• २३ असोज २०८१, बुधबार

हुलाक दिवसमा आठजना सम्मानित

blog

हुलाक दिवसमा सम्मानित हुँदै गोरखापत्र समाचारदाता राधाकृष्ण डुम्रे ।

अर्जुन काफ्ले

स्याङ्जा, असोज २३ गते । १५० औँ विश्व हुलाक दिवसको अवसरमा जिल्ला हुलाक कार्यालय स्याङ्जाले दुई पत्रकारसहित आठ जनालाई सम्मान गरेको छ । 

हुलाकले गोरखापत्रका वालिङ समाचारदाता राधाकृष्ण डुम्रेलाई (पत्रपत्रिका) र रेडियो आँधीखोलाका स्टेसन प्रबन्धक तोलाकान्त बगालेलाई (रेडियोकर्मी) विधामा सम्मान गरेको हो । 

पत्रकारलाई सूचना र सञ्चारको क्षेत्रमा हुलाकलाई सहयोग गरेको भन्दै सम्मान गरेको हो । यस्तै, पत्र वितरक डिलबहादुर गुरुङ, हल्करा दिवाकर न्यौपाने, प्रभाकर शर्मा, सूर्यप्रसाद अर्याल, गीता पाण्डे, केबुल नेटवर्कका लालप्रसाद श्रेष्ठलाई सम्मान गरेको छ । 

सम्मानित सबैलाई प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले सम्मान गर्नुभयो । कार्यक्रममा प्रजिअ नेपालले सबै हुलाक कार्यालय समयअनुसार गतिशील हुनुपर्ने बताउनुभयो । विगतमा मिडिया, इन्टरनेट नहुँदा हुलाक महत्त्वपूर्ण भएको बताउँदै नेपालले क्षेत्र परिवर्तन हुनुपर्ने बताउनुभयो । 

कार्यक्रममा पत्रकार महासङ्घका उपाध्यक्ष भवानी अधिकारी, पूर्व अध्यक्ष ओमप्रकाश शर्मा, रेडियो स्याङ्जाका स्टेसन प्रबन्धक रमेश गोदारलगायतले मन्तव्य राख्नु भएको थियो । हुलाक कार्यालय स्याङ्जाले १८ लाख ४४ हजार ८५४ राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख गुरुप्रसाद मरासिनीले बताउनुभयो ।