• २० असोज २०८१, आइतबार

बिरामी भुइँमा, नयाँ भवन खाली

blog

पोखराको रामघाटमा रहेको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा रेट्रोफिटिङ गरी तयार भएका भवन ।

फडिन्द्र अधिकारी

लेखनाथ, असोज २० गते । गण्डकी प्रदेशकै सबैभन्दा ठुलो पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले गत वर्ष चार लाख ५५ हजार बिरामीलाई सेवा दियो । प्रदेश राजधानीमा रहेको यो अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत छ । अस्पतालका सबै जसो भवन प्रबलीकरण (रेट्रोफिटिङ) गरी तयार भए पनि केही भवन हस्तान्तरण नहुँदा बेला बेलामा बिरामीलाई भुइँमा राखेर सेवा दिनुपर्ने बाध्यता छ । 

आकस्मिक कक्ष, सर्जिकल, मेडिकल र आइसियुमा बिरामीको चाप धान्न मुस्किल पर्ने गरेको छ । अस्पतालका निर्देशक प्राडा भरतबहादुर खत्री बनिसकेका भवन मात्र हस्तान्तरण हुँदा पनि बिरामीलाई सेवा दिन निकै सहज हुने बताउनुहुन्छ । प्राडा खत्रीले भन्नुभयो, “आइसियुमा १५ शय्या थप्ने भनेको पाएका छैनौँ । आकस्मिक सेवा, मेडिकल, सर्जिकलमा शय्या कम हुँदा समस्या हुन्छ । बेला बेलामा भुइँमा, बेन्चमा राखेर उपचार गर्नु पर्छ ।” अहिले यहाँ आइसियुमा १० शय्या मात्र छन् । बनिसकेका भवन हस्तान्तरण हुँदा १५० शय्या थपिने उहाँको भनाइ छ । २०७७ सालमा अस्पतालमा दुई नयाँ भवन बनाउने, एउटा भत्काएर नयाँ बनाउने र बाँकी सबै भवन प्रबलीकरण गर्ने परियोजना सुरु भएको थियो । बिकोई रौटाहा पिके जेभीले ५४ करोडमा कामको ठेक्का पाएकोमा पछि यसको लागत बढेर ५८ करोड ६९ लाख रुपियाँ पुगेको थियो । 

गत वर्षको कात्तिकदेखि युके एडले परियोजनाबाट हात झिकिसकेको छ । कात्तिकसम्म ६५ प्रतिशत काम भएको थियो भने ६० प्रतिशत भौतिक प्रगति भएको सङ्घीय आयोजना कार्यान्वयन एकाइ कास्कीले जनाएको छ । त्यसबेलासम्म निर्माण कम्पनीलाई ४१ करोड १४ लाख भुक्तानी भएको छ । युके एडले हात झिकेपछि सङ्घीय स्वास्थ्य मन्त्रालयको स्टेरिङ कमिटीले काम सुरु भइसकेका भवनको रेट्रोफिटिङ नरोक्न निर्देशन दिएको थियो । कमिटीले सुरु नभएका भवनको काम नगर्न र थालिएकाको काम सक्न भनेको सङ्घीय आयोजना कार्यान्वयन एकाइका इन्जिनियर वीरबल सुनारले जानकारी दिनुभयो । 

कात्तिकयता निर्माण कम्पनीले काम जारी राखे पनि भुक्तानी पाएका छैनन् । दुई प्याकेजको गरी करिब नौ करोड भुक्तानी गर्न बाँकी छ । अहिले आयोजनाको भौतिक प्रगति ७५ प्रतिशत पुगेको छ । निर्माण कम्पनीले तीन वटा भवन बच्चा वार्ड, फार्मेसी र बिमा भवनबाहेक सबै हस्तान्तरण गरिसकेको छ । 

