• १९ असोज २०८१, शनिबार

अर्घाखाँचीका सवारी साधनमा टाइम कार्ड लागु

blog

गणेश खनाल
अर्घाखाँची, असोज १९ गते । 
जिल्ला प्रहरी कार्यालय अर्घाखाँची सवारी साधनमा टाइम कार्ड लागू गरेको छ । सम्भावित दुर्घटना रोक्नका लागि टाइम कार्ड लागु गरेको हो ।

सन्धिखर्कदेखि पत्थरकोटसम्म बसका लागि ३ घण्टा १५ मिनेट र पत्थरकोटदेखि सन्धिखर्क ३ घण्टा ३० मिनेटमा आउनुपर्ने प्रहरी प्रमुख चक्रबहादुर मल्लले जानकारी दिनुभयो । यस्तै यात्रुवाहक हाईस, जिप तथा ईभिका लागि सन्धिखर्कदेखि पत्थरकोटसम्म २ घण्टा १५ मिनेट, पत्थरकोटदेखि सन्धिखर्क २ घण्टा ४५ मिनेटमा पुग्नुपर्ने भएको छ । टाइम कार्डले सवारी हतार हतार गरी हिँड्न समस्या हल हुने भएकाले दुर्घटनामा कमी हुने प्रहरीको विश्वास रहेको छ ।

यस्तै, विजया दशमी, दीपावली तथा छठ पर्वलाई मध्यनजर गर्दै यात्रुहरूको अत्यधिक चाप बढ्ने भएकाले यात्रुहरूको समस्या समाधान तथा गुनासो सुनुवाइ गरी यात्रुहरूलाई सहजता प्रदान गर्न यात्रु सहायता कक्ष सुरु गरिएको छ । 

जिल्लाको अर्घाखाँची सन्धिखर्क नगरपालिका वडा नं. ०१ शान्ति बगैँचास्थित तथा ठाडा इलाका प्रहरी कार्यालयले ठाडामा यात्रु सहायता कक्ष सुरु गरिएको हो । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त सहकार्यमा सञ्चालन गरिएका यात्रु कक्षबाट यात्रुका सबै समस्याको समाधान गरिने जनाइएको छ ।