• २३ असोज २०८१, बुधबार

बिमा गर्नेको सङ्ख्या पन्ध्र लाखभन्दा बढी

blog

खजुरा समाचारदाता

खजुरा, असोज २३ गते । लुम्बिनी प्रदेशमा १५ लाखभन्दा बढी सर्वसाधारणले बिमा गरेका छन् । गत आर्थिक वर्ष २०८०/८१ सम्ममा १५ लाखभन्दा बढी सर्वसाधारणले विभिन्न बिमा गरेका हुन् ।

नेपाल बिमा प्राधिकरण लुम्बिनी प्रदेश प्रमुख पूर्ण थापाले गत आवसम्ममा लुम्बिनी प्रदेशका १५ लाख तीन हजार ८४० जना सर्वसाधारण विभिन्न बिमामा आबद्ध भएको बताउनुभयो । उहाँका अनुसार नौ लाख ९६ हजार ३७५ जनाले जीवन बिमा, चार लाख ८२ हजार १८ जनाले निर्जीवन बिमा र २५ हजार ४४७ जनाले कृषि बिमा गरेका हुन् ।

प्रदेश प्रमुख थापाका अनुसार कुल जीवन बिमा गरेका नागरिकबाट २४ अर्ब ३९ करोड ६३ लाख ७७ हजार रुपियाँ बिमा शुल्कबापत सङ्कलन भएको छ । त्यसै गरी निर्जीवन बिमा गरेका नागरिकबाट तीन अर्ब ६५ करोड २९ लाख ४४ हजार रुपियाँ र कृषि बिमा गरेका नागरिकबाट २५ करोड ५९ लाख ४२ हजार रुपियाँ बिमा शुल्कबापत सङ्कलन भएको छ ।

निर्जीवन बिमातर्फ गत आवसम्ममा १७ हजार ६२२ जनाले बिमा दाबी गरेका थिए । जसमध्ये १५ हजार १२५ जना नागरिकले बिमा भुक्तानी प्राप्त गरेका थिए । दुई अर्ब ५६ करोड ४२ लाख ४२ हजार रुपियाँ रकम बिमा दाबी भएकोमा एक अर्ब ८४ करोड ३५ लाख ५१ हजार रुपियाँ रकम दाबी भुक्तानी गरिएको थापाले बताउनुभयो ।

त्यसै गरी कृषि बिमातर्फ गत आवसम्ममा चार हजार ९७८ जनाले २१ करोड चार लाख १० हजार रुपियाँ बराबरको रकम दाबी गरेको र पाँच हजार २७८ जनालाई २२ करोड चार लाख ५७ हजार रुपियाँ रकम दाबी भुक्तानीबापत प्रदान गरिएको प्रदेश प्रमुख थापाको भनाइ छ ।

नेपाल बिमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयका अनुसार लुम्बिनी प्रदेशमा कुल जनसङ्ख्याको १८.४७ प्रतिशत नागरिक जीवन बिमाको दायरामा आएका छन् । लुम्बिनी प्रदेशको जिडिपीको अनुपातमा कुल बिमा शुल्क ३.४४ प्रतिशत, कुल जीवन बिमा शुल्क सङ्कलनमा लुम्बिनी प्रदेशको हिस्सा १५.६० प्रतिशत रहेको र कुल निर्जीवन बिमा शुल्क सङ्कलनमा लुम्बिनी प्रदेशको हिस्सा ८.८० प्रतिशत रहेको छ ।