• १९ पुस २०८१, शुक्रबार

नेपालले भारत र चीनसँगको सम्बन्धलाई समान रूपमा अघि बढाउनुपर्छ : नारायणकाजी श्रेष्ठ

blog

नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ।

काठमाडौँ, असोज १९ गते। नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेपालले भारत र चीन दुवै छिमेकी मुलुकसँगको सम्बन्धलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताउनुभएको छ।

उहाँले मुलुकको आर्थिक समृद्धिको कार्यभारलाई पूरा गर्न पनि सरकारले भारत र चीन दुवै मुलुकसँगको सम्बन्धलाई समानतामा आधारित भएर प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताउनुभएको हो। 

शनिबार काठमाडौँमा आयोजित नेपाल–भेनेजुयलामैत्री सङ्घ घोषणा कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले नेपालले जहिले पनि राष्ट्रिय हितलाई केन्द्रमा राखेर अन्य देशसँगको सम्बन्धलाई अघि बढाउनुपर्ने स्पष्ट पार्नुभयो। 

उहाँले भन्नुभयो, ‘‘हाम्रो देशमा विशेषतः हामी दुई वटा छिमेकसँगको सम्बन्धलाई प्राथमिकता दिन्छौँ । हामी भारत र चीनसँगको सम्बन्धलाई प्राथमिकता दिन्छौँ । उनीहरूसँग मैत्रीपूर्ण, समानतामा आधारित मैत्रीपूर्ण सम्बन्ध कायम गर्न चाहन्छौँ । कुनै एउटासँग घनिष्ठ सम्बन्ध, अर्कोसँग अलि दूरीको पक्षमा हामी छैनौँ । मुख्यतः हामी भारत र चीन दुवैसँग मैत्रीपूर्ण सम्बन्धलाई अगाडि बढाउन चाहन्छौँ । त्यो मैत्रीपूर्ण सम्बन्ध हाम्रो स्वाभाविक रूपमा समनिकटताको आधारमा हुन्छ दुवै देशसँग समानताको आधारमा हुन्छ ।’’

उहाँले विश्व राजनीतिक एसिया केन्द्रित भइरहेकाले नेपालले पनि भूराजनीतिक संवेदनशीलतालाई बुझेर परराष्ट्र सम्बन्धलाई अघि बढाउनुपर्ने बताउनुभयो। 

देशको राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर अगाडि बढ्ने र सबैसँग मैत्रीपूर्ण सम्बन्ध राख्ने नीतिलाई नेपालले अघि बढाउनुपर्ने वरिष्ठ उपाध्यक्ष श्रेष्ठले बताउनुभयो। 

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले स्वतन्त्र परराष्ट्र नीति नेपालले अवलम्बन गर्दै आएको र त्यसमा कति पनि विचलित हुनु नहुने बताउनुभयो।