• २२ असोज २०८१, मङ्गलबार

नेपालले जित्यो सिरिज

blog

फाइल तस्बिर ।

काठमाडौँ, असोज २२ गते । क्यानडाको हाइप्रोफमेन्स (एचपी) विरुद्धको एक दिवसीय सिरिज नेपालले जितेको छ । अमेरिकामा हुने आसन्न आइसिसी विश्वकप लिग–२ सिरिजको तयारीका लागि खेलिएको तीन खेलको सिरिज नेपालले २–१ ले जितेको हो । 

अन्तिम खेलमा साेमबार राति करण केसी र कुशल भुर्तेल चम्किएपछि नेपालले अन्तिम तथा तेस्रो एक दिवसीय अभ्यास खेलमा एचपीलाई १० रनले हरायो । नेपालले पहिलो खेलमा तीन विकेटको जित निकालेको थियो । दोस्रो खेलमा भने नेपाल एचपीसँग २० रनले पराजित भएको थियो । 

जितका लागि नेपालले प्रस्तुत गरेको एक सय ८८ रनको लक्ष्य पछ्याएको क्यानडा एचपी ४४.५ ओभरमा सबै विकटको क्षतिमा एक सय ७७ रनमा समेटिएको थियो । एचपीका लागि अलि नदिमले एक सय १६ बलमा सात चौका र तीन छक्काको मद्दतमा सर्वाधिक ८५ रन बनाउनुभयो । अन्य ब्याटरले भने दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

बलिङमा नेपालका लागि करण केसीले सर्वाधिक पाँच विकेट लिनुभयो । सागर ढकालले दुई तथा आरिफ शेख, रिजन ढकाल र ललित राजवंशीले एक एक विकेट लिनुभयो । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४८.३ ओभरमा सबै विकेटको क्षतिमा  एक सय ८७ रन बनाएको थियो । नेपालका लागि कुशल भुर्तेलले ७० बलमा पाँच चौकाको सहयोगमा सर्वाधिक ५२ रन बनाउनुभयो ।

यस्तै आरिफ शेखले ४०, सोमपाल कामीले २७ र अर्जुन साउदले १७ जोड्नुभयो । बलिङमा एचपीका लागि जाहिद शिर्जादले तीन विकेट लिनुभयो । सुखिन्दर सिंह र सहिल पटेलले दुई दुई विकेट लिनुभयो ।