• २० असोज २०८१, आइतबार

अध्यक्ष ढुङ्गानाद्वारा मनसराको निःशुल्क उपचार सहयोग

blog

विरामी मनसरालाई जुस खुवाउनुहुँदै एमाले कैलालीका अध्यक्ष यज्ञराज ढुंगाना ।

गोरखापत्र अनलाइन

धनगढी, असोज २० गते । नेकपा (एमाले) कैलालीका अध्यक्ष यज्ञराज ढुङ्गानाले एक जना महिला बिरामीको निःशुल्क उपचार गराउनुभएको छ । नवजीवन अस्पतालका सञ्चालक समेत रहनुभएका अध्यक्ष ढुङ्गानाले डोटी गड्सेरा –५ निवासी मनसरादेवी खडायतको उपचार खर्च उहाँले व्यहोर्ने जिम्मा लिनुभएको हो । 

भिरबाट लडेर खुट्टामा गम्भीर चोट लागेको अवस्थामा महिलाले आर्थिक अभावका कारण घरमै घरेलु उपचार गराउँदै आउनुभएको थियो । दुई दिनपछि एमाले अध्यक्ष ढुङ्गानाले आर्थिक अवस्था कमजोर भएर उपचार गर्न नसकेको थाहा पाएपछि नवजीवन अस्पतालमा बोलाएर उपचार गराएको बताउनुभयो । 

वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. विदुरमणी ढकाल नेतृत्वको चिकित्सक टोलीले उहाँको सफल शल्यक्रिया गर्नुभयो । त्यसक्रममा उहाँको उपचारका लागि लागेको करिब २ लाख बढी रकम आफूले व्यहोरेको अध्यक्ष ढुङ्गानाले बताउनुभयो । ‘आर्थिक अवस्था नाजुक भएका कारण उपचार गराउन नसकनुभएकी उहाँलाई आफूले सहयोग गरेको अध्यक्ष ढुङ्गानाले बताउनुभयो । ‘मैले उहाँको सम्पूर्ण उपचार निःशुल्क गरिदिएको छु’ अध्यक्ष ढुङ्गानाले भन्नुभयो, ‘जनताको सेवा गर्नु नै हामी राजनीतिज्ञहरूको धर्म हो ।’

७८ वर्षीया मनसराको श्रीमान् हुनुहुन्न । उहाँको एक छोरा अपाङ्गता भएको हुनुहुन्छ । आफूहरू उपचार गर्न समस्या भइरहेको बेला अध्यक्ष ढुङ्गानाले उपचार गरिदिएपछि ठुलो राहत मिलेको उहाँका छोरा कुमार खडायतले बताउनुभयो । कुमारले अध्यक्ष ढुङ्गानाप्रति आभार व्यक्त गर्नुभयो । 

असोज ६ गते घाँस काट्न जाँदा लडेर मनसरा घाइते हुनुभएको थियो । भीरमा लडेर दुई दिनसम्म घरमै थलिनुभएकी उहाँले आफ्नो उपचार हुने सम्भावना टर्दै गएको भनेर चिन्तामा रहेको बताउनुभयो । उपचार सहयोगले आफू पुनर्जन्म पाएको उहाँले बताउनुभयो । 

‘म त बाच्दिनकि जस्तो लागेको थियो । अध्यक्ष ढुङ्गानाले उपचार गरिदिनुभयो, उहाँको भलाइ होस्’ मनसराले भन्नुभयो । अध्यक्ष ढुङ्गानाले गरिब र दुःखीलाई नियमित सहयोग गर्दै आउनुभएको छ ।