• २६ असोज २०८१, शनिबार

जमराको जुसका फाइदै फाइदा

blog

काठमाडौँ,असोज २६ गते । दसैँमा रातो टीका र जमरामा साह्रै सुहाउँछ । दशैंको पहिलो दिन अर्थात् घटस्थापनाको दिन खोलाबाट ल्याएको शुद्ध माटोमा धान, गहुँ, मकै, जौं सूर्यको प्रकाश नपर्ने अँध्यारो स्थानमा राखेर उम्ररिएका जमरा दशमीको दिन मान्यजनको हातबाट टीका र जमरा थापेर आशीर्वाद लिने परम्परा छ । 

यसरी उमारिएका जमरा लगाउँदा जति सुहाउँछ स्वास्थ्यका हिसाबले पनि उतिकै फाइदा जनक मानिन्छ । जमरा मानव स्वास्थ्यका लागि फाइदाजनक रहेको आयुर्वेद चिकित्सक डा. प्रकाश ज्ञवाली बताउनुहुन्छ । 

उहाँका अनुसार जमरा महत्वपूर्ण आयुर्वेदिक औषधि हो । जमराको जुसले शरीरमा पोषण तत्व प्रदान गर्नुका साथै रोग प्रतिरोधात्मक  क्षमता बढाउन मद्दत गर्ने उहाँ बताउनुहुन्छ । 

 जमराको जुमा के पाइन्छ 

आयुर्वेदिक चिकित्सक डा. प्रकाश ज्ञवालीका अनुसार जमराको जुसले पाचन प्रणाली बलियो बनाउनुका साथै रक्तचाप नियन्त्रण गर्ने गर्छ । 

जमराको जुसले कलेजोमा भएको विषाक्त पद्धार्थलाई हटाउनुका साथै ठूलो आन्द्रा सफा गरी शरीरमा स्फूर्ति बढाउन मद्दत गर्ने उहाँ बताउनुहुन्छ । 

आयुर्वेदिक चिकित्सक डा. ज्ञवालीले नियमितरुपमा जमराको सेवन गर्दा शरीरमा आवश्यक पर्ने भिटामिन ए’, बी’, सी’, ई’ थाईमिन, फलाम, पोलीफिनोल, क्यारोफिन तथा अन्य खनिज पदार्थ प्रशस्त मात्रामा पाइने बताउनुहुन्छ । 

उहाँका अनुसार जमराको जुसले कलेजोमा भएको विषाक्त पद्धार्थलाई हटाउनुका साथै ठूलो आन्द्रा सफा गरी शरीरमा स्फूर्ति बढाउन मद्दत गर्छ ।

यसका साथै पाचनशक्ति मजबुत बनाउन, रगत सफा राख्न पनि जमराको जुस उपयोगी हुने डा. ज्ञवालीको भनाइ छ ।  

क्यान्सरका बिरामीलाई पनि जमराको जुस लाभदायी मानिन्छ । रोग प्रतिरोध क्षमता वृद्धि गर्ने गुण जमरामा हुन्छ । जमराको जुस मासुभन्दा बढी प्रोटिन हुनुका साथै मधुमेहका बिरामीलाई पनि उपयुक्त हुन्छ । 

कपाल स्वस्थ राख्न,मानसिक समस्या कम गर्न जमराको जुस लाभदायी मानिने डा. ज्ञवाली बताउनुहुन्छ ।  

जमराको जुस सेवनले शरीरमा रगतको मात्रा बढाउनका साथै रगत शुद्ध गर्न उपयोगी हुन्छ । रगतमा सुगरको मात्रा नियन्त्रण गर्न सहयोग गर्छ । जसले गर्दा सुगरका बिरामीको लागि जमराको जुस सेवन गर्नु धेरै राम्रो मानिन्छ। जमराको जुस सेवनले शरीरमा रगतको मात्रा बढाउनका साथै रगत शुद्ध गर्न उपयोगी हुन्छ ।

डा. ज्ञवालीका अनुसार युरिक एसिड र उच्च रक्तचाप कम गर्न, आँखाको ज्योति बढाउन जमराको जुस उपयोगी हुन्छ । 

त्यस्तै अनुहारको कालो पोतो, दाग हटाउन पनि जमराले मद्दत गर्छ । डा=ज्ञवालीका अनुसार जमरामा सूर्यको प्रकाश नपर्ने हुँदा पहेँलो जमरामा क्लोरोफिल तत्त्व हुँदैन । तर हरियो जमरामा पाइने क्लोरोफिल मुटुको धमनिका लागि पनि लाभदायी हुने उहाँले बताउनुभयो ।

हरेक दिन २० देखि ३० मिली जमराको जुस खाली पेटमा वा चिकित्सकको सल्लाह बमोजिम सेवन गर्नु उचित हुने डा. ज्ञवालीको सुझाव छ ।


Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।