• १९ असोज २०८१, शनिबार

प्रहरीद्वारा दुई लाखभन्दा बढीको पटका बरामद

blog

प्रहरीले बरामद गरेको अवैध पटका । तस्बिर : सिराज खान

सिराज खान
नेपालगन्ज, असोज १९ गते ।
 नजिकिँदै गरेको दसैँ, तिहार र दीपावलीको समयमा ठुलो परिमाणमा भारतबाट अवैध रूपमा पटकाहरू भित्रिने हुँदा प्रहरीले सो रोक्न नेपालगन्ज नाका लगायत वरिपरि कडाइ सुरु गरेको छ । नाकामा पटका आउन नदिन प्रहरीले कडाइ गर्दै आए पनि अवैध रूपमा पटकाहरू भित्रिन थालेका छन् ।

सोही क्रममा वडा प्रहरी कार्यालय नेपालगन्जले जिल्लाका विभिन्न स्थानबाट अवैध रूपमा भित्र्याइएका पटका बरामद गरेको छ । वडा प्रहरी कार्यालय नेपालगन्जले करिब दुई लाख मूल्य बराबरको पटका बरामद गरी नष्ट गरिएको वडा प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरीक्षक अरुण बमले बताउनुभयो ।

उहाँले बरामद गरिएका पटका नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर पाँचका वडा अध्यक्ष सराफत हुसेन शेष, स्थानीय बुद्धिजीवी लगायतको उपस्थितिमा नष्ट गरिएको बताउनुभयो ।

उता, जिल्ला प्रहरी कार्यालय बाँकेले पटका आयातमा कडा रोक लगाइएको जनाउँदै प्रहरीले मुख्य नाका लगायत साइड नाकाहरूमा पनि निगरानी कडा रूपमा बढाएको जनाएको छ ।