• २३ असोज २०८१, बुधबार

खसीबोका बेच्न आएका कृषक भन्छन्, ‘टीका लगाउन घर पुग्छौं’

blog

काठमाडौं, असोज २३ गते । सिन्धुलीको खुर्कोटबाट करिब हप्ता दिन हिडेर पदमबहादुर जर्गामगर ४० वटा खसीबोका लिएर काठमाडौं आउनुभयो । बाढी पहिरोले बाटो बगाएपछि काभ्रेको तिमाल डाँडा, भकुण्डे हुँदै उहाँ भृकुटीमण्डपको खसीबजारसम्म आइपुग्नुभयो ।

उहाँले भन्नुभयो, “हामी सिन्धुलीबाट आएको ! मेरो गाउँ खुर्कोट हो । यहाँसम्म आउन एक हप्ता लाग्यो । बाढीले गर्दा बाटो छैन अनि त हिँडाएर ल्याएको । बाटोमा खानुपर्‍यो, चराउनुपर्‍यो, तिमाल डाँडा, भकुण्डे हुँदै ल्याएको । गाडी भए पो, गाडीमा ल्याउनु !”


उहाँ घरबाट ल्याइएका सबै खसीबोका बिक्री गरेर दसैँ खर्च जोहो गरेर टीका लगाउन  घर फर्कने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “अहिले ठीकै बिक्री भइरहेको छ । पहिलाभन्दा यो पटक झरी पर्‍यो त्यसैले अलि गाह्रो भयो । दसैँको टीका लाउने बेलासम्म ट्रयाक्को कच्ची बाटो खोलिसक्छ होला अनि घर जाने ।”

दसैँमा धेरथोर आम्दानी आर्जन गर्ने उद्देश्यले यसरी भृकुटीमण्डपस्थित खसी बजारमा पूर्वदेखि पश्चिमका विभिन्न जिल्लाबाट कृषक आउने गर्दछन् ।यस्तै, काभ्रेपलाञ्चोकबाट ७० वर्षीय धनबहादुर मोक्तान करिब दुई दिनको बाटो हिँडेर खसीबोका बिक्री गर्न काठमाडौं आउनुभयो । उहाँ आफ्ना छोराहरुसँगै काठमाडौं आउनुभएको बताउनुहुन्छ ।


उहाँ भन्नुहुन्छ, “सकी–नसकी गरेर काभ्रेबाट आएको ! दुई, तीन दिन हिँडेर आउनुपर्‍यो पाखै–पाखा । खर्च जुटाउन आएको । बाटो त सबै पानीले लगिसक्यो ।” २० वटा खसी–बोका लिएर खर्च जुटाउन आएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “बाटोमा हिँड्न पनि अप्ठ्यारोे छ हेर्नुस् ! सुत्नलाई ठाउँ छैन । कोही–कोही चिनेको ठाउँमा पैसा लिएर खाना पकाइराख है भन्दै यसरी खाँदै आको । बाटोमा दुई, तीन दिन बस्दा कोही हराउँछ, कोही मर्छ । यसले गर्दा धेरै मर्का पर्छ ।”

के भन्छन् व्यवसायी 

चौपाया खरिद बिक्री सेवा सङ्घका अध्यक्ष सन्तोषबहादुर खत्रीले दसैँमा वर्षेनी ४२ देखि ४५ हजार खपत हुने गरेको बताउनुभयो । उहाँका अनुसार बजार अहिले सरकारले तोकेको दरमा प्रतिकिलो ६६० देखि ६९० रुपियाँमा खसीबोका बिक्री भइरहेको छ ।


उहाँले भन्नुभयो, “पश्चिम क्षेत्रबाट रोल्पा, रुकुम, सल्यान, सुर्खेत, दैलेख, दाङ र पूर्वमा भोजपुर, ओखलढुङ्गा, खोटाङ, इलाम, रामेछाप, धादिङ, काभ्रे, सिन्धुलीबाट खसी–बोका आउँछ । अहिले दैखिन छ, सात सय झरिराछ । अहिले नेपालमा नै प्रशस्त उत्पादन भएको छ ।”

उहाँले राज्यले वातावरण मिलाएको खण्डमा नेपाल इण्डियामा चौपाया निर्यात गर्नसक्ने अवस्थामा पुगेको बताउनुभयो । ढुवानी खर्च, भाडा खर्च तिर्दा मूल्य महंँगो परे पनि सरकारले तोकेकै दरमा खरिदबिक्री भइरहेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “ढुवानी खर्च, भाडा तिरेको हुन्छ । सरकारले ल्याउँदा त्यो तिर्नुपर्दैन, अनुदान पनि आइरहेको छ । त्यो अनुसार सरकारले तोकेको मूल्यमा हामीले बेचिराछौं । स्वच्छ, सफा, खानयोग्य छ भने चिकित्सकले सिङमा हरियो रङ्ग लाउनुभएको हुन्छ । खान योग्य छैन भने रातो लाउनुहुन्छ ।”

काभ्रेपलाञ्चोक पनौती नगरपालिका वडा नं. ९ का स्थानीय एवम् व्यवसायी बलराम कुँवरले यो असोजमा अविरल वर्षासँगै आएको बाढीपहिरोले कृषक एवम् व्यवसायीलाई पारेको असर नजिकबाट हेर्नुभएको छ ।


उहाँ भन्नुहुन्छ, “अहिले वर्षाले घरबारविहिन बनाएकालाई झनै ठूलो समस्या छ । कोही आफन्तकहाँ बसेका छन् । कसैको आफन्त पनि छैन, रोडमा बसेका छन् । खाने, लाउने केही छैन, बालबच्चाको बिजोग छ । राज्यले अलि सूक्ष्म हिसाबले हेर्नुपर्ने अवस्था छ ।” उहाँले विगतमा ६० देखि ७० प्रतिशत इण्डियन खसी ल्याउनुपर्ने अवस्था रहेको तर अचेल नेपाली उत्पादन नै पर्याप्त भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “कम्तीमा दश प्रतिशत बाहिरबाट खसी आयो भने ९० प्रतिशत हामी धान्न सक्छौं, धानिरहेका छौं । हामीले यो व्यवसाय गरेको ३० औं वर्ष भयो । तीनसय ६५ दिन नै स्वदेशी उत्पादनले नै पुगोस् । यसका लागि गाउँ तहदेखि नै राज्यले हेर्नुपर्छ ।”




Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।