• २३ असोज २०८१, बुधबार

अवरुद्ध कान्ति लोकपथ सुचारु

blog

काठमाडौँ, असोज २२ गते । यही असोज १० गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षापछिको बाढी तथा पहिरोका कारण अवरुद्ध कान्ति लोकपथ मार्ग सुचारु भएको छ । नेपाली सेनाको सक्रियतामा यो सम्भव भएको हो । 

मकवानपुर जिल्ला, भीमफेदी गाउँपालिका–८ महादेवटार र ललितपुर जिल्ला, बाग्मती गाउँपालिका–२ बगुवास्थित बाग्मती खोलामा रहेको पुलको केही भाग बगाएपश्चात् अवरुद्ध भएको कान्ति लोकपथ मार्गमा मिति सोमबारबाट सवारी आवागमन सुचारु भएको छ । 


उक्त लोकपथ मार्गमा सवारी आवागमन सुचारु गर्न नेपाली सेनाले अन्य निकायको सहयोगमा कार्य गरिरहेको जनाएको छ । 

दुई स्थानमा करिब ८०० मिटरको बाँध निर्माण गरी बागमती नदी डाइभर्सन  गरेको छ । यसैगरी ३२० मिटर लम्बाइको नयाँ ट्रयाक निर्माण गरेको छ भने बागमती नदीमा करिब ४० मिटर लम्बाइको  र्‍याप निर्माण गरी पुलसम्म सडक जोडेको जनाएको छ । 

ग्याबिन बक्स तथा बागमती नदीमा ह्युम पाइप राखी अस्थायी सडक बनाएको जानकारी दिँदै सेनाले कान्ति लोकपथको अन्य विभिन्न खण्डमा पहिरो पन्छाउने कार्य गरेको जनाएको छ ।