• २१ असोज २०८१, सोमबार

नेपालीको विवरण अद्यावधिक गर्न निर्देशन

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज २१ गते । परराष्ट्रमन्त्री डा. आरजु राणाले इजरायल र लेबनानमा रहेका नेपालीको अवस्थाबारे जानकारी लिएर अद्यावधिक गर्न त्यहाँस्थित नेपाली दूतावासहरूलाई निर्देशन दिनुभएको छ । परराष्ट्रमन्त्रीको सचिवालयका अनुसार ती देशमा अवस्थित नेपालका राजदूतहरूसँग आइतबार मन्त्रालयबाट भर्चुअल बैठक गरी उहाँले इजरायल र लेबनानमा विकसित पछिल्लो परिस्थितिबारे जानकारी लिनुभएको थियो । 

सो बैठकमा मन्त्री डा. राणाले पछिल्लो समयमा विशेष गरी लेबनानमा विकसित परिस्थितिका कारण त्यहाँ रहेका नेपालीको अवस्थाबारे नेपालमा चिन्ता बढिरहेकाले उहाँहरू र उहाँका परिवारको सम्पर्कमा रहेर आवश्यक सहयोग गर्न निर्देशन दिनुभएको थियो । 

सो बैठकमा मन्त्री डा. राणाले भन्नुभयो, “कुनै पनि प्रकारले त्यहाँ रहेका सबै नेपालीको सम्पर्कमा पुग्ने प्रयास गर्नु, कोही तत्कालै स्वदेश फर्कनका लागि सहयोग चाहनुहुन्छ भने त्यसका लागि समन्वय गर्नु र यदि त्यहाँबाट नेपाली नागरिकको उद्धार गरेर स्वदेश ल्याउनुपर्ने अवस्था आउन सक्छ भने त्यसका लागि पनि आवश्यक गृहकार्य गर्नू ।”

उहाँले सम्बन्धित देशका दूतावासहरूलाई सूचना जारी गरी सम्पर्क व्यक्ति तोक्न र आवश्यकता अनुसारका सहायता कक्ष स्थापना गरेर समस्यामा परेका नेपालीलाई आवश्यक सहायता र समन्वय प्रदान गर्न निर्देशन दिनुभएको थियो ।

इजिप्टका लागि नेपाली राजदूत सुशील लम्सालले लेबनानको पछिल्लो अवस्थाको जानकारी गराउँदै त्यहाँ रहेका नेपालीलाई अहिले नै त्यस्तो कुनै समस्या नरहेको बताउनुभयो । 

त्यहाँ हाल करिब एक हजार दुई सय जना नेपाली रहेका अनुमान गरिएको र तीमध्ये अधिकांश घरायसी काममा रहेका उल्लेख गर्दै दूतावासले जारी गरेको सूचनाका आधारमा तीन जना मात्र सम्पर्कमा आएको र बेरुतमा सुरक्षित रहेको बताएको उहाँले बताउनुभयो । हाल कुनै पनि नेपालीले आफूलाई समस्या परेको भनी रिपोर्टिङ नगरेको तर नेपालमा रहेका आफन्तहरू बढी चिन्तित भएको पनि उहाँले जानकारी दिनुभयो । त्यसै गरी इजरायलका लागि कार्यवाहक नेपाली राजदूत कुमार श्रेष्ठले इजरायलको अवस्था सामान्य रहेको र त्यहाँ रहेका करिब चार हजार पाँच सय नेपाली सुरक्षित रहनुभएको बताउनुभयो । 

त्यस्तै पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले इरानको पछिल्लो अवस्थाबारे जानकारी दिनुभएको थियो ।