• २० असोज २०८१, आइतबार

सडकबाट जान नसकेपछि ड्रोनमार्फत राहत

blog

ड्रोनमार्फत पनौती नगरपालिका –१२ मगर गाउँमा राहत सामग्री लैजाँदै गरेको ड्रोन । तस्बिर सौजन्य: परीक्षण हुमागाईँ

केदार तिमल्सिना

बनेपा, असोज २० गते । बाढीपहिरोका कारण सडक अवरुद्ध भई खाद्यान्नलगायतको समस्या देखिएपछि काभ्रेपलाञ्चोकको पनौती नगरपालिका –१२ मगर गाउँमा ड्रोनमार्फत राहत पठाइएको छ । 

भौगोलिक विकटताका कारण खाद्यान्नलगायतको सामग्री लैजान नसक्ने अवस्था भएपछि हामी नेपाल, एयरलिफ्ट टेक्नोलोजीको सहकार्य तथा सामाजिक अभियन्ता परीक्षण हुमागाईँको पहलमा ड्रोनमार्फत आइतबार राहत सामग्री पठाइएको हो ।

सामाजिक अभियन्ता हुमागाईँले बाढीपहिरोका कारण सडक ध्वस्त भई आवतजावत गर्न समस्या देखिएको र बाढीपछि खाद्यान्न, बिजुलीको समस्या देखिएपछि पनौती नगरपालिका–१२ मगरगाउँमा ड्रोनमार्फत राहत सामग्री पठाइएको बताउनुभयो ।

“हामी हिजो (शनिवार) बल्ल त्यो स्थानमा पुग्दा उक्त गाउँमा रहेका ८५ घरपरिवारमा खाद्यान्न, बिजुली, पोषणको समस्या देख्यौँ, हिँडेर राहत लिएर जाने अवस्था नदेखेपछि ड्रोनको माध्यमबाट राहत पठाउने निधो गरेर काम अघि बढाएका हौँ” हुमागाईँले भन्नुभयो । 

उहाँले उक्त मगर गाउँमा रहेका ८५ घरधुरीका लागि चामल, सोलार बत्ती, नुन, तेल, मसला, सेनेटरी प्याड, बालबालिकाका लागि ल्याक्टोजिनलगायतको राहत सामग्री पठाइएको बताउनुभयो । उहाँले दसैँअघि बाढीले ध्वस्त भएको सडक खुल्ने अवस्था नरहेको बताउनुभयो । मगर गाउँमा राहत सामग्री पठाउनका लागि पनौती नगरपालिका –१२ भुमिडाँडाबाट ड्रोन उडाइएको हुमागाईँले बताउनुभयो । 

सामाजिक उहाँले उक्त ड्रोनले एक पटकमा ६५ किलोग्राम राहत सामग्री ढुवानी गर्न सक्ने भए पनि हावाको बहावका कारण एक पटकमा २० किलोग्रामको दरले राहत सामग्री पठाइएको बताउनुभयो । उहाँले आइतबार सबै कानुनी प्रक्रिया पूरा गर्ने क्रममा राहत सामग्री पठाउन ढिलो भएको बताउँदै सोमबार बिहानैबाट ड्रोनमार्फत राहत सामग्री पठाइसक्ने बताउनुभयो । 

“पनौती –१२ मगर गाउँमा राहत सामग्री पठाइसकेपछि हामी जिल्लाको अन्यन्त्र हेलिकप्टर नपुगेको, बाटो नभएको स्थानमा प्राथमिकताको आधारमा राहत सामग्री पठाउनेछौँ, त्यसका लागि बाढीपहिरोले सबैभन्दा बढी क्षति भई समस्यामा रहेको बस्ती, घुरधुरीको तथ्याङ्क सङ्कलन गर्ने काम गरिरहेका छौँ” उहाँले थप्नुभयो । हुमागाईँले बाढीपहिरोबाट पीडित भएका धेरैभन्दा धेरै परिवारलाई ड्रोनमार्फत राहत उपलब्ध गराउन तयार रहेको बताउनुभयो ।