ । सन्धिखर्क नगरपालिकाको खाँचीकोटमा रहेको सुपादेउराली मन्दिरमा सधैँ जसो दर्शनार्थीको घुइँचो लाग्छ । तिनै दर्शनार्थीलाई लक्षित गरी पर्यटन प्रवर्धन गर्न एएस एडभेन्चरको शुभारम्भ गरिएको छ । 

स्थानीय दुई युवाले निजी लगानीमा निर्माण गरेको एडभेन्चरमा पिङको मज्जा लिन पर्यटक मन्दिरदेखि १० मिनेटको पैदल दुरीमा रहेको स्थानमा पुग्न थालेका छन् । 

सुपादेउराली मन्दिर समुद्री सतहदेखि करिब चार हजार पाँच सय फिटको उचाइमा रहेको छ । त्यसभन्दा केही बढी उचाइमा एएस एडभेन्चर निर्माण गरिएको छ । एडभेन्चरका सञ्चालक अर्जुन कुँवरले सुपादेउराली मन्दिर दर्शन गर्न आउने भक्तजनले अब एडभेन्चरको रमाइलो लिएर फर्किने बताउनुभयो ।

अर्घाखाँची, गुल्मी र प्युठानका पायक पर्ने गाउँबाट कपिलवस्तुको पत्थरकोटमा नुन बोक्ने ढाव्रmे आवतजावत गर्दा सुपादेउरालीमै बास बस्थे । पहाडको खोपी जस्तोमा देवता भेटिएपछि २०४० सालदेखि त्यहीँ पूजा गर्न थालिएको हो । नर्तनाञ्चल पहाडको बिचबाट सदरमुकाम जोड्न पूर्वपश्चिम राजमार्गको ‘गोरुसिङ्गे–सन्धिखर्क’ सडक निर्माण भएपछि पूजा गर्ने ठाउँलाई तलबाट माथि बाटोको छेउमा सारियो ।