• १० मंसिर २०८१, सोमबार

गढवा–कालाकाँटे हुलाकी सडक निर्माण सुरु

blog

हुलाकी सडक कालोपत्रेका लागि तयारी गर्दै निर्माण कम्पनी ।

लीलाधर वली 

घोराही, असोज २३ गते । दाङको गढवा–कालाकाँटे हुलाकी सडक निर्माणको काम पुनः सुरु भएको छ । निर्माण कम्पनीमा नयाँ निर्माण व्यवसायी भित्रिएसँगै लामो समयदेखि अलपत्र परेको गढवा–कालाकाँटे हुलाकी सडक निर्माण सुरु भएको हो । 

हुलाकी सडक अन्तर्गत गढवा गाउँपालिका–४ को गोविन्दनगरदेखि रामनगरसम्म पहिलो चरणमा कालोपत्रे गर्ने काम भइरहेको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिनुभएको छ । रोकिएको काम करिब एक वर्षपछि पुन : सुरु हुँदा जनतामा आशा पलाएको भन्दै गाउँपालिका अध्यक्ष पोख्रेलले भन्नुभयो, “सडक अलपत्र पर्दा जनताले धेरै दुःख पाएका थिए, सडक निर्माणको काम चाँडै सकिए त्यो दुःख हट्ने छ ।” 

यसअघि निर्माण व्यवसायीबाट पटक पटक धोका पाए पनि अहिले नयाँ निर्माण व्यवसायीले सडक निर्माणको काम अघि बढाएकाले तोकिएकै समयमा काम सकिनेमा विश्वस्त रहेको अध्यक्ष पोख्रेलले बताउनुभयो । हुलाकी सडक अन्तर्गत गढवा बजारदेखि वनघुस्रीसम्मको करिब २० किलोमिटर सडक तीन वर्षभित्र निर्माण गर्ने गरी २०७६ कात्तिक २९ गते ६५ करोडमा वज्रगुरु कान्छाराम जेभीसँग ठेक्का सम्झौता भएको थियो । सम्झौता अनुसार २०७९ कात्तिक मसान्तसम्म सडक निर्माणको काम सक्नुपर्ने भए पनि निर्माण कम्पनीको लापर्बाहीका कारण दुई पटक म्याद थप हुँदा आधा काम पनि हुन सकेको छैन । 

अहिले सडक निर्माणको जिम्मा पाएको वज्रगुरु निर्माण कम्पनीमा नयाँ व्यवसायी भित्रिएसँगै सडक निर्माणको काम अघि बढेको हुलाकी राजमार्ग आयोजना कार्यालय नेपालगन्जका प्रमुख लीलाबहादुर भण्डारीले बताउनुभयो । उहाँका अनुसार भित्रिएका नयाँ व्यवसायीले चालु आर्थिक वर्षभित्र सडक निर्माणको काम सक्ने प्रतिबद्धता जनाएपछि हुलाकी सडक निर्माणको काम सुरु भएको हो । वज्रगुरु निर्माण कम्पनीको करिब ५१ प्रतिशत सेयर निर्माण व्यवसायी काजी शेर्पाले लिएपछि सडक निर्माणको काम सुरु भएको छ । 

आयोजना प्रमुख भण्डारीका अनुसार हुलाकी सडक अन्तर्गत अधिकांश ठाउँमा प्रारम्भिक चरणको काम पहिले नै भएकाले अहिले आधार निर्माण गर्दै कालोपत्रेको तयारी भइरहेको छ । उहाँले भन्नुभयो, “धेरै जसो ठाउँमा प्रारम्भिक चरणको काम भएर गिट्टी बिछ्याउने काम भइसकेको छ । केही ठाउँमा मात्रै गिट्टी बिछ्याउने र नाला निर्माण गर्नुपर्ने छ ।” निर्माण कम्पनीको ढिलाइका कारण तीन वर्षको अवधिमा करिब पाँच किलोमिटर मात्र सडक कालोपत्रे गरिएको थियो । बाँकी सडकखण्डमा नाला निर्माण, ग्राभेल गर्ने, कतै ग्राभेल गर्नका लागि गिट्टी थुपार्ने काम गरिए पनि कालोपत्रेको काम हुन सकेको थिएन । जसले गर्दा सडकमा खाल्टाखुल्टीसँगै पानी जम्ने भएकाले यातायातका साधन सञ्चालनदेखि स्थानीयलाई हिँड्डुल गर्न समस्या हुने गरेको छ ।