मेडिकल वार्ड, बच्चा बार्ड, आकस्मिक ब्लक, ओपिडी ब्लक, फार्मेसी र बिमा ब्लक हस्तान्तरण भइसकेका छन् । हस्पिटलका भान्साघर, क्यान्टिन, जनरल किचन, ल्यान्ड स्केपिङ, फायर फाइटिङ ट्याङ्क, अक्सिजन प्लान्टको भवन र सेफ्टी ट्याङ्की बनिसकेका छन् । सम्झौता भएकामध्ये प्रसूति भवन, आकस्मिक भवन, डेन्टल, प्रयोगशाला, क्याक भवन, न्युट्रिसन ब्लक, सार्वजनिक शौचालय, लिङ्क कोरिडोर र पानी ट्याङ्कीको कामै सुरु भएको छैन । 

यसै गरी ठोस फोहोर व्यवस्थापनको अर्काे ठेक्काको ८० प्रतिशत जति काम सकिएको छ । नौ करोड २८ लाखको यो योजनाका ठेकेदारले अहिलेसम्म चार करोड ३७ लाख रुपियाँ भुक्तानी लगेका छन् । यो परियोजनाको करिब साढे तीन करोड भुक्तानी गर्न बाँकी रहेको एकाइका सबइन्जिनियर प्रेमराज पङ्गेनीले उल्लेख गर्नुभयो ।  

गत वर्ष यो परियोजनामा बजेट भए पनि म्याद थप नहुँदा ठेकेदार कम्पनीले गरेको कामको भुक्तानी पाएनन् । यसपालि यो परियोजनामा नै बजेट छैन । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले एक/दुई हप्तामै समस्याको समाधान निकाल्ने आश्वासन दिनुभएको निर्देशक प्राडा खत्रीले सुनाउनुभयो । निर्माण कम्पनी बिकोईका प्रोजेक्ट म्यानेजर दीपेन्द्र दाहालले म्याद सकिए पनि अस्पताल जस्तो संवेदनशील ठाउँका भवन अलपत्र छाड्न उचित नहुने भएकाले काम निरन्तर गरेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “हामीले बिल पेस गरिसकेका छौँ । साढे सात करोड जति लिन बाँकी छ । अस्पताल भनेर काम रोकेनौँ ।” 

ठेक्का सम्झौता भएको करिब डेढ वर्ष साइट उपलब्ध हुन नसकेको निर्माण कम्पनीको दाबी छ । त्यसपछिको छ/सात महिना प्राविधिक रिपोर्टका लागि पर्खिनु परेको भन्दै दाहालले थप्नुभयो, “काम ढिलो हुनुका अरू कारण पनि छन् । दिउँसो काम गर्न नमिल्ने ठाउँ हो ।” बाँकी काम गर्न कम्पनीले करिब पाँच करोडका सामान किनेर राखेको उहाँको भनाइ छ । निर्माण कम्पनीले भुक्तानी नभई भवन नबुझाउने अडान लिएको छ भने स्वास्थ्य मन्त्रालयसँग भुक्तानी गर्न बजेट छैन । तयार भएका नयाँ भवन खाली रहँदा बिरामी भुइँ र बेन्चमा नै बसेर उपचार गर्नुपर्ने बाध्यता छ । अस्पतालका निर्देशक प्राडा खत्री परियोजनाबारे मन्त्रालयको ठोस निर्णय र बजेट व्यवस्थापन जरुरी भएको औँल्याउनुहुन्छ । प्राडा खत्री भन्नुहुन्छ, “निर्माण व्यवसायीले पैसा नपाई बुझाउन सक्दैनौँ भन्नुभएको छ । केही भवनको त कामै सुरु भएको छैन । एकातिर यथाशीघ्र बजेट व्यवस्थापन जरुरी छ भने अर्कातिर बाँकी पुराना भवन के गर्ने भन्ने निर्णय पनि चाँडै हुनु आवश्यक छ । यो उल्झनले अस्पतालको सेवा प्रभावित भइरहेको छ ।”