• २३ असोज २०८१, बुधबार

पोखरामा दसैँमा निःशुल्क बस

blog

तस्बिरः फडिन्द्र अधिकारी

फडिन्द्र अधिकारी 

लेखनाथ, असोज २३ गते। पोखरामा यसपालिको बडादसैँको टीका (विजयादशमी) का दिन निःशुल्क बस चलाइने भएको छ। जिल्ला प्रशासन कार्यालय कास्की, पोखरा महानगरपालिका र यहाँ रहेका यातायात व्यवसाय कम्पनीहरूको सहकार्यमा असोज २६ गते बिहान ७ बजेदेखि बेलुका ४ बजेसम्म निःशुल्क बस सेवा दिइने भएको हो।

बुधबार आयोजित पत्रकार सम्मेलनमा कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले सात वटा रुटमा १८ गाडीबाट यो सेवा दिइने जानकारी दिनुभयो। सो दिनका लागि पोखरा महानगरपालिकाले बसका चालक, सहचालकका लागि भत्ता उपलब्ध गराउनेछ। टीकाको दिन सवारी कम चल्ने र सर्वसाधारणलाई सास्ती हुने भएकाले प्रशासनको अग्रसरतामा यस्तो निर्णय भएको हो। 

सो दिनका लागि व्यवसायीले आफ्ना गाडी निःशुल्क उपलब्ध गराउने छन्। पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले तीन वटा बसमार्फत फेदीदेखि हेमजा, हरिचोक हुँदै पृथ्वीचोकसम्म सेवा दिनेछ। 

स्थानीय यातायात कम्पनीले कोत्रेदेखि पृथ्वीचोकबाट चिप्लेढुङ्गा हुँदै बागलुङ बसपार्कसम्म बस चलाउनेछ। पोखरा यातायात प्रालिले तीन वटा रुटमा तीन वटाका दरले नौ सवारीसाधनमार्फत निःशुल्क सेवा दिनेछ। 

पोखरा यातायात प्रालिले लामाचौर, बगर, महेन्द्रपुल, बिरौटा हुँदै छोरेपाटनसम्म, महेन्द्रगुफा, महेन्द्रपुल, चिप्लेढुङ्गा हुँदै लेकसाइडसम्म र काहुँखोला पृथ्वीचोक हुँदै हल्लन चोकसम्म बस चलाउनेछ। 

बेगनास पोखरा यातायात प्रालिले दुई वटा रुटमा दुई वटाका दरले चार सवारीमार्फत सेवा दिनेछ। यसले बेगनास ताल, तालचोक, पृथ्वीचोक हुँदै बागलुङ बसपार्क, र राजाको चौतारा, सातमुहाने, खुदी हुँदै बागलुङ बसपार्कसम्म सेवा दिनेछ।

पोखरा महानगरपालिका यातायात व्यवस्थापन उपसमितिका उपाध्यक्षसमेत रहनुभएका पोखरा १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले १८ सवारी साधन पर्याप्त नभए पनि राम्रो सुरुवात गरिएको उल्लेख गर्नुभयो।  

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीले सधैँ व्यवसाय मात्र नभई राज्यलाई आवश्यक परेको बेला सहयोग गर्न र सामाजिक उत्तरदायित्व वहन गर्न पनि तयार रहेको जनाउनुभयो।